Comments Add Comment

नेपालमा दर्ता छैन भारतले दिएको औषधि

११ वैशाख, काठमाडौं । कोरोना नियन्त्रणका लागि भारतले सहयोगमा दिएको औषधि नेपालमा दर्ता नै नभएको पाइएको छ ।

भारत सरकारले बुधबार उपलव्ध गराएको औषधिको सूचीमा प्यारासिटामोल ३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई २० एमजी ३ लाख २० हजार ट्यावलेट नेपाललाई दिएको थियो । तर दुबै औषधि औषधि व्यवस्था विभाग (डीडीए) मा दर्ता नै छैन । विभागमा दर्ता नभएको औषधिहरुलाई प्रयोगमा निषेध गर्छ ।

विभागका प्रवक्ता सन्तोष केसीका अनुसार प्यारासिटामोल ३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई २० एमजी ट्यावलेट विभागमा दर्ता छैन । विभागमा दर्ता नभएका औषधिहरु साधारण अवस्थामा बिक्री वितरण तथा प्रयोग गर्न नमिल्ने भनिन्छ ।

‘हामीकहाँ प्यारासिटामोल ३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई २० एमजी ट्याबलेट एउटै कम्बिनेसनमा दर्ता छैन । दुई दुईवटाको छुट्टाछुट्टै कम्बिनेसनमा छ,’ केसीले भने, ‘फार्माकोपियामा नै नभएकाले यसको नेपालमा दर्ता गर्न नमिलेको हो ।’

उनकाअनुसार भारतमा यो औषधि चलाइएको छ । नेपालमा डोनेसनमा आएको कारणले फिजिसियनहरुले सिफारिस गरे चलाउन मिल्ने बताउँछन् । यद्यपि बिक्री वितरणका लागि ल्याउन मिल्दैन । उनले भने, ‘भारतले दिएको औषधिमा २ वटा कम्पोजिसन छ । हाम्रोमा दर्ता नभए पनि विशेष परिस्थितिमा फिजिसियनहरुले सिफारिस गरे चलाउन सकिन्छ ।’

उक्त औषधि बुधबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका थिए । उनले कोरोना विरुद्धको अभियानमा भारतले २३ टन औषधि सहयोग गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment