Comments Add Comment

कोरोना परीक्षण गर्न नमुना प्रयोगशाला पुर्‍याउँदा भागाभाग !

३० चैत, पोखरा । सधैं भिडभाड हुने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार भने सेवाग्राहीको चाप कम थियो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र केही सेवाग्राहीबाहेक अरु देखिएनन् ।

प्रतिष्ठानको पश्चिमी भागमा रहेको प्रयोगशालामा पनि केही ‘स्टाफ’ थिए । प्रयोगशाला नजिक अनुमतिप्राप्त व्यक्ति बाहेक अरुलाई जान अनुमति छैन । डोरीले ‘लक्ष्मण रेखा’ बनाइएको छ । र, सुरक्षाका लागि ४ जना प्रहरी खटिएका छन् ।

प्रयोगशाला परिसरको प्रतीक्षालाय कुर्ची बसेर केही स्टाफ गफिइरहेका थिए । एउटा सरकारी नम्बर प्लेटको गाडी आएर रोकियो । सबैको ध्यान गाडीतिरै सोझिन्छ ।

‘सर के काम पर्‍यो ?’ टाढैबाट प्रहरीले गाडी चालकलाई सोधे ।

‘ल्याबटेस्ट गर्न स्वाब ल्याएको सर,’ गाडीबाट ओर्लिंदै ड्राइभर जवाफ फर्काउँछन् । त्यसपछि सरासर गाडीको पछाडि भागमा रहेको ‘स्वाब कलेक्सन बक्स’ उठाउँछन् । जसलाई गाडीको डन्डीमा सुरक्षित बाँधिएको थियो ।

स्वाब कलेक्सन बक्स लिएर आएका उनले सामान्य मास्क लगाएका थिए । हातमा ग्लोब्स पनि थिएन । उनी जब डोरी नाघेर प्रयोगशाला पुगे, तब कुर्चीबाट उठ्दै कर्मचारी भागाभाग गर्न थाले । प्रहरीसमेत त्यहाँबाट टाढा पुगे ।

०००

स्वाब कलेक्सन बक्स प्रयोगशालामा बुझाएर बाहिर आइसकेपछि कर्मचारीले हात धुन भन्छन् । नजिकै व्यवस्था गरिएको धारामा हात धोएर फेरि गाडीमा फर्किन्छन् ।

स्वाब तनहुँ जिल्ला अस्पतालबाट कोरोना परीक्षणका लागि प्रयोगशालामा ल्याइएको रहेछ । खाली बक्स बोकेर प्रयोगशालाका कर्मचारी बाहिर निस्किए र डराएकाहरुसँग ठट्टा गरे, ‘नडराउनुस् न । अहिले त खाली भइसक्यो क्या !’

गाडी चालक रहेछन् दिनेश गुरुङ । व्यास नगरपालिकाका गाडी चालक उनले तनहुँबाट कोरोना परीक्षणका लागि पाँच जनाको स्वाब लिएर आएका रहेछन् ।

उननले प्रतिष्ठान प्रयोगशालाका कर्मचारीले नै ‘अनलोड गर्छन् भनेर आफूलाई झुक्क्याएको दुखेसो पोखे । अनलाइनखबरसँग कुरा गर्दै गाडी चालक दिनेश गुरुङले भने, ‘उता अस्पतालले आफैं गाडीमा स्वाब राखिदिएको थियो । यता त छुन पनि डराए । आफैं बोक्नुपर्‍यो । ग्लोब्स पनि छैन ।’

उनकाअनुसार एम्बुलेन्स चालकले समेत स्वाब बोक्न नमानेपछि नगरपालिकाले उनलाई पठाएको रहेछ । ‘एम्बुलेन्स छ नि । तर कोही आउन मान्दैनन् । मलाई नगरपालिकाले पठाएको हो । कर्मचारी भएपछि मान्नै पर्‍यो’ उनले भने ।

उनकाअनुसार गुरुङ कोरोना परीक्षणका लागि स्वाब बोकेर आएको यो दोस्रो पटक हो । ‘पहिले त उता (तनहुँ जिल्ला अस्पताल)का कर्मचारीले आफैं लोड गरेका थिए । यता पनि आफैं अनलोड गरिदिएका थिए । तर, यो पटक सबै आफैं गर्नुपर्‍यो,’ उनले भने ‘तर गाडीमा स्यानिटाइजर छ नि ! त्यही लगाउँछु ।’

तस्वीर : युनिश गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment