
अहिले धेरैजसोको समय कटाउने मेलो भएको छ, मोबाइल । घरायसी कामकाज नहुँदा वा काम गर्ने जाँगर नहुँदा हामी मोबाइलमा लिप्त हुने गर्छौँ । कतिको निम्ति मोबाइल अत्यावश्यक सामग्री भएको छ भने कतिको निम्ति विलासिता । कतिको निम्ति समय कटाउने बहाना भएको छ भने कतिको निम्ति दूर्व्यसन ।
कतिपयमा त मोबाइलको लत नै देखिन्छ । उनीहरू मोबाइलविना बस्नै सक्दैनन् । छटपटी हुन्छ। मोबाइल पाएपछि दुनियाँ भुल्छन् । घण्टौं घण्टा मोबाइलमै हराउँछन् ।
मोबाइलमा हराउने अनेक माध्यम छन्। गेम, भिडियो, सामाजिक सञ्जाल इत्यादि ।
अहिले कतिपयलाई पट्यारलाग्दो समय कटाउने सजिलो उपाय पनि भएको छ, मोबाइल । तर, मोबाइल प्रयोग गरिरहँदा हेक्का हुनुपर्छ कि, यसप्रति अधिक लगाव राख्नु भनेको स्वास्थ्यमाथि खेलबाड गर्नु हो ।
मोबाइल प्रयोग गरिरहँदा के बेफाइदा छन् त ? सम्भवत: यो कुराबाट तपाईं बेखबर हुनुहुन्न ।
१. यसको प्रकाशले आँखाको दृष्टिमा सोझो असर गर्छ । भोलिका दिनमा हामीमा आँखाको समस्या आउन सक्छ ।
२. एकै स्थानमा लामो समय बसिरहँदा रक्तप्रवाहमा अवरोध सिर्जना । यसले अनेक रोग निम्त्याउन सक्छ ।
३. शारीरिक सक्रियता एवं गतिविधि कम हुन्छ ।
४. पिठ्यु र गर्धन दुख्ने समस्या ल्याउँछ ।
५. सामाजिक सञ्जाल एवं भिडियोमा भड्किलो वा हिंस्रक सामग्रीहरू हेर्ने वा त्यसमा चासो बढ्न सक्छ । कतिपय सामग्रीहरू यस्ता हुन्छन्, जसले मानसिक तनाव वा समस्या बढाउन सक्छ ।
६. पारिवारिक माहोलमा रमाउने बानी छुट्छ ।
७. यसले हाम्रो समय अनावश्यक खर्च गरिदिन्छ ।
एकोहोरो मोबाइलमा लिप्त भइरहँदा हामीमा यी शारीरिक समस्या देखापर्छ ।
–स्मार्टफोनको प्रयोग गर्दा पिठ्युँको माथिल्लो भाग वा गर्धनमा दुखाइ हुनु ।
–झुक्दा टाउको वा काँधमा दुखाइ हुनु ।
–हातमा दुखाइ वा झन्झनाहट महसुस हुनु ।
कसरी बच्ने ?
आफ्नो गलत बानीको कारणले हामी केही यस्ता स्वास्थ्य समस्याको शिकार हुन्छौँ जसको बारेमा कहिल्यै सुनिएको समेत हुँदैन ।
डिजिटल उपकरणहरूमा काम गर्दाको समयमा आमरुपमा गर्धन तलतर्फ र मेरूदण्ड अगाडितर्फ झुकेको हुन्छ । यस्तो मानिन्छ कि गर्धनलाई थोरै पनि झुक्दा गर्धन र काँधको मांसपेसीहरूलाई वा गिलामेन्ट्सलाई धेरै दबाब पार्छ । यसले कैयौं किसिमको स्वास्थ्य समस्या हुने आशंका रहन्छ ।
त्यसैले लामो समयसम्म स्मार्टफोन वा ल्यापटप जस्ता उपकरण चलाउनुहुन्न । यस्ता उपकरणहरू चलाउनै परे पनि सजिलोसँग बसेर आरामदायी अवस्थामा बसेर चलाउनुपर्छ ।
बानी परिवर्तन
कुनै पनि डिजिटल उपकरणको लगातार प्रयोग नगरौँ । थोरैथोरै समयमा त्यसबाट ब्रेक लिनुपर्छ ।
ग्याजेट्सहरूलाई आँखाको लेभलमा राखेर यसको प्रयोग गर्दाको समयमा आफ्नो शरीरको अवस्थालाई ध्यान दिनुपर्छ ।
नियमित रुपमा व्यायाम गर्नुहोस् विशेषगरी गर्धनसँग जोडिएका व्यायामले यसको समस्या समाधान गर्न सक्छ ।
जीवनशैलीमा केही परिवर्तन गरेर पनि गर्दन एवं पिठ्युँको दुखाइबाट बच्न सकिन्छ ।
स्वास्थ्यप्रति सजग रहनुपर्छ र दिनभर अनलाइन गेम्स र सामाजिक सञ्जालमा सक्रिय रहने बच्चालाई यसको खतरासँग अवगत गराउनुपर्छ ।
प्रतिक्रिया 4