Comments Add Comment

र्‍यापिडमा पोजेटिभ, पीसीआरमा नेगेटिभ : कोरोना सर्दैन, सारिसकेको हुन सक्छ

३ वैशाख, काठमाडौं । कुनै व्यक्तिमा कोरोना संक्रमण छ/छैन भनी पत्ता लगाउने विधि ‘र्‍यापिड टेस्ट’ को विश्वसनीयतामाथि पछिल्लो समय बहस सुरु भएको छ । नेपालमा देखिएका कतिपय केसहरुले कोरोना भाइरससम्बन्धी परीक्षणमा नयाँ बहस उब्जाएका हुन् ।

सुरुमा तीनवटा रिपोर्ट हेरौँ–

एक : ७ चैतमा भारतबाट आएकी बागलुङकी महिलाको र्‍यापिड टेस्टमा एन्टिबडी पोजेटिभ देखियो । तर, पीसीआर विधिबाट गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आयो ।

दुई : ७ चैतमा दुबईबाट आएका र ९ मा भारतबाट आएका काभ्रेका दुई पुरुषको र्‍यापिड टेस्टमा पोजेटिभ आयो । तर, पीसीआर विधिबाट गरिएको परीक्षणमा नेगेटिभ आयो ।

तीन : २२ फागुनमा बहराइनबाट आएका गोरखा आरुघाटका ३१ वर्षका पुरुषको र्‍यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आयो । तर, पीसीआर विधिबाट गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आयो ।

नेपालमा र्‍यापिड डायग्नोस्टिक विधिबाट परीक्षण बढाएसँगै धेरैतिरबाट यस्तै रिपोर्ट आउन थालेका छन् ।

खासगरी फागुन अन्तिमदेखि लकडाउन (११ चैत) अगाडि स्वदेश आएकाहरुको र्‍यापिड टेस्टमा पोजेटिभ र पीसीआर टेस्टमा नेगेटिभ रिपोर्ट आएका हुन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डे भन्छन्, ‘यसको मतलब उहाँहरु कुनै समयमा कोभिड-१९ रोगबाट संक्रमित हुनुभएको थियो । तर, अहिले उहाँहरु रोग सार्ने अवस्थामा हुनुहुन्न भन्ने हो ।’

डा. पाण्डेले भनेजस्तै र्‍यापिड टेस्टमा पोजेटिभ र पीसीआर टेस्टमा नेगेटिभ आएको व्यक्ति कोरोना संक्रमित भएर निको हुने क्रममा रहेको वा भइसकेको हो । र, उनीहरुबाट अहिले कोरोना सर्दैन । त्यसैले उनीहरु घर जान सक्छन् ।

जनस्वास्थ्य विज्ञहरुका अनुसार मानव शरीरमा भाइरस प्रवेश गरेको तीनदेखि पाँचौं हप्तामा र्‍यापिड टेस्टमा पोजेटिभ र पीसीआरमा नेगेटिभ देखिन्छ । आनुवांशिक विज्ञ डा. गिरिराज त्रिपाठी भन्छन्, ‘भाइरसलाई निष्कृय पार्न शरीरमा उत्पादन भएको एण्टिबडीका कारण ‍र्‍यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आउँछ ।’

तर, निरुत्तरित प्रश्न चाहिँ के हो भने यसरी र्‍यापिड टेस्टमा पोजेटिभ र पीसीआर टेस्टमा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई कहिले कोभिड-१९ संक्रमण भएको थियो ? अनि, नेपाल प्रवेश गर्दा कोरोना संक्रमण ट्रान्समिसन हुने अवस्थामा थियो कि थिएन ?

नेपाली चिकित्सकहरुसँग यसको ठोस जवाफ छैन ।

काभ्रेका जिल्ला जनस्वास्थ्य प्रमुख नरेन्द्र झा त्यस्तो व्यक्ति कोरोना भाइरसको भरिया बनेको र उसबाट अरुमा भाइरस ट्रान्समिसन भएको हुन सक्ने स्वीकार गर्छन् । ‘परिवारको सदस्यमा र्‍यापिड टेस्ट गर्दा नेगेटिभ आयो भने भाइरस ट्रान्समिसन भएको छैन भनेर मान्न सकिन्छ । तर, ठोकेर भन्न सक्दैनौँ’ झाले भने ।

त्यसैले यस्तो व्यक्तिबाट कोरोना संक्रमण ट्रान्समिसन भएको हुन सक्छ भनेर संक्रमितको जस्तै उसको पनि कन्ट्याक ट्रेसिङ र टेस्ट गर्नुपर्ने कतिपय जनस्वास्थ्य विज्ञको तर्क छ ।

उनीहरु मध्ये एक डा. समीरमणि दीक्षित भन्छन्, ‘यस्तो केसमा सम्बन्धित व्यक्तिले नेपाल आएर कहाँ, कसलाई भेट्यो भनेर खोज्नुपर्छ र उनीहरुको पनि परीक्षण गर्नुपर्छ ।’

उनीहरुको र्‍यापिड टेस्टको साटो पीसीआर विधिबाट परीक्षण गर्नु उपयुक्त हुने दीक्षितको राय छ । ‘र्‍यापिड टेष्ट गर्दा पोजेटिभ आयो भने फेरि पीसीआर टेस्टमा जानुपर्ने हुन्छ । र, त्यसमा नेगेटिभ आयो भने के गर्ने भन्ने अन्योल हुन सक्छ’ दीक्षितले भने, ‘त्यसैले सकिन्छ भने सुरुमै पीसीआरबाट टेस्ट गर्न उपयुक्त हुन्छ।’

ओम अस्पतालका डा. विश्वनाथ कोइराला भने पीसीआर टेष्टमा नेगेटिभ रिपोर्ट आइसकेपछि र्‍यापिडको पोजेटिभलाई फल्स प्वाइन्ट मान्न सकिने बताउँछन् ।

डा. कोइरालाले अनलाइनखबरसँग भने, ‘त्यस्तो बेला सम्पर्कमा आएको कसैमा लक्षण छ भने र्‍यापिड टेस्ट गर्नुपर्छ, नभए नगर्दा पनि हुन्छ ।’ तर, यस्तो मानिसबाट अरुमा कोरोना संक्रमण ट्रान्समिसन हुन सक्ने सम्भावनालाई नकार्न नसक्ने उनी बताउँछन् ।

त्यसोभए हामीकहाँ र्‍यापिड टेस्टमा पोजेटिभ र पीसीआर टेस्टमा नेगेटिभ रिपोर्ट आएको व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गरेर सम्पर्कमा आएकाहरुको टेस्ट गरिन्छ त ?

इपिडिमियोलोजी महाशाखाका प्रमुख डा. पाण्डेका अनुसार यस्तो केस धेरै आएपछि नजिकको सम्पर्कमा रहेकाहरुको पहिचान गर्न र परीक्षण गर्न निर्देशन दिइएको छ । तर, पीसीआर विधिबाट सम्भव नभएकाले र्‍यापिड टेस्ट गर्न भनिएको छ ।

बागलुङमा पनि त्यही गरेको पाइएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गौरका अनुसार ६५ वर्षीया वृद्धाको परिवारका सदस्यहरुको र्‍यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । उनले अनलाइनखबरसँग भने, ‘उहाँका छोराबुहारी काठमाडौंमा जानुभएछ, उहाँहरुलाई त्यतै टेस्ट गराउनुस्, भनेका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment