Comments Add Comment

सनसिटीको चुनावमा संक्रमित परिवार पनि सहभागी !

२ बैशाख काठमाडौं । मंगलबार कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको परिवारका एक सदस्य सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा सहभागी भएको जानकारी प्राप्त भएको छ ।

नयाँ नेतृत्व चयनका लागि ८ चैतमा पाँच वटै ब्लकका गरी कुल २५० जनाले मतदान गरेका थिए ।

सोसाइटीको चुनावमा सहभागी परिवारका सदस्य मध्ये ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला संक्रमण पुष्टि भएको हो । यद्यपि मतदानमा सहभागी व्यक्तिमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना पुष्टि भएको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए । देवकोटाका अनुसार र्यापिड डाइनोनेस्टिक टेस्टमा पोजेटिभ देखिएका सोही परिवारका अर्का सदस्यको रिर्पोट भने नेगेटिभ आएको छ । उनीहरू ५ चैतमा बेलायतबाट फर्केका थिए ।

चुनावमा के भएको थियो ?

सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटी आवास धनीहरूको संस्था हो । यो संस्था संयुक्त आवासको स्वामित्वसम्बन्धी ऐन २०५४ को दफा २४ अनुसार दर्ता भएको हो ।

८ चैतमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, पाँच सदस्यका लागि चुनाव भएको थियो । सनसिटीमा पाँचवटा ब्लक छन् । पाँचै सदस्यहरूको चुनाव ब्लकअनुसार गरिएको थियो ।

सोसाइटी स्रोतका अनुसार निर्वाचन कुल २५० मत खसेकोमा ४ मत बदर भएको थियो । अध्यक्षमा तिलक बस्नेतले १७१ मत ल्याएर जितेका थिए । अध्यक्षका अर्का प्रत्यासी पुस्कर रेग्मी थिए । उपाध्यक्षमा प्रतापसिंह तातेडलाई पराजित गर्दै ज्योतिबहादुर शाक्य विजयी भएका थिए । शाक्यले १५९ मत पाएका थिए ।

सचिवमा अर्थमन्त्रीका छोरा

१५९ मत ल्याएर सचिवमा तिलकराज खतिवडा निर्वाचत भए । उनका प्रतिद्वन्द्वी लक्ष्मीराज श्रेष्ठले ८३ भोट पाएका थिए । सचिवमा विजयी खतिवडा अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाका छोरा हुन ।

कोषाध्यक्षमा सुरेशकुमार अग्रवालले भाष्करकुमार दासलाई पराजित गरेका थिए ।

संक्रमितको परिवार बस्दै आएको टावर ‘ए’ मा १३३ भोट ल्याएर मन्जित ढकाल निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी थिए करमबिर बस्नेत ।
टावर ‘बी’ को सदस्यमा सावित्री खरेल पाण्डेले शुस्मा ढकाल पौडेललाई पराजित गरेकी थिइन् । सरिता ढकाललाई पराजित गरेर विकाश शर्राफ टावर ‘एच’ को सदस्य बनेका थिए ।

यस्तै टावर ‘आई’ को सदस्यमा अनुपकुमार अग्रवालले सस्मिता ढकाललाई पराजित गरेका थिए । टावर ‘जे’ को सदस्यमा मिना आचार्यले मञ्जु निरौला सापकोटालाई पराजित गरेकी थिइन् ।

सरकारी निर्देशनको अवज्ञा

यो चुनाव भएको मितिसम्म नेपालमा एउटा मात्रै संक्रमित भेटिएको थियो । तर, त्यतिबेलासम्म सरकारले विशेष सतर्कता अपनाउन निर्देशन दिइसकेको थियो । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड-१९ संक्रमण, रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले ५ चैतमा २५ जना भन्दा बढी भेला नहुन निर्देशन दिइसकेको थियो ।

समितिको १५ बुँदे निर्णयमा अत्यावश्यक काममा बाहेक नहिड्न पनि निर्देशन दिइएको छ । उच्चस्तरीय समितिको निर्णयमा भनिएको छ, ‘सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरूमा २५ जना भन्दा मानिसहरू भेला बन्द गर्ने ।’

चलचित्र हल, जिम, स्विमिङ पुल, अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णयपछि सोसाइटीको चुनाव भएको देखिन्छ ।

सावधानी अपनाइएको थिएन

प्यानल बनाएर चुनाव लडेका दुबै समूहमा जसरी पनि चुनाव जित्ने ध्याउन्नमा लागेका थिए । संस्थापनलाई विरुद्ध आर्थिक पारदर्शिता पनि चुनावमो बलियो एजेन्डा बनाइएको थियो ।

कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश नगरेको विषयमा निकै तनाव पनि बढेको थियो ।

‘त्यो चुनाव वास्तवमा हामी दुबै समूहका लागि प्रतिष्ठाको लडाई भनेको थियो, चुनाव नसर्नुको कारण पनि त्यही हो’ सोसाइटीका एक सदस्य भन्छन्, ‘अहिले सम्झिँदा जीवनकै ठूलो गल्ती गरेछौं भन्ने लागेको छ ।’

उनी मतदानका बेला छिटफुट व्यक्तिले मात्रै मास्क प्रयोग गरेको सम्झन्छन् । चुनावबाट सात पुरुष र दुई महिला निर्वाचन भएका थिए । ‘शपथ ग्रहणका बेला त झन हामीमध्ये एकजनाले पनि मास्क लगाएका थिएनौं’ ती सदस्य भन्छन् ।

बुधबारदेखि परीक्षण

संक्रमित दुईसहित तीनजनाको पाटन अस्पतालमा उपचार चलिरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् ।

आज उनीहरूको ट्राभल हिस्ट्री संकलन भएको ती चिकित्सकले जानकारी दिए ।

निर्वाचनमा सहभागी सबैको परीक्षण बुधबार बिहान नौ बजेबाट गरिने भएको छ । २५० मत खसे पनि करिब ३०० जना चुनावमा सहभागी भएको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment