Comments Add Comment

फुर्सदमा पनि तनाव ?

कामको धपेडीमा मात्र तनाव बढ्दैन । तनाव त त्यसबेला पनि बढ्न सक्छ, जतिबेला हामी फुर्सदिला हुन्छौं । यसको अर्थ के भने, फुर्सदको सदुपयोग गर्न सकिएन वा जानिएन भने त्यो तनावमा रुपान्तरण हुनसक्छ ।

व्यस्त समयमा, कामको चाप हुँदा त समयको व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा हामीलाई थाहा छ । तर,  फुर्सद हुँदा पनि समयको व्यवस्थापन गर्नुपर्छ र ? हामीलाइ लाग्न सक्छ । फुर्सदको बेलामा पनि समयको व्यवस्थापन गर्नुपर्छ । त्यसो गर्न सकिएन भने दिनहरु पट्यारलाग्दो हुनपुग्छ । समय नै कटाउनै गाह्रो हुन्छ ।

मानिस स्वभावले सधै सक्रिय हुन चाहने प्राणी हो । तर लकडाउनले दैनिक रुपमा गर्दै आएको काम, व्यवसाय गर्न पाएका छैनन् । हामी धेरै फुर्सदिला भएका छौं । सक्रिय हुन रुचाउने मानविय प्रवृत्तिमा यो एक किसिमको अवरोध हो । यही अवरोध हो, तनावको कारण ।

नियमित रुपमा काम गर्ने र घरमै बस्ने व्यक्तिहरुलाई अहिले उकुस मुकुस र छट्पटीको अनुभव हुनसक्छ ।

कुनै पनि परिस्थितिमा व्यक्तिले कस्तो व्यवहार देखाउँछ, दैनिकीलाई कसरी चलाउँछ भन्ने कुरा स्वयम् व्यक्तिको ज्ञान, सीप, अनुभव जस्ता कुरामा भर पर्छ । आपत–बिपत तथा  असहज परिस्थिति आएमा व्यक्तिले या त सकारात्मक व्यवहार देखाउँछ, या त नकरात्मक । नकारात्मक गतिविधिले त  समस्या अरु बढाउँदै लैजान्छ ।

विपत वा संकटमा वा परिस्थिती प्रतिकुल हुँदा त्यसले स्वत तनाव बढाउने गर्छ । नयाँ परिवेशमा समायोजन हुन हामीलाई समय लाग्नसक्छ ।

यस्तो विषम परिस्थिति सकसपुर्ण हुन्छ नै साथै यसले डर, त्रास, चिन्ता समेत बढाउँछ । मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम बढेर जान्छ ।

अहिले हामी एक किसिमले स्वतन्त्र पनि  भएका छौं । यो समयलाई हामी आफुले चाहे अनुरुप बिताउन सक्छौं । आफ्नो रोजाई अनुसार चल्न सक्छौं ।

फुर्सदको समयलाई सदुपयोग गर्न जान्ने, सिर्जनशील व्यक्तिहरुले लकडाउनलाई एउटा अवसरको रुपमा लिएका छन् । उनिहरु आफ्नो कार्य वा सिर्जनामा रमाइरहेका छन् । यो उनीहरूको लागि आनन्ददायक, उपयोगी र उत्पादक समय हो ।  सिर्जनशिल मानिसहरु जस्तोसुकै परिस्थितीलाई पनि आफु अनुकुल बनाउन सक्छन् । उनीहरुलाई कुनै तनाव हुँदैन ।

उनीहरु आफ्ना रुचीको काम गरिरहेका छन्, परिवारसँग रमाइरहेका छन्, घरायसी कामकाज गरिरहेका छन् । तर, सबैमा यस किसिमको प्रवृत्ति हुँदैन । उनीहरुका लागि भने घरभित्रको बसाई पट्यारलाग्दो हुन्छ ।

उनीहरु खाने, सुत्ने मात्र गर्छन् । उनीहरुका लागि लकडाउन बोझिलो र सकसपूर्ण हुनेगर्छ ।

समयको सदुपयोग गर्न नजान्ने मान्छेहरुलाई फुर्सदले अरु छटपटी पैदा गर्छ । अतः समय कटाउनका लागि उनीहरु मदिरा सेवन गर्ने, तास खेल्ने वा अनावश्यक काममा लाग्ने गर्छन् । यस्त निरर्थक, उपलब्धीहीन कामको नतिजा राम्रो हुँदैन ।

एउटा उखान छ– ‘कुकुरको काम पनि हुँदैन, फुर्सद पनि हुँदैन ।’

फुर्सदको समयको सदुपयोग गर्न नजान्ने मान्छेहरु काम नहुदा अर्थात फुर्सदको  सदुपयोग गर्न नजानेर तनावले भौतारिदै हिँड्छन् ।

अर्को नेपाली उखान छ, ‘खाली दिमाग शैतानको बास’ ।  फुर्सदको समयमा  दिमाग खाली हुँदा मनमा चाहिने–नचाहिने कुराहरु खेल्न थाल्छन् । अहिलेको अवस्थामा त खाली दिमागमा कोरोनाकै सोच बढि आउन सक्छ । यसले तनाव, डर, चिन्ता झनै बढाउँछ । तनावको बेलामा मान्छेले गर्न हुने–नहुने काम गर्न सक्छ ।  आफ्नो सोच्ने, सम्झने, निर्णय लिने क्षमता गुमाउँन सक्छ । कुलतमा फस्न सक्ने जोखिम पनि धेरै हुन्छ ।  झै–झगडा, मार पिट , महिला हिंसा , यौन हिंसा , घरेलु हिंसा हत्या सम्म गर्न सक्छ  । त्यसैले खालि दिमागमा शैतानको बास हुन्छ भन्ने गरिन्छ ।

विश्व वैज्ञानिक युगमा प्रवेश गरिसकेको छ । मानिसले गर्ने शारीरिक तथा मानसिक कार्यहरूलाई रोवेट, कम्प्युटर जस्ता कुराले विस्थापित गर्दै गएको छ ।  मानौं, मानिस धेरै नै फुर्सदिलो भयो भने उसले आफ्नो समय कसरी बिताउँला ?  मानसिक अवस्था कस्तो होला ? मानिसले कस्तो मानसिक तनाव बेहोर्नुपर्ला ? मनोविज्ञानको लागि यो चासोको विषय हुनसक्छ । यी प्रश्नको जवाफ भविष्यले नै देला, तर फुर्सदको समयलाई व्यवस्थापन गर्न नजान्दा हुने मानसिक तनाव पक्कै कष्टदायक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment