Comments Add Comment

अध्यादेश विवाद : बाघ मार्न बनाएको हतियारले स्याल पनि मरेन

‘एकदमै राम्रो सम्बन्ध’ ले डुबायो, किन पछि हटिन् रेणु ?

११ बैशाख, काठमाडौं । सोमबार जारी राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ‘पार्टी ब्रिफिङ’लाई विश्वास गर्ने हो भने यो अध्यादेश ‘अन्य दल’ विभाजनका लागि ल्याइएको थियो ।

संघीय संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाहेक नेपाली कांग्रेस, समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) छन् अर्थात ओलीको शब्दमा भन्दा ‘अन्य दल’ ।

कांग्रेसमा तत्कालै पार्टी विभाजन हुने तहको विवाद देखिँदैन । नेकपा नेताहरूले पनि कांग्रेस फुटाउन अध्यादेश ल्याइएको हो पनि भनेका छैनन् ।

त्यसको अर्थ हो– अध्यादेश सपा वा राजपा फुटाउन ल्याइएको थियो ।

तर, राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भएको ५० घण्टा नबित्दै सपा र राजपा एकीकृत भएर जनता समाजवादी पार्टी (जसपा) बनेको घोषणा भयो ।

प्रधानमन्त्री ओलीसँग आफ्नो ‘एकदमै राम्रो सम्बन्ध’ भएका बेला यादवकै कारण बहिर्गमनको बाटो समानउनुपरेको राईको बुझाइ थियो । ओलीलाई अहिले त्यही ‘एकदमै राम्रो सम्बन्ध’ले डुबाएको नेकपा नेताहरूको भनाइ छ

कोेभिड–१९ महामारीका कारण एक महिनादेखि लकडाउनमा परेका जनताको प्राण बचाउनुपर्ने बेलामा अचानक ल्याइएको यो अध्यादेशले सपा वा राजपा फुटाउन किन सकेन त ?

‘यो अध्यादेश नेकपाको आन्तरिक विवाद लक्षित थियो, मेन टार्गेटमा हामी रहेनछौं’ पार्टी एकीकरणमा हस्ताक्षर गरेका सपाका एक नेता भन्छन्, ‘त्यसो हुँदैनथ्यो भने सिंगो राज्यसत्ता लाग्दा हाम्रो पार्टी नै बनी नसकेको सपा फुटाउन कुनै गाह्रो नहुनु पर्ने हो ।’

उनी भन्छन्, ‘अन्ततः अध्यादेश बाघ मार्न बनाइएको हतियारले स्याल पनि मारेन भनेजस्तो भयो ।’

नेकपाका एक स्थायी समिति सदस्य भने दुई–तीन दिन हतार गर्दा योजना कार्यान्वयन हुन नसकेको बताउँछन् ।

‘पहिलो कुरा त राजपा वा सपा मध्ये कसलाई पहिला विभाजन गर्ने भन्ने नै स्पष्ट भएन’ ओली पक्षका ती स्थायी समिति सदस्य भन्छन्, ‘मन्त्री र उपसभामुख दिएपछि सजिलै आइहाल्छन् भन्ने विश्लेषण पनि पुरातन थियो ।’

कतिपय नेताहरूले भने अध्यादेश जारी भएपछि मात्रै सपा वा राजपा विभाजनको तयारी गरेकाले पार्टी फुटाउन नसकिएको बताउने गरेका छन् ।

‘पार्टीभित्रबाट आएको प्रतिक्रिया धान्न गाह्रो हुने देखिएपछि मात्रै प्रधानमन्त्रीले ठोस पहल’ गरेको उनीहरूको दाबी छ ।

सपाको १९ औं वरियताका नेता मोहम्मद इस्तियाक राई र राजपाका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा लगायतका नेताहरूमार्फत पहल भएको नेकपा स्रोतले जानकारी दिएको छ ।

उक्त स्रोतका अनुसार राजपाका नेताहरूले सुरुमै राष्ट्रिय सभाका तीनसहित १९ सांसदको ४० प्रतिशत पुर्‍याउन सम्भव नहुने बताएका थिए । ‘राजपाबाट त्यस्तो प्रतिक्रिया आएपछि बल्ल हामी सपामा केन्द्रित भयौं’, स्रोत भन्छ ।

‘एकदमै राम्रो सम्बन्ध’ ले डुबायो

गत पुस पहिलो साता ओली नेतृत्वको सरकारबाट बाहिरिँदा नै सपाभित्रको विवाद प्रष्ट देखिएको थियो । पार्टी अध्यक्ष समेत रहेका उपेन्द्र यादवले राजीनामा बुझाएको भोलिपल्ट मात्रै सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले राजीनामा दिएका थिए ।

संसदीय मामिलाका जानकारहरूका अनुसार त्यतिबेला पार्टीले नै सरकारबाट बाहिरिने निर्णय गरिसकेपछि मन्त्रीपिच्छे राजीनामा दिइरहनु आवश्यक थिएन । राई अन्तिम समयसम्म पनि सरकार छाड्न नहुने पक्षमा थिए ।

प्रधानमन्त्री ओलीसँग आफ्नो ‘एकदमै राम्रो सम्बन्ध’ भएका बेला यादवकै कारण बहिर्गमनको बाटो समानउनुपरेको राईको बुझाइ थियो । ओलीलाई अहिले त्यही ‘एकदमै राम्रो सम्बन्ध’ले डुबाएको नेकपा नेताहरूको भनाइ छ ।

राईले पहलै नगरेका भने होइनन् । पार्टी वरियतामा आफू भन्दा १० स्थान माथिकी रेणुकुमारी यादवको नेतृत्वमा नयाँ दल जन्माउन पहल गरेको स्रोतको भनाइ छ ।

यद्यपि राई असन्तुष्टिका बावजुद आफू पार्टी विभाजनको पक्षमा नरहेको दाबी गर्छन् । नयाँ दल दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन दर्ता भएपछि अनलाइनखबरलाई प्रतिक्रिया दिँदै आफूले पार्टी फुटाउन लागेको कुरा १०१ प्रतिशत गलत भएको बताएका थिए ।

किन पछि हटिन् रेणु ?

बुधबार अपरान्ह फोन गर्दा रेणु यादवले ‘म अहिले अध्यक्षज्यूहरूसँगै छलफलमा छु, दश मिनेटपछि कुरा गर्छु’ भनेकी थिइन् । दश मिनेटपछि कल गर्दा उनको दुबै नम्बर स्विच्ड अफ थिए ।

त्यसपछि राति १२ बजेपछि मात्रै उनको ‘स्विच्ड मोवाइल अन’ भयो । त्यतिबेलासम्म सपाका चार र राजपाका चार नेताले हस्ताक्षर गरेर जसपा गठनको घोषणा गरिसकेका थिए ।

स्रोतका अनुसार बुधबार अपरान्ह पार्टी नेतृत्वसँग आफ्नै निवासमा भएको छलफललगत्तै यादव पछि हट्न तयार भएकी थिइन् । पार्टीका चारै नेताले एक स्वरमा राजपासँग एकीकरण हुने निश्चित भएको बताएका थिए ।

उनलाई सम्झाउन पुगेका नेताहरूले राजपा र सपा अलग–अलग चुनाव लड्दा पनि राष्ट्रिय पार्टी बन्न सफल भएको र फुटेर जाँदा भविश्यमा मधेसमा चुनाव जित्न असम्भव रहेको बताएका थिए ।

केपी ओली नेतृत्वको सरकारमा महिलालाई सहभागी नबनाएको र पार्टीको प्रदेश समिति निर्वाचनमा आफू पराजित भएपछि उनी उपेन्द्र यादवसँग रुष्ट बनेकी यादव त्यसपछि भने तत्काल विद्रोह नगर्न तयार भइन् ।

‘बाँकेका राईले सप्तरीकी रेणु यादवको राजनीतिक समझको सही विश्लेषण गर्नै सकेका रहेनछन्’, नेकपाका ती नेता भन्छन् ।

सपाका एक उपाध्यक्ष भन्छन्, ‘रेणुजी अघि बढ्नुभएको भए २–३ जना सांसद लैजान सक्नुहुन्थ्यो ।’

अराजनीतिक प्राणीको साथ

अध्यादेशअनुसार पार्टी फुटाउन सपाका १७ मध्ये सात अर्थात ४० प्रतिशत सांसद आवश्यक थियो । त्यसका लागि एउटा सांसदको कति ठूलो महत्व छ भन्ने त डा. सुरेन्द्र यादवलाई लिन पूर्वमन्त्री महेश बस्नेत, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत महोत्तरी पुगेको घटनाले नै देखाउँछ ।

राई संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियालाई हातमा लिएपछि सात जना सांसद सजिलै जुटाउने सक्ने विश्वासमा थिए । अगरियाले सक्दो प्रयत्न नगरेका पनि होइनन् ।

बुधबार साँझ मिडियामा आएका समाचारको खण्डन गरेर अलग–अलग विज्ञप्ति निकालेका सांसदद्वय रुही नाज र कलुदेवी विश्वकर्मा बिहीबार बिहानसम्म पनि अरगियासँगै थिए ।

सपाका महासचिव गंगानारायाण श्रेष्ठ, केन्द्रीय सदस्य आङकाजी शेर्पा लगायत होटलमा पुग्दा कलुदेवी, दानबहादुर, सुरेन्द्र यादव मरियट होटलमा नेकपा नेताहरूसँगै थिए ।

होटलभित्र प्रवेश गर्न नपाएका सपाका नेताहरूले बाहिरबाटै उनीहरूलाई गाली गरे । त्यसो गर्दा फाइदा के भयो ?

अरु नेताहरूले होटलमा आउने हिम्मत गर्न नसकेको सपा नेताहरूको भनाइ छ ।

कलुदेवीका श्रीमान तथा सपा उपमहासचिव दानबहादुर विश्वकर्मा आफूलाई अरगरियाले औषधि किन्न भनेर झुक्याएर त्यहाँ लगेको बताउँछन् । उनी भन्छन्, ‘मिडियामा गलत समाचार आयो, हामी पार्टी विभाजनको पक्ष थिएनौं र छैनौं ।’

नेकपाका एक नेताहरू भने अराजनीतिक प्राणीलाई साथ लिन खोज्दा असफल भएको बताउँछन् । एक नेता भन्छन्, ‘राजनीतिक सुझबुझ नभएका सांसदहरूमाथि विश्वास गर्न नसकिने रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment