Comments Add Comment

बच्चालाई भनौँ, ‘तिम्रो काम तिमी आफैँ गर्नुपर्छ’

अहिले सम्भवत तपाईंहरु बालबच्चासँग रमाइरहनुभएको छ । कामधन्दाको कारण बालबच्चालाई दिन नपाएको समय अहिले मनग्गे रूपमा दिन पाउनुभएको छ । बालबच्चासँग हाँस्दै, खेल्दै रमाउँदै दिनहरु बिताइरहनुभएको होला ।

बालबच्चासँग हेलमेल एवं घुलमिल हुनुपर्छ । यसले उनीहरु पारिवारिक माहोलमा रमाउने बानी पर्छ । साथै, सामाजिक व्यवहार पनि सिक्ने मौका पाउँछन् । त्यसैले तपाईं बच्चाहरुसँग कसरी समय बिताउँदै हुनुहुन्छ भन्ने कुरा महत्वपूर्ण छ । यदि बालबच्चासँग सन्तुलित सम्बन्ध बनाएर घुलमिल गरिरहनुभएको छ भने ठिक हुन्छ । तर, बालबच्चालाई खुसी बनाउने, खेलाउने चक्करमा उनीहरुलाई परजीवी त बनाइरहनुभएको छैन ?

कतिपय आमाबुबाको सोचाइ हुनसक्छ आफ्नो बालबच्चालाई सधै‌ं खुसी र सुखी बनाएर राखौँ। आफ्नो सामुन्ने उनीहरुले कतिपनि असहज र अप्ठ्यारो स्थिति झेल्न नपरोस् । सबै कुराले पुगिसरी होस् । कुनै दुःख र अभाव महसुस नगरोस् ।

त्यही कारण आमाबुबाले छोराछोरीको अति नै ख्याल राख्ने गर्छन् । उनीहरुलाई कतिबेला खाना खुवाउने, के खुवाउने, के खेलाउने, कसरी रमाइलो गराउने भनेर आफूलाई केन्द्रित गराइरहेका हुन्छन् । यी कुराहरु त्यसबेलासम्म सही हुन्छ, जबसम्म तपाईं उनीहरुको सबै कुरा आफैँ गरिदिनुहुन्न ।

जस्तो, उनीहरुले खाएको जुठो थाल-कचौरा आफैँले उठाइदिने, उनीहरुको लुगाफाटो आफैँले फेरिदिने, उनीहरुको हातखुट्टा आफैँले धोइदिने, उनीहरुको खेलाैना आफैँले मिलाइदिने । यस्ता काममा तपाईंले तपाईंले कुनै हस्तक्षेप गर्नुहुन्न । उनीहरुको काम सकेसम्म उनीहरुलाई नै गर्न दिनुपर्छ । उनीहरुले जुठो थाल उठाउनु दुःख होइन । उनीहरुले खेलौना आफैँ मिलाउनु कुनै कष्ट होइन । बरु यसले त उनीहरुलाई कामप्रति समर्पण जाग्छ । कामप्रति सम्मान जाग्छ ।

बालबच्चालाई खुसी र सुखी बनाउने चक्करमा त्यति धेरै सहयोग गर्न पनि जरुरी छैन जसले उनीहरु स्वयंलाई हरेक काममा असक्षम बनाओस् । बालबच्चाले सक्ने काम उनीहरुलाई गर्नका लागि प्रेरित गर्नुपर्छ ।

उनीहरुको खेलौना उनीहरु आफैँले मिलाउनुपर्छ । उनीहरुले खाएको जुठो थाल कचौरा उनीहरुले नै उठाउनुपर्छ । हातखुट्टा उनीहरु आफैँले धुनुपर्छ । यावत काम गर्ने उनीहरुसँग ढंग नहुन सक्छ । त्यसबेला तपाईंले तरिका सिकाउने हो, बाँकी काम भने उनीहरु आफैँ अग्रसर भएर गर्नुपर्छ ।

अहिले बालबच्चाको काम गरिदिँदा उनीहरु दङ्ग पर्छन्, खुसी हुन्छन् । तपाईंलाई के लाग्छ, ‘मेरा बालबच्चाले दुःख पाएनन् । उनीहरुलाई कुनै समस्या भएन ।’

तर, जब तपाईं उनीहरुको सम्पूर्ण काम आफैँ गरिदिनुहुन्छ, बच्चा परजीवी हुन थाल्छन् । उनीहरुले आफ्नो क्षमता गुमाउँछन् । आफ्नो लागि आफैँ केही पनि गर्न नसक्ने स्थितिमा पुग्छन् ।

त्यसैले, बच्चाले जे-जति सक्छन्, उनीहरुको काम गर्न दिनुहोस् ।

बरु, यतिबेला तपाईंले उनीहरुलाई थप काम सिकाउन सक्नुहुन्छ । भान्साको काम सिकाउन सक्नुहुन्छ । घरायसी कामधन्दामा अभ्यस्त गराउन सक्नुहुन्छ । बगैँचाको काममा प्रेरित गर्न सक्नुहुन्छ ।

ग्यास बाल्न सिकाउनुहोस् । कुचो लगाउन सिकाउनुहोस् । भान्सामा सागसब्जी धुने, काट्ने काम गर्न सिकाउनुहोस् । चिया पकाउन सिकाउनुहोस् । आफूले खाना पकाइरहेको बखत उनीहरुलाई पनि सहभागी गराउनुहोस् ।

घर सफा गर्ने, ओछ्यान मिलाउने, फूलहरु सजाउने काममा उनीहरुलाई खटाउनुहोस् । सागसब्जी गोडमेल गर्ने, फूल रोप्ने, सिँचाइ गर्ने काम उनीहरुलाई सिकाउनुहोस् । कम्तीमा घरमा बसेको बेला उनीहरुले यी जीवनोपयोगी कुराहरु सिक्न सक्छन्, जो भोलिको दिनमा गर्नुपर्ने हुन्छ । उनीहरुलाई आफैँ बाँच्न सिकाउनुहोस्, अरुको भरमा होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment