Comments Add Comment

कोरोना संक्रमितलाई उपचारपछि कसरी पुन:स्थापना गर्ने ?

शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचाररत एकजना कोरोना संक्रमित युवकलाई पछिल्लो दुईपटक लगातार परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि अस्पतालले डिस्चार्ज गर्ने निर्णय गर्‍यो। अस्पतालले भनेको छ कि अहिले उनको स्वास्थ्य अवस्था पनि ठिकठाक छ।

ती ३२ वर्षीय धादिङका युवा अहिले उपचारपछि आफ्नो गाउँ जान चाहन्छन् । तर, गाउँ जानको लागि अहिले उनको अवस्था अनुकूल भइरहेको छैन । उनलाई घर लैजान गाउँलेहरू मात्र हैन परिवारका सदस्यहरू नै इच्छुक छैनन्। आफन्तहरूलाई डर छ, कतै उनीबाट आफूहरूलाई कोरोना सर्ने त होइन ?

गाउँलेहरू पनि सोच्छन् ‘कतै पूरै गाउँ नै उनका कारण संक्रमित हुने त होइन ? बिचरा ती युवाको मनोविज्ञान अहिले कस्तो अवस्थामा गुज्रिरहेको होला ? अस्पतालका निर्देशक भन्दै थिए, ‘यी युवा बिरामी भएर यत्तिका दिन आईसोलेसनमा बसेर उपचार गरिरहँदा पनि यिनलाई कुनै आफन्तले अहिलेसम्म कुनै किसिमले पनि सम्पर्क नै गरेनन्। हामीले केही होटललाई अनुरोध गर्दा पनि कसैले राख्नै मानिरहेका छैनन् ।

अहिले बल्ल-बल्ल गाउँपालिकाका प्रतिनिधिलाई सम्पर्क गरेर भोलि उनलाई गाउँ पठाउने योजना अस्पतालले बनाउँदै छ रे । अब अस्पतालले त उनलाई गाउँ लगेर छाडिदिन्छ। त्यसपछि सुरु हुन सक्नेछ उनको जीवनको दुर्दशा । अब उनको मनोवैज्ञानिक पीडा कति ठूलो हुने हो हामी कल्पना गर्न सक्दैनौँ ।

यस्ता रुढीवादी र अवैज्ञानिक सोचले हाम्रा समाजहरू ग्रसित छन् । धन्न यी साहसी युवाले आफन्त तथा साथी भाइहरूको बलियो मनोवैज्ञानिक भरथेगविना नै कोरोनालाई जितेछन् । सलाम छ यी आत्मविश्वासी युवालाई ।

हामी अहिले यो समाज तथा आफन्तहरूको अबुझपनलाई धेरै दोष दिन चाहन्नौ । वर्षौंदेखि शिक्षा तथा स्वास्थ्यका आधारभूत चेतनासम्म पनि धेरै पिछडिएका हाम्रा दूरदराजका गाउँघरहरूमा यस्तो हुनु केही स्वाभाविक पनि होला। हिजो कुष्ठरोग र क्षय रोगका बिरामीहरूलाई पनि यस्तै छि-छि र दूर-दूर गरिन्थ्यो । तसर्थ, अहिले हाम्रा स्वास्थ निकायहरूले कोरोनाका बिरामीहरूको उपचार सँगसगै, उपचार पश्चात निको भएका बिरामीहरूलाई परिवार तथा समाजमा सहज पुनःस्थापनाको बारेमा अभियान चलाउनु आवश्यक देखिन्छ ।

वास्तवमा कोरोना संक्रमित बिरामी एकपटक उपचार गरेर निको भएपछि फेरि उनले अरूलाई संक्रमित गराउने सम्भावना शून्य नै हुन्छ । उसको शरीरमा भाइरस पूर्णतः निष्कृय भएपछि मात्र परिक्षणको परिणाम नेगेटिभ आउने हो । चिकित्सा विज्ञानले यस्तो अवस्थामा बिरामी भएर निको भएको मानिस र बिरामी नै नभएको मानिसलाई उस्तै मान्छ । बरू बिरामी भएर निको भइसकेका बिरामीलाई फेरि कोरोना भाइरसले आक्रमण गर्ने सम्भावना अझ कम हुन्छ। किनकि एक पटक भाइरसले आक्रमण गरेर शरीरले लडेर त्यो भाइरसलाई जितेपछि शरीरको भाइरस विरूद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढ्छ।

शरीरमा एन्टिबडीको विकास भई अझ शरीर मजबुद हुन पुग्छ । तपाईं, हामीले बुझ्नु पर्ने कुरा के छ भने यो कोभिड-१९ भाइरस विरूद्ध आजसम्म कुनै पनि औषधि तथा खोप पत्ता लागेको छैन । यस्ता बिरामीहरूको अस्पतालमा उपचार गर्ने भनेको आइसोलेसनमा सुरक्षित तरिकाले बिरामीहरूलाई राख्ने मात्र हो । बिरामीलाई भाइरस विरूद्ध कुनै औषधि दिइन्न। किनकि यसको औषधि नै बनेको छैन ।

अस्पतालले यसबेला बिरामीलाई कुनै ब्याक्टेरियल इन्फेक्सन नहोस् भनेर सतर्कता मात्र अपनाउने गर्छ । अहिले त देशमा यो भाइरसका थोरै संक्रमितहरू छन् । त्यसैले सबैलाई अस्पताल भर्ना गर्न सम्भव भएको पनि हो । हेर्नुस् त, अहिले अमेरिका, स्पेन, इटाली तथा अन्य धेरै संक्रमित भएका देशहरूमा के गरिरहेका छन्। त्यहाँ भाइरसबाट संक्रमित जो बढी सिरियस छन् । तिनीहरूलाई मात्र अस्पताल भर्ना गरिएको छ। बाँकी त आफैँ घरमै सतर्कता अपनाएर आईसोलेसनमा बसेका छन् ।

तसर्थ, हाम्रो अनुरोध यो छ कि कृपया कोरोना संक्रमित व्यक्ति, संक्रमित अस्पतालमा उपचारत व्यक्ति र उपचारपछि निको भएका व्यक्तिहरूलाई उचित आड-भरोसा दिऔँ। उनीहरूलाई समाज तथा परिवारमा सहज पुनःस्थापनाको लागि उपयुक्त वातावरण बनाइदिऔँ।

अतः हामी अस्पताल व्यवस्थापक, बिरामीका परिवारका सदस्यहरू तथा समाजका दाजुभाइ-दिदीबहिनीहरूले यो कोरोना भाइरस संक्रमणको परिस्थितिलाई निम्न अनुसारले बुझ्ने कोसिस गरौँ।

१. कोरोना भाइरस तथा कोभिड-१९ अन्य भाइरस जस्तै एक किसिमको भाइरस हो।

२ . यो भाइरसले संक्रमण गरेपछि मानिसको आफ्नै रोग प्रतिरोधात्मक क्षमताले यो भाइरस लाई मार्ने काम गर्छ।

३. यो रोग लागेर निको भएपछि मानिसमा फेरि यही भाइरससँग लड्ने क्षमतामा अझ वृद्धि हुन्छ।

४. भाइरस संक्रमित भएकालाई हामीले उनीहरूको थप मनोबल वृद्धि गर्ने कुराहरू गर्नुपर्छ ।

५. निको भइसकेका संक्रमितहरूलाई कोरोना विरूद्धको अभियानमा अभियानकर्ता बनाएर प्रयोग गरौँ । उनीहरूलाई कोरोना विरूद्धको अभियानको दूत बनाउने बारेमा सोचौँ।

६ . सचेतनाको पोस्टर तथा पम्प्लेटमा कोभिड-१९ लागेर उपचार भई निको भएकाहरूबाट अन्यमा यो भाइरसको संक्रमण हुन सक्दैन भन्ने बुँदालाई थप गरौँ।

(पेडियाट्रिक नर्सिङमा एमएस्सी गरेकी ओझा मेडिकल कलेजमा उप-प्राध्यापक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment