Comments Add Comment

केपी ओलीको नवफासीवादी अवतार !

सोमबार साँझ अध्यादेशसँगै एकाएक तातेको नेपाली राजनीतिको सरगर्मीलाई धेरैले अप्रत्यासित भनेर चर्चा गरे । आम नागरिकका लागि यो अप्रत्यासित र अस्वाभाविक लाग्नु अनौठो होइन । तर, राजनीति बुझेको र आफूलाई विश्लेषक हुँ भन्नेहरुले समेत त्यहीखालको टिप्पणी गर्नुचाहिँ वास्तवमै उदेकलाग्दो देखिएको छ ।

सरल शब्दमा भन्दा प्रधानमन्त्रीको कुर्सीमा बसेका र सत्तारुढ दलका अध्यक्षसमेत रहेका केपी ओलीले गरेको अध्यादेशसम्बन्धी निर्णय स्वाभाविक, अपेक्षित र नियोजित हो ।

उनी केसम्म गर्न सक्छन्, कसरी सोच्छन् भन्ने कुराको अनुमान लगाउन उनको विगतलाई सतहीरुपमा हेरेमात्र पनि पर्याप्त हुन्छ । उनको असली रुप के हो र त्यो कति भयंकर छ भन्ने कुरा पछिल्लोपटक उनी बालुवाटार छिरेपछि उनले गरेका निर्णयको सूची हेर्दा छर्लंग हुन्छ ।

यदि यी दुवै श्रृंखला खोतल्ने समय र सहजता छैन भने दुई तिहाई बहुमतसहितको प्रधानमन्त्री बनेयताको ओली बोलीमात्र स्मरण गर्ने हो भने पनि जो कोहीको मानसपटलमा उनको सही चित्र बन्छ । मात्र १० सेकेन्ड आँखा चिम्लिएर सो चित्र नियाल्ने हो भने सोमबार उनले गरेका निर्णयलाई कसैले पनि आकस्मिक, अप्रत्यासित र अस्वाभाविक भन्दैन, भन्न सक्दैन ।

यसो किन भनिएको हो भने सो चित्रमा इतिहासका सबै अधिनायकवादी, सर्वसत्तावादी र खुट्टिने गरी फासीवादी शासकको विद्रूप अनुहार देख्न सकिन्छ । ती सबैमा भएका नकारात्मक गुणको पुञ्जसहित उनी नयाँ अवतारमा प्रकट भएका हुन् भन्ने स्पष्ट हुन्छ ।

दक्षिणपन्थी आर्थिक नीति र त्यसमा बफादारिता अर्को उल्लेखनीय विशेषता हो– नवफासीवाद । ओलीको सन्दर्भमा फासीवादको छुटाउनै नहुने चरित्र भनेको व्यक्तिपूजा हो

ओलीको नवफासीवादी अवतार

केपी ओलीलाई नवफासीवादी भन्न नवफासीवादीमा के कस्ता प्रवृति र विशेषता हुन्छन् भन्ने हेर्नुपर्ने हुन्छ ।

सर्वसत्तावादी सोच, अधिनायकवादी शासन प्रणाली, तर्क र विवेकविरोधी गतिविधिद्वारा व्यक्तिगत स्वतन्त्रताको अन्त्य गर्ने नीति, अन्धराष्ट्रवादको पृष्ठपोषण यसका सतहमा देखिने विशेषता हुन् । यी सबै कहिले, कुनरुपमा र कसरी केपी ओलीमा देखियो भन्ने यो छोटो आलेखमा ब्याख्या गर्न सम्भव छैन । न त त्यसको आवश्यकता नै देखिन्छ ।

वैचारिक रुपमा यो मार्क्सवादको विपक्षमा हुन्छ, तर झट्ट हेर्दा त्यो देखिँदैन । यसले बिरोधी र विपक्षी स्वरको गला दबाउँछ । सबै तरिकाले राज्य र समाजका हरेक अवयवमाथि नियन्त्रण गर्ने एकमात्र अभिष्ट राखेर यसले कदम चलिरहेको हुन्छ । जातीय अहंकारवाद परैबाट देखिने यसको अर्को विशेषता हो । यी यावत् चरित्र ओली सरकारमा छ भन्न कुनै प्रमाण पेश गर्नुपर्ने जरुरी नपर्ला ।

दक्षिणपन्थी आर्थिक नीति र त्यसमा बफादारिता अर्को उल्लेखनीय विशेषता हो– नवफासीवाद । ओलीको सन्दर्भमा फासीवादको छुटाउनै नहुने चरित्र भनेको व्यक्तिपूजा हो । नेताले कहिल्यै गल्ती गर्दैन भन्ने मान्यता यसमा रहन्छ । त्यसैले ‘जसोजसो बाहुनबाजे उसै उसै स्वाहा’ बाहेक अन्य कुनै गुञ्जायस यसमा रहँदैन, स्वीकारिँदैन । ओलीका अरिंगालहरुले स्वामीभक्ति गाउनु यसको ज्वलन्त प्रमाण हो ।

वर्गीयरुपमा मध्यम वर्गको रक्षा गर्ने फासीवादले गरिव मरोस् वा बाँचोस् हेर्दैन । वास्ता गर्दैन । अहिले ओली सरकारले त्यसै गरिरहेको छ । गरिवको जीवन फासीवादी नेताका लागि जीवन नै होइन । स्वतन्त्रता शब्द उनी सुन्न नै चाहँदैनन् । मानव अधिकारको त प्रश्न नै उठ्दैन । प्रेस लगायत सबै निजी संस्था र निकायको काम भनेको नेताले गरेको निर्णयको गुणगान गाउनु मात्र हो ।

दलाल अर्थात् बिचौलियाको भूमिका सधैँ केन्द्रमा राख्ने फासीवादी राज्यको चरित्र हुन्छ । त्यो पछिल्लोपटक स्वास्थ्य सामग्री खरिदमा कसरी प्रकट भयो, जग जाहेर छ । संस्थागत एजेन्ट मार्फत काम गर्नु यसको धर्म हुन्थ्यो । तर, त्यसो नगर्दा फस्यो र अन्ततः सेनालाई संस्थागत दलालका रुपमा छान्यो अनि अर्बौँको खरिद सेनामार्फत गर्दैछ ।

सेनालाई नै छान्नुको खास कारण चाहिँ यो हो कि फासीवादी नेताले सेनाबाहेक अरु कसैलाई विश्वास गर्दैन । त्यो नै उसको सबैभन्दा नजिकको र भरपर्दो निकायका रुपमा रहेको हुन्छ । ओलीको पछिल्लो कदम त्यही सेनाको आड र भरोसामा चालिएको हो भन्ने बुझ्न गाह्रो छैन । परम्परागत फासीवादमा ट्रेड युनियनका नेताले निभाउने भूमिका यहा सेनाले निभाउने गरी ओली र सेनाबीच सहकार्य भैरहेको छ ।

यो सन्दर्भमा रोचक त यो छ कि ओलीको अध्यादेश जारी गर्ने पछिल्लो निर्णयले सबैभन्दा बढी मर्माहत प्रचण्ड बनेका छन् । उनी नेपालमा नया तानाशाहको जन्म भएकोमा नभएर आफ्नो योजनामा आघात पुगेकोमा दुखी बनेका हुन् । जबकि यो घटनासँगै घोषित रुपमा नै प्रधानमन्त्रीले फासीवादी यात्रा शुरु गरेकोमा लोकतन्त्र र स्वतन्त्रताका पक्षधर नेपाली जनता धेरै चिन्तित बन्नुपर्ने हो ।

अबको विकल्प

नेपाललाई केपी ओलीको फासीवादी क्रुरताबाट जोगाउने एक मात्र विकल्प भनेको आम प्रतिरोध नै हो । हामीले आफ्ना सबै आग्रह, पूर्वाग्रह र विगतका आस्थालाई त्यागेर कुनै स्वार्थी नेताको हितलाई नभएर नेपाली जनताको स्वतन्त्रता रक्षाका लागि अभियान सञ्चालन गर्नुपर्छ ।

यसको नेतृत्व नेपालको त्यो नागरिक समाजले मात्र गर्न सक्छ, जो कुनै कुकृत्यबाट कलुषित नभएको होस् । वर्तमान कानुनका कुनै पनि नंग्राले चिथोर्न आँट नगरोस् । विगतमा कताबाट हण्डी बुझेका वा अनेकौं नियुक्तिका लागि दलीय नेताका पछि दौडिएकाहरुबाट यो काम सम्भव छैन । त्यस्तो व्यक्ति वा समूह प्रदुषित नभएको हुनुपर्छ । भलै त्यो भविश्यमा प्रदूषणको शिकार हुने नै छ ।

नेपाल र नेपालीहित चिताउने व्यक्ति र समूहले नेतृत्वका लागि अब हात उठाउनुपर्छ । त्यो पात्र वा समुहको कहिले र कसरी प्रकट हुने हो, त्यसको प्रतिक्षाको विकल्प छैन ।

आशा गरौँ, कुनै अराजक भीड अनिश्चित लक्ष्यका साथ सडकमा ओर्लनु भन्दा अगाडि नै सचेत र स्वच्छ नागरिक समाजको नेतृत्वमा नवफासीवाद विरोधी आन्दोलनमा सहभागी बन्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment