Comments Add Comment

अत्यावश्यक सेवामा पन्छिने एम्बुलेन्सभित्रको गैरकानुनी धन्दा

५ वैशाख, काठमाडौं । मंगलबार धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका–३ अमराईमा गरिएको ¥यापिड टेस्टको क्रममा एक व्यक्तिमा एन्टिबडी पोजेटिभ देखियो ।

धादिङमा देखिएको यो पहिलो एन्टिबडी पोजेटिभ थियो । बाक्लो बस्तीकोबीचबाट जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउनुपर्ने भएकोले उनलाई एम्बुलेन्समा जिल्ला सदरमुकाम ल्याउनै पर्ने बाध्यता थियो ।

तर, आवश्यक परेको बेलामा जिल्लामा एउटा पनि एम्बुलेन्स भेटिएन । जिल्ला प्रशासन कार्यालयका उच्च अधिकारीहरूले नै पहल गर्दासमेत कुनै पनि एम्बुलेन्सले उनलाई बोक्न नमानेपछि ती बिरामी जोखिमपूर्ण रुपमा आफ्नै मोटरसाइकलमा जिल्ला सदरमुकाम आएर आइसोलेसनमा बसे ।

यो पनि पढ्नुहोस १३ हजार लिएर नक्कली बिरामी बोक्ने एम्बुलेन्स ट्राफिकको फन्दामा

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लकाअनुसार जिल्लामा रहेका अधिकांश एम्बुलेन्स चालकहरुले एन्टिबडी पोजेटिभ देखिएसँगै मोबाइल स्वीच अफ गरेका थिए ।

त्यस्तै, चैत २१ गते बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोना पोजेटिभ देखिएपछि जिल्लाका एम्बुलेन्स चालकहरूको भागाभाग भयो । कुनैपनि एम्बुलेन्सले ती बिरामीलाई जिल्ला अस्पतालसम्म ल्याउन मानेनन् । जिल्लाको प्रमुख जिल्ला अधिकारीसम्मले सम्पर्क प्रयास गर्दा पनि केही सीप नलागेपछि बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले आफैँले बिरामीलाई जिल्ला अस्पतालसम्म लैजाने व्यवस्था गरे ।

जिल्लाको हकमा सुरक्षा निकायले पनि कुनै सहयोग नगरेको गुनासाहरु आएका थिए । यद्यपि बागलुङको केसमा समेत एम्बुलेन्सले गैरकानुनी रुपमा सेवा दिनबाट पन्छिएको देखिन्छ ।

आवश्यक पर्दा सेवा दिन इन्कार गर्ने एम्बुलेन्सहरुको काठमाडौंमा ठगी धन्दा भने चलिरहेकै छ । काठमाडौंमा एम्बुलेन्सले दोब्बर शुल्क लिएर एम्बुलेन्स सञ्चालन गरिरहेको प्रशस्तै गुनासाहरु आउने गर्छन् । गत साता त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक अच्युत अधिकारीले सतुंगलबाट प्रसुती गृहसम्म यात्रा गर्दा ३३ सय रुपैयाँ एम्बुलेन्सलाई बुझाए ।

‘बल्ल बल्ल भेटेको एम्बुलेन्सले अझै महँगो शुल्क माग्दै थियो । म बाध्य भएर ३३ सय रुपैयाँमा जान तयार भएँ । अरु सवारी चल्न पासको झण्झट छ । त्यस्तो अवस्थामा उनीहरुले भनेअनुसार तिर्नुको विकल्प छैन । एम्बुलेन्सले लुटतन्त्र मच्चाइरहेका छन्’ अधिकारी गुनासो गर्छन् ।

एकातिर अत्यावश्यक सेवामा आनाकानी गर्ने एम्बुलेन्स चालकहरु गैरबिरामी बोक्नतिर भने व्यस्त देखिन्छन् । विभिन्न ठाउँमा प्रहरीले गरेको कारबाहीबाट पनि यो पुष्टि भएको छ । बिहीबार इलाका ट्राफिक प्रहरी कार्यालय गजुरीले काठमाडौंबाट गैरबिरामी बोकेर भैरहवातर्फ जाँदै गरेको एम्बुलेन्सलाई कारबाही गरेको छ । एम्बुलेन्सले यात्रुसँग १३ हजार रुपैयाँ लिएर भैरहवा जाँदै थियो । आठ जना बोकेर हिँडेको एम्बुलेन्समा रहेकाहरुसँग ग्रिनसिटी अस्पतालमा चैत ५ गते भएको डिस्चार्ज पेपर मात्रै भएकोले कारबाही गरिएको गजुरी ट्राफिक प्रहरी प्रमुख नेत्र भट्टले जानकारी दिए ।

यस्तै, कारबाही एक साता अघि धादिङबाट पोखरा गएको एक एम्बुलेन्समाथि समेत गरिएको गजुरी ट्राफिक प्रहरी कार्यालयका प्रमुख भट्ट बताउँछन् । सो एम्बुलेन्सले समेत गैरबिरामी बोकेको पाइएपछि कारबाही गरिएको थियो ।

यस्तै, घटना एक साता अघि दाङमा समेत घटेको थियो । संयुक्त एम्बुलेन्स चालक संघ नेपालका महासचिव मुक्ति काफ्लेका अनुसार रुकुमदेखि दाङतर्फ आउँदै गरेको एम्बुलेन्सले गैरबिरामी बोकेको पाएपछि त्यो एम्बुलेन्सलाई बन्दाबन्दीको समयभर चलाउन नपाउनेगरी बन्द गरिएको छ । एम्बुलेन्सलाई जरिवाना समेत तिराइएको छ । यसरी बिरामी भन्दै गैरबिरामी बोक्ने एम्बुलेन्स चालकलाई एम्बुलेन्स चालक संघको सदस्यता नै खारेज गर्ने चेतावनी दिन्छन्, काफ्ले ।

धादिङ र बागलुङमा बिरामी बोक्न नजानु भने एम्बुलेन्स चालकहरुको बाध्यता रहेको उनी बताउँछन् । ‘सरकारले कुनै पनि सुरक्षाविना नै सरुवा रोगका बिरामी बोक्नको लागि आग्रह गरेका कारण एम्बुलेन्स चालकहरुले सेवा दिन नसकेको उनको गुनासो छ । यद्यपि संकटको बेलामा अतिरिक्त शुल्क लिने र गैरबिरामी बोक्ने एम्बुलेन्सहरुको हकमा भने संघ समेत निर्मम रहेको उनी बताउँछन् ।

सरकारले अत्यावश्यक वस्तुको रुपमा सूचीकृत गरेका केही सेवाहरुमा हड्ताल गर्न नपाउने व्यवस्था गरेको छ । तर, यसलाई हड्ताल नै नभने पनि एम्बुलेन्सहरुले मनपरी गरेको स्वीकार्छन् धादिङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी मल्ल ।

अहिले अत्यावश्यक सेवा सञ्चालनमा आनाकानी गर्नेहरूको लागि वि सं २०१४ सालमा बनेको ऐनअनुसार कारबाही गरिन्छ । वि.सं. २०१४ मा बनेको आवश्यक सेवा सञ्चालन ऐनले निषेध गरिएको सेवामा हडताल गर्ने वा त्यसमा भाग लिने वा भाग लिइराख्ने व्यक्तिलाई केवल दुई सय रुपैयाँ वा छ महिनासम्मको कैद सजाय तोकेको छ ।

त्यस्तै, प्रयोजन विपरीत यात्रु बोक्नेहरुको हकमा भने अधिकतम ५ हजार रुपैयाँमात्रै जरिवाना तिराउन सकिन्छ । अहिले गैरबिरामी बोकाउने एम्बुलेन्सलाई पनि अधिकतम पाँच हजार रुपैयाँको दरमा जरिवाना तिराउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment