Comments Add Comment

एक्लाएक्लै सुसाइरहे साकुराका हाँगाहरू

जसरी दसैँको बेला मावली हजुरआमा आफ्नी सानी नातिनीको बाटो हेर्दै कुरिरहेकी हुन्छिन्, ठीक त्यसैगरी सयौँ वर्षदेखि यामाताका जिन्दाइ जाकुराले जापानीहरूलाई कुर्ने गर्छिन् ।

साना नाति–नातिनीहरूलाई पटुकीको फेरमा बाँधेको नरिवल र मिश्री निकालेर भावपूर्ण हृदयले दिएझैँ आफ्नो बूढो शरीरबाट यामाताकाले हजारौँ फूलहरू मार्च र अप्रिलभरि आफूलाई हेर्न आउनेलाई दिने गर्छिन् ।

यिनै बुढीमाउलाई हेर्न हजारौँ मानिसको भीड लाग्ने गर्दथ्यो । नहोस् पनि किन ? झण्डै दुई हजार वर्ष पुरानो मानिएको उनको शरीरले आज पनि शरीरभरि फूल फुलाउन छाडेको छैन ।

सरकारी हेरचाहले अरू बेलाभन्दा यसपटक यामाताकाको शरीरभरि ढकमक्क फूलले ढाकेका थिए तर उनलाई हेरिदिन विशेष मानिसहरू आइदिएनन् । यामानासी केनको होकुतो–सि अन्तर्गत हिनोहारु स्टेसनमा अरू बेलाजस्तो छिनछिनमा विद्युतीय रेल कुदिरहँदैन ।

पातला रेलहरू यो स्टेसनमा रोकिए पनि निकै थोरै मात्र मानिसहरू उत्रन्छन् तर ठूलो मिहिनेतले जोगाइरहेको संरक्षण क्षेत्रभित्रको जिन्दाइ जाकुरासम्म पुग्ने आँट धेरैले गर्न सकेनन् । थोरै व्यक्ति मात्र बडो श्रद्धाले झुक्दै उनलाई अभिवादन गर्न पुग्थे ।

पचहत्तर वर्षपछि सम्भवतः पहिलोपटक यहाँ यति थोरै मानिस पुगे । त्यसो हुनुमा विश्वव्यापी कोरोना सङ्क्रमणको डर र सन्त्रास थियो । भीडभाडबाट बच्न सरकारले लगातार सूचना जारी गरेपछि र पर्याप्त मास्क लगाउन नपाएपछि धेरैको इच्छा हुँदाहुँदै पनि मानिस त्यहाँ पुगेनन् ।

त्यसमाथि साकुरा ढकमक्क फुल्ने मुख्य दिनहरू नजिकिँदा जापान सरकारले सात प्रमुख प्रान्तहरूमा सङ्कटकाल घोषणा गरेपछि त आउने गरेका थोरै मानिसहरू पनि रोकिए । जापानकी सबैभन्दा श्रद्धा गर्ने साकुराकी बुढीआमा यसपटक एक्लैएक्लै फुलिरहिन् । सन्नाटाको बीच लहलह झुलिरहिन् ।

यही अवस्था मिहारु ताकिजाकुराको थियो । एक हजार वर्ष पुरानो मानिएकी यी बुढीआमा उसै पनि टोक्योभन्दा केही टाढा फुकुसिमामा संरक्षित छिन् । सन् २०११ को विनाशकारी भूकम्प र सुनामीबाट समेत आफ्नो अस्तित्व जोगाउन सफल रहेकी यिनलाई जापानीहरू आशा र पुनरुत्थानकी देवीका रूपमा पूज्दारहेछन् । तर यसपटक कोरोनाले उनीप्रतिको विश्वास धेरैनै धर्मरायो कि क्या हो ! समाचारहरूमा उनी गाउँका बालबालिकाहरूसँग मात्र रमाइरहेको खबर छापिएका थिए ।

जापानका हरेक टोल–टोलमा यो बेला मेला लाग्दथ्यो । युगल जोडीहरू खुला रूपमा प्रेमको आलिङ्गनमा बाँधिन्थे । तर सबै चोक, गल्ली, बाटा र पार्कहरू खाली–खाली, कसैलाई पर्खिबसे जस्ता देखिन्थे । सम्भवतः द्वितीय विश्वयुद्धपछि पहिलो पटक जापानीहरू यसरी साकुराको फेदमुनि खुलेर खानपान, रमाइलो र भलाकुसारी गर्नबाट डराए ।

केही दिनअघिसम्म वास्ता नगरिएका बोटहरूले अटेसमटेस गरेर फूल फुलाएपछि मानिस टक्क अडिएर हेर्न बाध्य हुँदोरहेछ । साकुरा कहाँ फुलेको छैन र ? पहाड, झरना, गल्ली, पोखरी, उद्यान, सडकका किनार, पार्क र बगैँचा जताततै ।

जापानका उएनो, हाराज्युकु, हिरोसाकी, इजुनो खावाजु, खाइगुन दोरी, माइजुरु पार्क, कुमामोतो क्यासल र हिमेजी महल आदि यस्ता क्षेत्र हुन्, त्यहाँ हजारौँ मानिसको वनभोज चल्ने गर्दथ्यो । रोडका छेउमा, नहरका छेउमा, पार्क छेउमा मात्र होइन, जङ्गलका बीचमा पनि उनीहरू साकुराको सौन्दर्यमा लिप्त भएको देखिन्थ्यो । यो साल जापानी जनताले आफ्नो प्रिय साकुरालाई भेट्न किन यति साह्रो अप्ठ्यारो माने मलाई अचम्म लागिरह्यो ।

साकुरा फुल्नु र जापानीहरू नझुम्मिनु कसरी सम्भव हुनसक्छ र ? तर मेरो १५ वर्षको अनुभवमा यो पहिलोपल्ट भयो । अझ सञ्चारमाध्यमहरूले त यो जापानी इतिहासमा विरलै हुने घटना भएको दाबी गरिरहेका छन् । युद्धका बेला पनि जापानीहरू एक निमेष मात्रै भए पनि साकुराका बोट मुनि भेला हुने गर्थे रे ! अहिलेको दृश्यले भने युद्ध पीडाभन्दा ठूलो चोट दिएको हो कि भन्ने भान हुन्छ ।

जापानभरि साकुराका ६ सय प्रजाति छन् । तर मानिसको ध्यान यसका मुख्य चार प्रजातिमा छ । योसिनो सोमेई, विपिङ चेरी, याएजाकुरा र खान्जाकुरा प्रमुख प्रजाति हुन्, जसको रङ र फुल्ने शैली अनि समय फरक छन् । अधिकांश साकुरा मार्च अप्रिलमा फुल्ने भए पनि ठाउँअनुसार फरक–फरक महिनामा फुल्ने गरेको पाइन्छ ।

खान्जाकुरा जनवरीको पहिलो हप्तादेखि नै फुल्ने गर्दछ । यद्यपि जनवरीको अन्तिम सातादेखि नै जापानमा कोरोनाको हल्ला थियो । त्यो बेला मानिस सचेत नै थिए र साकुरा पर्व मनाउन पाउनेमा आशावादी देखिन्थे । तर जब साकुरा फुलिरहेको बेलामा सरकारले यसमा कडा कदम चाल्न थाल्यो, उनीहरू दुःखी भए । उनीहरूको मनमा साकुरा आफ्नो प्रथम प्रेमजत्तिकै महत्त्व छ ।

विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाहरूको औपचारिक लोगो, ब्याच मात्रै हैन १०० यनको सिक्का र १,००० यनको नोटमा साकुरा फूल अङ्कित छ । जापानको रग्बी खेलको राष्ट्रिय टिमको युनिफर्ममा पनि साकुरा अङ्कित छ । यति चर्चा गरिरहँदा साकुरा नै जापानको घोषित राष्ट्रिय फूल हो भन्ने कुरो विदेशी र जापानी नागरिकहरूले पनि ठान्ने गरेका छन् । यद्यपि वास्तविकता त्यसो होइन । सरकारले यसलाई औपचारिक रूपमा ‘राष्ट्रिय फूल’ घोषणा गरेको छैन ।

जनस्तरबाट स्वतःस्फूर्त रूपमै मानी आइएको पाइन्छ । त्यसो त साकुरा बाहेक ‘किकु’ फूललाई पनि जापानले प्राथमिकतामा राखेको तथ्य फेला पार्न सकिन्छ । जापानको पासपोर्टमा र सम्राटको गाडीको नम्बर प्लेटमा ‘किकु’ को फूल राख्ने चलन कामाकुरा काल (११८५–१३३३) देखि नै चल्दै आएको हो । यो आफैंमा बेग्लै खोजको विषय बन्न सक्छ । साकुराको किन नराखिएको होला भन्ने प्रश्न मेरो मनमा खेल्न थालेको धेरै वर्ष भयो ।

जापानीहरूमा राजसंस्थाप्रति ठूलो आस्था छ । राजपरिवारका सदस्य पनि दरबार परिसरभित्रको फराकिलो बगैँचामा रहेको साकुराको रूखमुनि बसेर यो पर्व मनाउँछन् । यसको इतिहास १२ सय वर्षभन्दा पुरानो छ । इतिहासका अनुसार सागा (७८६–८४२) नाम गरेका सम्राटले हेइयान काल (७९४—११८५) मा अर्थात् सन् ८ सय १२ सालबाट यो पर्व मनाउने प्रथा थालेका हुन् । तत्कालीन जापानको राजधानी क्योटो सहरमा अवस्थित सिसेनएन मन्दिरमा ‘हानाएन नो सेचु’ नामको औपचारिक कार्यक्रमको आयोजना गरेर सम्राट सागाले साकुरा हेर्ने पर्व हानामीको सुरुवात गरेका हुन् ।

खासगरी नारा काल (७१०–७८४) बाट नै जापानमा हानामी पर्वको सुरुवात भएको विश्वास गरिन्छ । चिनियाँ खान्जी लिपीभन्दा धेरै अगाडि जापानमा ‘उमे’ भित्रिएको पाइन्छ र सोही ‘उमे’ को फेदमा बसेर जापानीहरूले हानामी मनाउने गर्दथे । सम्राट सागाको कदमपश्चात् उमे ओझेल पर्‍यो र साकुरा दिन–प्रतिदिन लोकप्रिय बन्दै गयो ।

जापानी भाषामा ‘हाना’ को अर्थ फूल हो । ‘मी’ को अर्थ हेर्नु हो । भावको हिसाबले यसको पूरा अर्थ फूल हेर्ने उत्सवको रूपमा बुझिन्छ । उमे, किकु र साकुरा मात्रै होइन अन्य धेरै फूलहरू चिनियाँ तथा कोरियाली प्रायदीपबाट जापान भित्रिएका हुन् । निश्चित मिति उल्लेख नभए पनि जापान भित्रिएको सबैभन्दा पुरानो फूलको रूपमा उमेलाई लिइएको कुरा सन् ७७० मा प्रकाशित मानयोसु ग्रन्थमा उल्लेख छ ।

हुन पनि पात झरेर नाङ्गा भएका रूखहरूमा सबैभन्दा पहिले साकुराले सुन्दर वस्त्र ओढ्छ । वसन्तको पहिलो आगमनको सूचना दिने रूख यही हो । त्यसपछि अरू रूख हरिया हुन थाल्छन् । तर अरू रूख हरियो हुने क्रम सुरु नहुँदै साकुराले आफ्ना शरीरभरि यसरी फूलैफूलले भरिन्छिन्, जसलाई हेर्नेबित्तिकै हर कसैको मुखमा ‘वाह’ शब्द ननिस्की धर नै पाउँदैन । फुल्न थालेपछि पो थाहा हुन्छ, लाखौँलाख बोटहरू जापानभरि रहेछन् भन्ने कुरा ।

केही दिनअघिसम्म वास्ता नगरिएका बोटहरूले अटेसमटेस गरेर फूल फुलाएपछि मानिस टक्क अडिएर हेर्न बाध्य हुँदोरहेछ । साकुरा कहाँ फुलेको छैन र ? पहाड, झरना, गल्ली, पोखरी, उद्यान, सडकका किनार, पार्क र बगैँचा जताततै । यस्तो लाग्छ, जापानको जनसङ्ख्याभन्दा साकुराको जनसङ्ख्या कयौँ गुणा बढी छ । यसको रङले पनि मानिसलाई मोहनी लगाउँछ । हलुका गुलाबी मोतीजस्ता स–साना फूलहरू सामान्य हावा लहरमा ठोक्कर खाएर तल झर्दा त्यसले दिने तरङ्ग कुनै सङ्गीतभन्दा कम हुँदैन । रङ्गीबिरङ्गी साकुराले रोमाञ्चक अनुभव दिन्छ ।

साकुराको बोटमुनि बसिरहेका नवयौवनामाथि जब हावाको झोक्काले ती फूलहरू झर्छन्, कुनै चलचित्रको कमनीय दृश्यझैँ मनलाई एकतमासको बनाइदिन्छ । साकुराको रङ मात्र होइन, यसको कोमलताले पनि धेरै सन्देश दिन्छ । यही कारण साहित्यमा विभिन्न किसिमका बिम्बमा यसको प्रयोग भइरहेको हुन्छ । साहित्यमा साकुरालाई एकातिर प्रेम, यौवन, मधुमास, मधुर मिलनका रूपमा प्रयोग गरिएको पाइन्छ भने अर्कोतिर यसको क्षणभङ्गुरतालाई दिएर जीवनको क्षणिकताको बोध गराएको देखिन्छ ।

१९ औँ शताब्दीमा टोक्यो सहरका खुला मैदानहरूमा ‘योसिनो सोमेई’ प्रजातिका साकुरा लगाएको इतिहास पाइन्छ । सय वर्ष पुराना यी रूखहरूले सिंगो टोक्योको सौन्दर्य जुरुक्क उचालिदिएको छ, जुनसुकै पर्यटकीय केन्द्र, धार्मिक केन्द्र वा सांस्कृतिक केन्द्रलाई साकुराले सुसज्जित बनाइएको छ ।

टोक्योको इतिहास र शोभा बोकेका सुमिदा खोला, कान्दा खोला, साकुजी खोला र मेगुरो खोला किनारमात्रै होइन सफा सडकका छेउछाउमा जब साकुरा फुल्छ, टोक्यो यस्तो लाग्छ, मानौँ, स्वर्गमा गरिएको कल्पना धर्तीमा यथार्थ उत्रिएको होस् । यही शैली अन्य सहरहरूले पनि अपनाएका छन् । यही कारण घरघरबाट निस्किएका फुर्सदिला जापानीहरू यी दिनहरूमा रमाइलो गर्छन् ।

साकुरा फूलको आफ्नै वंशावली जापानीहरूले बनाएका छन् । उक्त पुष्प वंशावलीमा ‘कोनोहोना नो साकुरा’ लाई पहिलो साकुराकी रानीको रूपमा व्याख्या गरिएको छ । यिनी स्वर्गकी अप्सरा थिइन् । उक्त राजकुमारीको विवाह सूर्यको नाति राजकुमार निनिगीसँग भएपछि उनीहरू मधुमासका लागि पृथ्वीलोक झर्छन् ।

यसरी पृथ्वीमा झर्दा जापानी भूमिमा उनीहरूले साकुरा रोप्छन् र यहीँ उनीहरू वर्षौवर्ष आनन्दको जीवन बिताउँछन् । कोनोहोना नो साकुरा नामक राजकुमारीकै कारण यो रूखको नाम साकुरा रहेको विश्वास जापानीहरूको छ । प्राचीन कथाका कारणले पनि यो राजसंस्था र जनतामा प्रिय रह्यो । जसले अघोषित राष्ट्रिय फूल र राष्ट्रिय पर्वको रूप लियो ।

कतिपयले स्वर्गकी तिनै अप्सराको आत्मा यी वृक्षहरूमा बसेको विश्वास गर्छन् । मधुमास मनाउन आएका ती स्वर्गका जोडी पछि यतै रमाए । हजारौँ वर्षपछि उनीहरूले जापानी धर्तीमा विश्राम लिए । उनीहरूको प्रणय समयमा यी फूल फुल्ने गरेको बाहनाको कारण पनि युगल जोडीहरूले यसलाई आफ्नो पर्व मान्छन् । उनीहरूको मृत्युपछि पनि यिनै वृक्षहरूमा उनीहरूको आत्म बस्यो ।

यही कारण धर्मभीरुहरू यी रूखहरूमा धार्मिक आस्था भेट्छन् । जेहोस्, हरेकले यसलाई आफ्नै शैलीमा व्याख्या गरेका कारण यो राष्ट्रिय पर्व बन्न पुग्यो । यता कवि लेखकहरूले भने यो फूल एक महिना पनि नफुल्ने हराउने भएका कारण यसलाई जीवनको क्षणभंगुरताको रूपमा व्याख्या गर्दै भन्छन्, ‘साकुराले हाम्रो क्षणिक जीवनको सन्देश दिएर जाने गरेको छ ।’

यो वर्ष लेखक कविहरूले साकुरा फुलिरहँदा खुसीका भन्दा दुःखका कुरा धेरै लेखे । हाइकुमार्फत् आफ्ना मार्मिक पीडाहरू पोखे । कहिले अनिकाल भोगेको जापान, कहिले युद्ध भोगेको जापान, कहिले प्राकृतिक विपत्ती ताइफु, भूकम्प र सुनामी भोगेको जापान, अहिले कोरोना महामारी भोग्दैछ । यही कारण खाली पार्क, खाली सडक र खाली–खाली जङ्गललाई देखेर कवि लेखकहरू पनि दुःखी छन् र साकुराले जीवन क्षणभङ्गुरताको सन्देश दिएको लेखिरहेका छन् ।

हाल साकुराको गरिमा जापानमा मात्रै सीमित छैन । यसप्रतिको आकर्षण र रौनक विश्वभरि फैलिएको छ । हानामी पर्वको संस्कारले पनि युरोप, अमेरिका र अस्ट्रेलियासम्म छिचोलेको धेरै भइसक्यो । जापानमा रहेको नेपाली समुदाय त झन् यो परिवेशमा पूरै परिचित र घुलमिल हुँदै साकुराप्रति अपनत्व महसुस गर्न थालिसकेको छ ।

तर यत्रो वर्ष मैले देख्दै र प्रत्यक्ष अनुभव गर्दै आइरहेको पर्व कोरोनाका कारण हराएपछि मेरो मन पनि उदास–उदास छ । यही समयमा पर्ने नेपाली नयाँ वर्ष र वसन्तको रौनक पनि कोरोनाका कारण हराएको छ । जापानमा रहेको करिब एकलाख हाराहारीको नेपाली समुदाय पूरै स्तब्ध छ ।

अध्ययन–अध्यापन, रोजगारी, पारिवारिक भेटघाट, सामाजिक कामहरूका साथै व्यापार–व्यवसाय ठप्प छ । यसपटक साकुरा जताततै फुलिरहेको देखिन्छन् तर उनीहरू एक्लाएक्लै सुसाइरहेका छन् ।

(विगत १५ वर्षदेखि जापानमा बसोबास गर्दै आइरहेका प्रकाश पौडेल ‘माइला’ अनेसास केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment