Comments Add Comment

गुल्मीमा बन्दै गरेको पक्की पुल बाढीले बगायो

४ वैशाख, गुल्मी । गुल्मीमा बन्दै गरेको पक्की पुल बुधबार राति परेको वर्षासँगै आएको बाढीले बगाएको छ । जिल्लाको मुसिकोट नगरपालिकाका पौदीअमराई र कल्यार जोड्ने सो पुल दोस्रोपटक बाढीले भत्किएको हो ।

२०७३ साल असारमा निर्माण सम्झौता भएको पुल ०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो । गत वर्षको वैशाख १ गते पनि यो पुल बाढीले बगाएको थियो ।

पुल भत्किएको ८ महिनापछि बनाउन सुरु गरिएको पुल बुधबार बगाएको हो । पुलको चैत ३० गते मात्र ढलान गरिएको थियो । खोलामा आएको बाढीले पुलको टेका बगाएपछि भत्किएको मुसिकोट नगरपालिका नगरप्रमुख सोमनाथ सापकोटाले बताए ।

पुल भत्किएसँगै यसपटक बाढीले फर्मा, फलामका पाइप, जेनेरेटर, ह्युम पाइप र ढलाइ बगाएकाले ठूलो क्षति पुगेको छ । स्वीस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रम अन्तर्गत कुल ५ करोड १७ लाखको लागतमा बन्न लागेको पुलको वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले निर्माण गरिरहेको थियो ।

५८ मिटर लामो पुलको बीचमा पिलर छैन । यो पुलले मुसिकोट नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ तथा ५, ६, ७, ८ र ९ का नागरिकलाई आपसमा जोड्ने थियो ।

अहिले नगरपालिकाको केन्द्र वामीदेखि जिल्ला सदरमुकाम तम्घाससम्म पुग्न ३४ किलोमिटर यात्रा गर्नुपर्छ । पुल निर्माण भएमा १० किलोमिटर दूरी घटेर २४ किलोमिटर यात्रामा तम्घास पुग्न सकिने छोटो मार्ग बन्ने थियो ।

पुस महिनाबाट निर्माण सुरु भएको पक्की पुल जेठको अन्तिम हप्तासम्म हस्तान्तरण गर्नुपर्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment