Comments Add Comment

संसद भवन छिर्दा मास्क अनिवार्य, हरेक टेबुलमा स्यानिटाइजर

२१ वैशाख, काठमाडौं । संघीय संसदको बजेट अधिवेशन यही वैशाख २६ गते सुरु हुँदैछ । आइतबार नै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते दिउँसो ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् ।

यो वजेट अधिवेशनमा संसद छिर्दा सांसदहरुले यसअघि भन्दा केही फरक अनुभव गर्नेछन् । कोरोना भाइरसको जोखिम कम गर्नका लागि संसद भवन छिर्दा सांसद, कर्मचारी, पत्रकारलगायत सबैले अनिवार्य रुपमा हात धुनुपर्ने हुन्छ । ज्वरो नाप्ने व्यवस्था पनि गरिएको छ ।

संघीय संसद सचिवालयका अनुसार एक सय डिग्री भन्दा बढी ज्वरो आउनेलाई संसद भवनमै रहेको आइसोलेसन वार्डमा राखिनेछ र नजिकको अस्पतालमा पठाइनेछ ।

संसद भवन छिर्दा सर्जिकल मास्क अनिवार्य लगाउनुपर्छ । सभाहल बाहिर हात धुनका लागि साबुन पानीको व्यवस्था गरिनेछ ।

संसद भवनभित्र सांसदहरुले बोल्दा समेत ख्याल गर्नुपर्नेछ । एक जना सांसदले बोलेपछि माइक स्यानिटाइज गरेर मात्रै अर्को सांसदले समात्नुपर्नेछ । सभाहलमा हरेक टेबलमा स्यानिटाइजर राखिनेछ ।

पीसीआर टेष्ट गर्न चिकित्सकको सुझाव

चिकित्सकहरुले भने संसद भवन छिर्ने सांसद र अन्य व्यक्तिको दुई दिन अगावै कोरोना संक्रमण परीक्षण पीसीआर विधिबाटै गर्न सुझाव दिएका छन् ।

वैशाख १८ गते स्वास्थ्य सेवा विभाग, टेकुका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पोख्रेलसहितको टोलीले संघीय संसद भवनको स्थलगत अनुगमन गरेको थियो । त्यसक्रममा चिकित्सकहरुले यस्तो सुझाव दिएका संसद सचिवालयका कार्यबाहक महासचिव गोपालनाथ योगीले जानकारी दिए ।

‘तर, पीसीआर टेष्ट गर्ने विषयमा सरकारसँग परामर्श गर्नुपर्ने हुन्छ । सरकारले डाक्टरहरु खटाउनुपर्ने हुन्छ’ योगीले भने । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पनि संसद भवन छिर्नेहरुको पीसीआर टेष्ट गर्न जोड गरेका छन् ।

कोरोनाको संक्रमणको जोखिम भएका क्षेत्रहरुबाट आएका सांसद तथा कर्मचारीलाई मध्यनजर गरेर पीसीआर टेष्ट अनिवार्य गर्नुपर्ने सुझाव कतिपय सांसदलेसमेत दिएका छन् ।

सभामुखद्वारा परामर्श

संघीय संसदको बैठकमा कोभिड १९ रोगको संक्रमणको सम्भावित जोखिम न्यूनिकरण गर्ने लगायतका सभामुख अग्निप्रसाद सापकोटाले सरोकारवालासँग छलफल गरेका छन् ।

आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उनले स्वास्थ्य टोली, संसद सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी, सचिव लगायतसँग संसद बैठक व्यवस्थापनलाई सुरक्षित बनाउने विषयमा केन्द्रित रहेर छलफल गरेका हुन् ।

छलफलका क्रममा सभामुख सापकोटाले संघीय संसदका तर्फबाट सकिने जति सबै पूर्वतयारी गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment