Comments Add Comment

चितवनमा कोरोना उपचार : अस्पताल एकातिर, उपचार अर्कैतिर

अस्पतालका अध्यक्ष भन्छन्– बिरामी बस्न नमानेपछि यता ल्यायौं

१० वैशाख, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–८ का कोरोना संक्रमितहरूलाई भरतपुर कोरोना अस्पताल नलगी भरतपुर अस्पताल लगिएपछि त्यहाँ कार्यरत चिकित्सकहरूले असन्तुष्टि जनाएका छन् ।

भरतपुर अस्पतालको अंग कोरोना अस्पताल हुँदाहुँदै लक्षणसमेत नदेखिएका संक्रमितलाई लगिएको भन्दै वरिष्ठ चिकित्सकहरूले असन्तुष्टि जनाएका हुन् ।

‘कोरोनाका संक्रमित बिरामीहरूको उपचार गर्न खडा गरिएको अस्पतालमा बिरामी नलाने हो भने त्यसको अर्थ के रह्यो र ?’ त्यहाँ कार्यरत एक चिकित्सकले प्रश्न गरे ।

भरतपुर अस्पतालबाट करिब दुई सय मिटर अगाडि ‘भरतपुर कोरोना विशेष अस्पताल’ स्थापना गरिएको छ । ५० बेड क्षमताको जनरल वार्ड भनिए पनि खासै बिरामी बसेका छैनन् । तर, बिरामीको उपचारका लागि भनेर चिकित्सक, नर्ससहित स्वास्थ्यकर्मी र अन्य व्यवस्थापकीय टिम त्यहाँ खटाइएको छ ।

ज्वरो क्लिनिक र स्वाब लिने काम मात्रै त्यहाँ सञ्चालन गरिएको छ । भरतपुर अस्पताललाई सरकारले लेभल दुईको अस्पताल बनाएको छ भने, कोरोना अस्पताललाई लेभल एक ।

‘कोरोना संक्रमित गम्भीर अवस्थामा भए भरतपुर अस्पताल नै ल्याउनुपर्दछ यसमा द्विविधा रहेन, तर सामान्य अवस्थाका बिरामी नै ल्याउँदा कोरोना अस्पतालको औचित्य के रह्यो,’ अर्का एक चिकित्सकले अनलाइनखबरसँग भने, ‘भरतपुर अस्पतालमा नै उपचार गर्नु थियो भने कोरोना अस्पताल भनेर लाखौं किन सिध्याएको ?’

आरोप निजी अस्पताललाई

कोरोना अस्पताल बनाउन भरतपुर महानगरपालिकालाई वागमती प्रदेश सरकारले एक करोड रकम दिएको छ । योमध्ये अहिलेसम्म ७६ लाख रकम खर्च भइसकेको छ । कोरोना अस्पतालका लागि जिल्लाका विभिन्न अस्पतालले बेड, भेन्टिलेटरलगायतका सामग्रीहरू दिएका छन् । सुरुमा १० बेड एचडीयू र १० बेड आईसीयू बनाउने भनिए पनि सो कामबाट अस्पताल पछाडि हटेको छ ।

कोरोनाका संक्रमित राखेको भनेपछि अस्पतालमा अन्य बिरामीहरू आउन डराएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले बताएका छन् । भरतपुर अस्पतालमा प्रसूति सेवा लिने जिल्लाकै मुख्य अस्पताल हो । यहाँ वर्षमा झण्डै १४ हजारले प्रसूति सेवा लिने गरेका छन् ।

कोरोना संक्रमित राखेको चर्चा चल्न थालेपछि भरतपुर अस्पतालमा आउने बिरामी अन्यत्र जान थालेको भरतपुर अस्पतालका चिकित्सक तथा कर्मचारीहरूको भनाइ छ । यस्ता हल्ला चलाएर बिरामी आफूतिर तान्न निजी अस्पताल तथा मेडिकल कलेजहरू लागिपरेको उनीहरूको आरोप छ ।

अस्पतालभित्र र बाहिर यस्तो चर्चा चल्न थालेपछि अस्पतालले विज्ञप्ति नै जारी गर्दै कोरोना संक्रमित बिरामी राखेको भन्दै हतोत्साहित नहुन अपील गरेको छ । कोभिड–१९ बाट संक्रमित बिरामी अलग्गै राखिएकाले संक्रमणको खतरा नरहेको अस्पतालको भनाइ छ ।

अस्पतालले अहिले कोरोना संक्रमितहरूलाई आकस्मिक कक्षको माथि पुरानो क्याविनमा राखेको छ । ती सबैको अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

संक्रमितलाई नजिकैको कोरोना अस्पतालमा नलगी भरतपुर अस्पताल पुर्‍याइएकोप्रति धेरैले चासो व्यक्त गरेका छन् । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी कोरोना अस्पतालमा बस्न नमानेपछि यता राखिएको बताउँछन् ।

‘हामीले त उही नै राख्ने भनेर भर्ना पनि गरेका थियौं, तर संक्रमितहरू यस्तोमा बस्दैनौं भनेर बाहिर निस्किए, सुविधा सम्पन्न क्याबिन भए बस्छौं, नभए घर जान्छौं भनेर बलजफ्ती गरेपछि यहाँ ल्याएका हौं,’ अध्यक्ष डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘प्रमुख जिल्ला अधिकारीले नै घर जान नदिने तर अस्पतालको क्याविनमा बस्नुपर्ने भनेपछि ल्यायौं ।’

डा. अधिकारीले क्याविनमा राखेर उपचार गराउँदा वार्ड र आइसोलेसनमा राखिएको भन्दा बढी सुरक्षित हुने बताए । भरतपुर अस्पताल सरकारी पनि भएकाले सरकारको निर्देशनको पालना गर्ने डा. अधिकारीले बताए । ‘कोरोना अस्पतालमा पनि आइसोलेसन बेड छन्, स्वाब निकाल्ने र नतिजा नआइन्जेल त्यहीँ राख्ने काम हुन्छ, कम्तीमा पनि त्यति सेप्रेशन त भएको छ नि,’ डा. अधिकारीले भने, ‘कोरोना अस्पतालको काम भएन भन्ने होइन ।’

अस्पतालले थप संक्रमित आए अस्पतालको ए ब्लकको भुइँ तला सिल गरेर बिरामी राख्ने जनाएको छ । अस्पतालले भुइँ तलामा १० बेडको आईसीयू पनि तयार गरेको छ । केही क्याबिन र वार्डहरूसमेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment