Comments Add Comment

नर्समा देखिएको आरडीटी पोजेटिभको संकेत : लहरो तान्दा पहरो जाने खतरा

१० वैशाख, काठमाडौं । केही दिनयता केन्द्रीय कारागारका कैदीहरुलाई रुघाखोकी र ज्वरोको लक्षणहरु बढ्न थाल्यो । कोरोना (कोभिड–१९) महामारी फैलिएको बेला कोरोनाको जस्तै लक्षण देखिएपछि केन्द्रीय कारागार अस्पतालका चिकित्सकहरु सशंकित बने । तर, कोराना हो कि होइन जाँच गर्न उनीहरुसँग टेस्ट किट थिएन ।

अस्पताल प्रशासन र चिकित्सकहरुको छलफलले जसरी भएपनि कोरोना परीक्षण गर्नुपर्ने निष्कर्ष निकाल्यो । स्वास्थ्य सेवा विभाग, टेकुले उनीहरुलाई दुई सय थान र्‍यापिड डायग्नोष्टिक किट उपलब्ध गरायो ।

गत सोमबार उनीहरुले पहिलो चरणमा अस्पतालका ६८ मध्येका ४० कर्मचारीको र्‍यापिड टेस्ट गरे । सुरुमै दुई जना नर्सको रिपोर्ट पोजेटिभ आयो । त्यो नतिजाले उनीहरु ढुक्क हुन सकेनन् र फेरि जाँच गरे । दोस्रो जाँचमा पनि रिपोर्ट पोजेटिभ नै आयो ।

त्यसपछि हल्लीखल्ली मच्चियो । दुई नर्सलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा ल्याइयो । र, थ्रोट स्वाब संकलन गरेर परीक्षणमा पठाइयो ।

पीसीआर विधिबाट गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु अहिले घर फर्किएका छन् ।

नयाँ या पुरानो जुनसुकै अवस्थाको संक्रमण भएपनि त्यसको स्रोत पत्ता लगाउन मुस्किल पर्छ । त्यसैले सबै कैदी तथा स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्नुको विकल्प छैन

जिवाणु वैज्ञानिकहरुका अनुसार एक पटक र्‍यापिड टेस्टमा पोजेटिभ देखाउनुको अर्थ जाँच गरिएको मानिसको शरीरमा कुनै न कुनै समयमा कोरोनाको संक्रमण थियो भन्नु हो । र्‍यापिड टेस्टमा पोजेटिभ देखाएर पीसीआर जाँचमा नेगेटिभ देखाउनुको अर्थचाहिँ जाँच गरिएको समयमा शरीरमा भाइरसको संक्रमण भए पनि निस्क्रिय हुँदै गएको हो ।

केन्द्रीय कारागार अस्पतालका एक चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा अनलाइनखबरलाई भने, ‘र्‍यापिड टेष्टले दुई जना नर्सलाई कुनै समय कोरोना संक्रमण थियो भन्ने प्रष्ट भयो । तर उनीहरुबाट अरुमा संक्रमण भयो कि भएन एकिन गर्न सकिएको छैन ।’

उनकाअनुसार अहिले केन्द्रीय कारागार अस्पतालमा दुई डर छ ।

एक :– उनीहरु कहिले संक्रमित भए र उनीहरुको संक्रमणको स्रोत के हो ? अरु एक्टिभ केस त्यही छन् कि ?

दुई :– उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरु कहाँ र कुन अवस्थामा छन् ? पत्ता लगाउन नसक्दा त्यहीँबाट महामारी पो सुरु हुन्छ कि ?

सबैको परीक्षण गर्न किट अपुग

सुन्धारामा रहेको केन्द्रीय कारागार अस्पताल देशभरिको कैदीबन्दीलाई उपचार गर्ने केन्द्रीय अस्पताल हो ।

र, त्यहाँ विभिन्न ठाउँका जेलबाट बिरामीहरु उपचार गर्न ल्याइन्छ । विभिन्न ठाउँबाट आवत–जावत भइरहने हुँदा संक्रमणको जोखिम उच्च हुन्छ । यस्तो अस्पतालमा एउटा मात्र केस पोजेटिभ देखिए देशभरका जेलहरुमा रहेका कैदी बन्दीको परीक्षण गर्नुपर्छ ।

तर गृह र स्वास्थ्य मन्त्रालयको समन्वयमा सञ्चालित अस्पतालसँग त्यसका लागि पर्याप्त किट छैन । केन्द्रीय कारागार अस्पतालको एक चिकित्सकका अनुसार केन्द्रीय कारगारमा ३५ सय कैदीबन्दी छन् । उनीहरुलाई भेट्न मानिसहरुको आउ–जाउमा अहिले रोक लगाइएको छ । तर उनीहरुसँग अस्पतालका स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्क हुन्छ । यसले नयाँ या पुरानो जुनसुकै अवस्थाको संक्रमण भएपनि त्यसको स्रोत पत्ता लगाउन मुस्किल पर्छ । त्यसैले सबै कैदी तथा स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्नुको विकल्प छैन । तर सबैको नमुना परीक्षण गर्न टेस्ट किट अपुग छ ।

अस्पतालले स्वास्थ्य मन्त्रालयसँग ३५ सय कैदीको टेस्ट गर्न र्‍यापिड किट माग गरेको छ । तर अनावश्यक भएको भन्दै स्वास्थ्य मन्त्रालयले टेस्ट किट पठाएको छैन ।

अस्पताल प्रशासनकाअनुसार र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका दुई नर्सले पछिल्लो चार महिनामा विदेश भ्रमणमा गरेका छैनन् । उनीहरुको परिवार पनि नेपाल छाडेर कतै गएका छैनन् । कुनै पनि संक्रमित र आशंकित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा नगएको उनीहरुको दाबी छ ।

उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएका अरु केही स्वास्थ्यकर्मीहरुको र्‍यापिड टेष्ट गर्दा नेगेटिभ नै आएको छ ।

‘दुई नर्सबाहेक जम्मा ४५ जना जतिको जाँच गर्दा सबैको नेगेटिभ आयो,’ अस्पतालको एक चिकित्सक भन्छन्, ‘अहिले अरु जानकारी पत्ता लगाउन नै मुस्किल भयो । तर यहाँ त लहरो तान्दा पहरो जाला कि भन्ने डर भइसक्यो ।’

केन्द्रीय कारागार अस्पतालले दुई नर्सको कन्ट्याक्ट ट्रेसिङ गर्न सहयोग मागेपनि मन्त्रालयले आवश्यक ठानेको छैन । अस्पताल आफैंले सोधपुछ गरेपनि त्यहाँका कर्मचारी सबैको जाँच नभएकाले ढुक्क हुन सकेका छैनन् ।

अस्पतालको एक चिकित्सक भन्छन्, ‘परिवारको अवस्था के छ, अरु को–कोसँग सम्पर्कमा आए ? कन्ट्याक ट्रेसिङ गर्न मन्त्रालयलाई भनेका थियौं तर अहिलेसम्म जवाफ केही आएको छैन ।’

मन्त्रालयको नीति नै छैन

र्‍यापिड टेस्टले सामान्यतया तीन सातादेखि दुई–चार महिनाअघिको अघिको संक्रमण पनि देखाउन सक्छ । त्यसैले कन्ट्याक्ट ट्रेसिङ असम्भव हुने तर्कहरु सरकारी अधिकारीहरुले दिएका छन्

र्‍यापिड टेस्टमा पोजेटिभ आएर पीसीआर टेस्टमा नेगेटिभ आएकाहरुको स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ नै गरेको छैन । पीसीआरमा पोजेटिभ आयो भने मात्रै कन्ट्याक्ट ट्रेसिङ गर्ने गरिएको छ । तर, अधिकांस र्‍यापिड टेस्टमा पोजेटिभ आउनेहरु विदेशबाट आएका र क्वारेन्टाइन बसेकाहरु छन् । पछिल्लो दुई केस अपवाद हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेकाअनुसार र्‍यापिडमा पोजेटिभ आएर पीसीआरमा नेगेटिभ आउनु भनेको मानिसको शरीरमा भाइरस निस्क्रिय हुनु हो । यस्तो अवस्थामा उसले अरुलाई संक्रमित गराउन सक्दैन । त्यसैले पीसीआरमा पोजेटिभ नआएकाहरुको कन्ट्याक्ट ट्रेसिङमा लाग्नु भनेको समय खेर फाल्नु हो ।

‘यदि त्यो व्यक्तिले पहिले नै अरुलाई सारेको छ भने त अरु मानिसलाई कुनै–कुनै माध्यमबाट भाइरस देखिइहाल्छ, र्‍यापिडमा पोजेटिभ आएपछि उसको सम्पर्कमा आएका मानिस आफैं जाँच गराउन पुगिहाल्छन्,’ महाशाखाका निर्देशक पाण्डेले अनलाइनखरसँग भने, ‘शंका लागेकाहरुलाई जाँच गर्न आउनुस् भनेर हामी पनि अपिल गरिरहेका छौं । विभिन्न ठाउँमा जाँच भइरहेको छ । संक्रमितहरु छुट्न सक्ने अवस्था नै छैन ।’

पाण्डेले संक्रमितहरु नछुटेको दाबी गरे पनि वैशाख १ मा सनसिटी अपार्टमेण्टमा देखिएको केसले भने र्‍यापिड टेस्ट पोजेटिभ आउँदा नजरअन्दाज गरियो भने ठूलो आपत आइलाग्ने देखाउँछ ।

नजरअन्दाज गर्नु खतराको संकेत

सनसिटीमा सुरुमा र्‍यापिड किटमा जाँच गर्दा तीन जनामा पोजेटिभ देखिएको थियो । तर पीसीआरमा जाँच गर्दा आमा–छोरालाई पोजेटिभ देखियो भने बुहारीलाई नेगेटिभ । त्यतिबेला स्वास्थ्य मन्त्रालयले बुहारीबाट आमा र छोरालाई कोरोना सरेको बतायो ।

सनसिटीको केस जस्तै र्‍यापिडमा पोजेटिभ देखिएकाहरुले अरुलाई भाइरस सार्न सक्ने संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन् ।

डा. सुवेदी भन्छन्, ‘र्‍यापिड टेस्ट गर्दा पोजेटिभ र पीसीआर गर्दा नेगेटिभ आउँदैमा नजरअन्दाज गर्‍यो भने गम्भीर दुर्घटना निम्तिन सक्छ ।’

संक्रामक रोग विशेषज्ञ डा. सुवेदीका अनुसार र्‍यापिड टेस्टमा पोजेटिभ देखियो भने उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर विधिबाट कोरोना परीक्षण गर्नुपर्छ ।

यसो गर्दा महामारी नियन्त्रणमा सहयोग पुग्ने भन्दै उनी भन्छन्, ‘र्‍यापिड टेस्ट गर्दै, छाड्दै गर्ने हो भने त टेस्ट गर्नुको मतलव नै भएन नि ।’

डाक्टर सुवेदीका अनुसार जनस्वास्थ्य विज्ञहरुले स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा पनि र्‍यापिड टेस्टलाई नजरअन्दाज नगर्न सुझाएका थिए । तर त्यो अनुरुप काम  गरेको देखिएन ।

डा. सुवेदी भन्छन्, ‘हाम्रो सुझाव मानेको भए अहिले र्‍यापिड टेष्टमा पोजेटिभ आएको समुदायको सबै मानिसको पीसीआर जाँच भइसक्थ्यो ।’

पीसीआर दायरा बढाउनु उत्तम

जिवाणु वैज्ञानिक समीरमणि दीक्षित र्‍यापिड टेस्ट आफैंमा नराम्रो नभए पनि यसले नेपालको सन्दर्भमा अन्यौल बढाएको बताउँछन् । संक्रमणको सुरुवाती चरणमा टेस्टको दायरा कम हुनुको परीणाम अहिले र्‍यापिड पोजेटिभ देखिएको उनको कथन छ ।

धेरै र्‍यापिड टेष्टमा पोजेटिभ आउनुले अहिले देखिएभन्दा धेरै संख्यामा मानिसहरु संक्रमित भएको बुझाउने भन्दै दीक्षित भन्छन्, ‘सुरुदेखि भद्रगोल चलिरहेको छ, अब र्‍यापिड पोजेटिभ देखिएको ठाउँमा समुदायस्तरमै पीसीआर जाँच गर्नुको विकल्प छैन।’

र्‍यापिड टेस्टले सामान्यतया तीन सातादेखि दुई–चार महिनाअघिको अघिको संक्रमण पनि देखाउन सक्छ । त्यसैले कन्ट्याक्ट ट्रेसिङ असम्भव हुने तर्कहरु सरकारी अधिकारीहरुले दिएका छन् ।

डाक्टर दीक्षित पनि अहिलेको अवस्थामा कन्ट्याक्ट ट्रेसिङ व्यवहारिक नहुने बताउँछन् । उनकाअनुसार एउटा मानिसले लामो अवधिमा धेरै मानिसलाई सार्न सक्छ । एउटाले अर्कोलाई सारे पनि निको भइसक्छ ।

त्यसैले कन्ट्याक्ट ट्रेसिङ होइन, पीसीआर जाँचको दायरा बढाउनुपर्छ । उनी भन्छन्, ‘एउटा समुदायमा एक जनालाई र्‍यापिड पोजेटिभ देखिनासाथ समुदायका सबैलाई पीसीआर जाँच नगरी महामारी नियन्त्रण गर्न सकिन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment