Comments Add Comment

सडकको बजेटबारे छलफल सुरु, विभागले धेरै नमाग्ने

पुरानालाई निरन्तरता, नयाँ कार्यक्रम न्यून

१४ वैशाख, काठमाडौं । बजेट निर्माणको गृहकार्य थालेको अर्थ मन्त्रालयले आइतबार सडक विभागको विनियोजनबारे छलफल सुरु गरेको छ । विभागका अधिकारीहरु चाहिँ यसपाली मन्त्रालयसँग धेरै बजेट माग्ने मुडमा छैनन् ।

आगामी आर्थिक वर्षका लागि सडक विभागलाई सरकारले करिब १३७ अर्बको बजेट सिलिङ दिएको थियो । कोभिड-१९ को प्रकोप सुरु हुनुभन्दा अघि नै योजना आयोगले पठाएको यो सिलिङ अब घट्ने अवस्था  छ । विभाग आफैं पनि यो वर्ष यति ठूलो बजेट लिने पक्षमा नरहेको अधिकारीहरु बताउँछन् । काम गर्न सकिने शीर्षक तथा कार्यक्रमहरुमा मात्रै बजेट विनियोजनका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिने उनीहरुको भनाइ छ ।

मन्त्रालय स्रोतका अनुसार यो वर्ष पनि सडक विभागले पुरानै आयोजनाहरुको निरन्तरताका लागि बजेट पाउनेछ । अहिले सडक विभाग अन्तरगत मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र उत्तर-दक्षिण कोरिडोर सडक आयोजनाहरु राष्ट्रिय गौरबका आयोजनाका रुपमा निर्माणाधीन छन् । यसबाहेक सेनाले खर्च गर्ने गरी काठमाडौं-तराई द्रुतमार्गलाई पनि विभागमार्फत बजेट विनियोजन हुनेछ । नागढुंगा सुरुङमार्ग पनि प्राथमिकतामा रहनेछ ।

सरकारसँग यो वर्ष स्रोतको अभाव रहेकाले विभागले खर्च गर्न सक्ने अवस्थामा रहेका आयोजनाहरुमा मात्रै बजेट विनियोजन गर्ने भएको छ । अर्थ मन्त्रालयले पनि विकास आयोजनाहरुको क्षमताको आधारमा मात्रै बजेट दिन सकिने बताएको स्रोतले बतायो ।

‘तयारी नसकिएका आयोजनाहरुमा यो वर्ष ठूलो बजेट विनियोजन हुँदैन, राष्ट्रिय गौरबका आयोजनाहरुमा पनि कार्यप्रगतिको मूल्यांकन गरेर बजेट दिइन्छ,’ विभाग स्रोतले भन्यो, ‘नयाँ आयोजनामा तयारीका लागि आवश्यक बजेट मात्रै विनियोजन हुन्छ, बरु आवश्यक पर्दा स्रोतको सनिश्चितताका लागि अर्थसँग पछि माग गर्छौं ।’

के-के छन् नयाँ आयोजना ?

आगामी वर्षको बजेटमा सडकसम्बद्ध खासै ठूला नयाँ आयोजनाहरु पर्ने छैनन् । काठमाडौंका मुख्य चोकहरुमा फ्लाइओभर र अन्डरपासहरु निर्माणको तयारीका लागि पहिलोपटक बजेट विनियोजन हुनेछ । यो वर्ष अध्ययन गरेर ठेक्का लगाउनेसम्मको तयारीका लागि बजेट विनियोजन हुने विभागका अधिकारीहरु बताउँछन् ।

त्यसबाहेक चक्रपथको कलंकी-महाराजगञ्ज-गोपीकृष्ण खण्डको विस्तारका लागि पनि बजेट विनियोजन हुनेछ । अहिले यो सडक विस्तारका लागि साइट क्लियर गर्ने काम भइहरेको छ । यो खण्ड चीन सरकारले आफ्नै अनुदानमा विस्तार गर्दैछ ।

त्यसैगरी यो वर्ष पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्ने योजनाअनुरुप थप केही खण्डमा अध्ययन अघि बढाइनेछ । नागढुंगाबाट मुग्लिनसम्मको सडकलाई मुग्लिन-नारायणगढ खण्डजस्तै फराकिलो बनाउने कामको थालनी गर्न पनि बजेट विनियोजन हुन्छ । यसमा विश्व बैंकले लगानी गर्दैछ ।

यस्तै एसियाली विकास बैंकको सहयोगमा मुग्लिनबाट पोखरासम्म जाने सडकलाई ४ लनेको बनाउन काम थालनी हुनेछ । मदनभण्डारी राजमार्गको धरानपूर्वको खण्ड र पश्चिम खण्डमा आवश्यक नयाँ ट्रयाक खोल्ने र सडक बनाउने कामका लागि पनि बजेट विनयोजन हुनेछ । अन्य निर्माणधीन खण्डमा नियमित कामहरु अघि बढ्नेछन् ।

पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि नारायणगढ-बुटवल खण्डको कामलाई जारी राख्दै कमला-कञ्चलनरुप खण्डको निर्माणको काम अघि बढाइनेछ । कमला-ढल्केबर-पथलैयासम्मको राजमार्गको खण्ड विस्तारको तयारीको लागि पनि आगामी वर्षको बजेट प्राप्त हुनेछ ।

मेची र तमोर नदीमा करिडोर सडक निर्माणका लागि पनि आगामी वर्षबाट प्रक्रिया सुरु हुनेछ भने महाकाली कोरिडोर निर्माणको लागि पनि तयारी स्वरुप बजेट विनियोजन हुने अर्थमन्त्रालय स्रोतले बताएको छ । अहिलेसम्म यी नदीहरुमा आधारित भएर सडक करिडोरको निर्माण थालिएको छैन ।

आगामी वर्ष सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुरुङमार्ग निर्माणको काम पनि सुरु गरिनेछ । यसका लागि अर्थ मन्त्रालयले यसै वर्ष बजेटको स्रोत सुनिश्चित गरिसकेको छ ।

विभागका अनुसार आगामी बजेटले सडक मर्मतका लागि पनि पर्याप्त बजेट विनियोजन गर्नेछ । यो वर्ष आवधिक मर्मतका लागि प्राप्त बजेटबाट राम्रो नतिजा आएकाले सडक मर्मत गरेर चुस्त राख्न पुग्ने गरी बजेट विनियोजन हुने विभाग स्रोत बताउँछ ।

सडक विभागका प्रवक्ता शिवहरी सापकोटा बजेट विनियोजनबारे प्रारम्भिक छलफल भइरहेको बताउँछन् । विगतको अनुभव, विभागको क्षमता र जनताको आवश्यकताका आधारमा सडकले बजेट पाउने अपेक्षा गरिएको उनको भनाइ छ ।

‘नयाँ आयोजनाभन्दा बढी पुराना क्रमागत आयोजनारुलाई नै सम्पन्न गर्ने विषय महत्वपूर्ण भएकाले त्यसमै बढी केन्दि्रत हुनुपर्ने छ,’ सापकोटाले भने ।

तर, केही नयाँ आयोजनाहरु पनि सुरु गर्नुपर्ने भएकाले अर्थमन्त्रालयसँग त्यसका लागि छलफल हुने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment