 
																			७ वैशाख, काठमाडौं । थानकोटमा अलपत्र परेका तीन सय मजदुरलाई शनिबार साँझ नेकपा सांसद अञ्जना विशुंखे, प्रदेशसभा सांसद रमा आले मगर, नेपाल कम्युनिस्ट पार्टी, चन्द्रागिरि कमिटी लगायतको संयोजनमा विभिन्न जिल्लातर्फ पठाइयो ।
थानकोटबाट गाडी चढेर घर जान पाएपछि मजदुर खुसी देखिए । चन्द्रागिरि नगरपालिकाबाट मजदुरको उद्दार भएको विषयले सामाजिक सञ्जालमा पनि वाहवाही पायो । त्यसबाट हौसिएका जनप्रतिनिधि र स्थानीयले दैनिक मजदुरलाई गृह जिल्लातिर पठाउने सगर्व घोषणा गरे ।
तर, त्यसको २४ घन्टा बित्न नपाउँदै नेकपाको चन्द्रागिरि कमिटी र स्थानीय युवा मजदुर उद्धार गर्ने आफ्नो अघिल्लो दिनको कदमबाट पछि हटे । त्यसैले आइतबार थानकोट पुगेका एक सय ७६ जनालाई त्रिभुवन पार्कमा राखिएको छ । साडी र तन्नाले बेरिएको कटेरोभित्र एउटा म्याटको भरमा भुइँमा सुत्ने व्यवस्था गरिएको छ ।

आइतबार साँझ ७ बजे अनलाइनखबरको टोली पार्कमा पुग्दा गेटमा प्रवेश निषेध गरिएको थियो । यद्यपि, अधिकांश चौतारोमा बसिरहेका देखिए । नजिकै डेरा हुने ६ जनालाई स्थानीय जनप्रतिनिधिले फर्काइदिएका थिए ।
घर जान नपाएपछि उनीहरूमा आक्रोश देखिएको थियो ।
आइतबारै भक्तपुरबाट उर्जामन्त्री वर्षमान पुनले चार सय जना मजदुरलाई रोल्पा पठाएका छन् । तर, थानकोटबाट सुरुवात भएको अभियान चाहिँ एक दिन नबित्दै किन रोकियो ? नाम उल्लेख गर्न नचाहने एक स्थानीय स्वयंसेवी युवा ‘माथिबाट दबाब’ आएपछि मजदुर पठाउन छाडिएको बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा मन्त्रीहरूलाई बोलाएर अत्यावश्यकबाहेक आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका थिए । बरु खान नपाएरै गाउँ जान लागेको भए, त्यहीँ खाद्यान्न पुर्याउने व्यवस्था मिलाउन भनेका थिए ।
नेकपा सांसद र कांग्रेसका मेयरबीच विवाद
चन्द्रागिरिका मेयर घनश्याम गिरी मजदुरलाई त्रिभुवन पार्कमा राख्ने विषयमा असन्तुष्ट थिए । सांसद विशुंखे लगायतले पनि स्थानीय प्रशासनलाई पेलेरै मजदुरलाई पार्कमा पनि राख्ने र गाउँ पनि पठाउने अडान लिएका थिए ।
‘मजदुरलाई यहाँबाट पठाउने विषयमा नगरपालिकासँग पटक्कै समन्वय भएन’, नेपाली कांग्रेसबाट निर्वाचित मेयर गिरी भन्छन्, ‘हिजो पनि गाडीमा कोचाकोच गरेर पठाएको छ । बसमा सामाजिक दुरी कायम गर्ने कुरा पटक्कै मानिएको छैन ।’
अनौपचारिक रुपमा आफूले पनि दैनिक सयौं मजदुरलाई गाडी चढाएर पठाइरहेको उनले सुनाए । तर, सांसद विशुंखेलगायतले प्रोपागाण्डा मच्चाएर प्रचारमा मात्र आउन खोजेको आरोप गिरीले लगाए ।

‘हामीले पनि हजारौंलाई गाउँ पठाइसकेका छौँ तर, हल्ला गरेका छैनौँ’, उनले अनलाइनखबरसँग भने, ‘नगरपालिकामा मजदुरलाई राखिरहँदा कुनै घटना भयो भने कसले जिम्मेवारी लिने ?’ उनले देशका विभिन्न क्षेत्रबाट आएका मजदुरलाई त्रिभुवन पार्कमा अड्काउँदा झन् समस्या आइपर्न सक्ने जनाए । नेकपाकै निर्णय भनेपछि सरकारी आदेश मेयरले नमानेको अर्थ लाग्न सक्ने भएकाले आफू मौन बसेको गिरीले तर्क गरे ।
‘यहाँ एक जनालाई कारोना भएको रहेछ भने के हुन्छ ?’, उनले प्रश्न गरे, ‘यहाँ कुनै घटना भयो भने माननीयले जिम्मेवारी लिनुपर्छ।’ उनले एक दिन पठाउने अर्को दिन रोक्ने गरेर प्रचारको प्रोपोगान्डा मच्चाइएको पनि दाबी गरे।
सांसद विशुंखे शनिबारदेखि मोबाइल स्वीच अफ गरेर बसेकी छन् । नेकपा चन्द्रागिरिको समन्वयमा त्रिभुवनपार्कमा राखिएका मजदुरबारे आधिकारिक धारणा राख्ने जिम्मेवारी पाएका दिनेश परियार भन्छन्, ‘हिजो पठायौँ, अबदेखि यहाँ आउनु हुने हरेकलाई १५ दिन क्वारेन्टाइनमा राख्छौँ।’
उनले क्वारेन्टाइमा बस्ने हरेक मजदुरको कोभिड-१९ भाइरसको र्यापिड परीक्षण (आरडीटी) पनि गरिने जनाए । ‘त्यसपछि नै उहाँहरूलाई के गर्ने भन्ने टुंगो लाग्छ’, परियारले अनलाइनखबरसँग भने, ‘सोमबार पत्रकार सम्मेलन गरेर पनि यसबारे विस्तृतमा बताउँछौँ ।’
तस्वीरहरू : चन्द्रबहादुर आले र आर्यन धिमाल


 
                









 
                     
                                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4