Comments Add Comment

पर्यटन क्षेत्रमा ८० अर्बभन्दा बढीको कारोबार गराउने सूत्र

हरेक समस्याभित्र नै समाधानको सूत्र रहेको हुन्छ । कोरोनाको संक्रमणले विश्वको आर्थिक र मानवीय वातावरणलाई नै त्रसित बनाइरहेको छ । यसको असर नेपालको अर्थतन्त्रमा र विशेष गरेर पर्यटन क्षेत्रमा नराम्रोसँग परेको छ । यो समस्यालाई गिजोलेर अझ बिगार्नुभन्दा समस्या निराकणको उपाय अवलम्बन गर्नतर्फ लाग्नु नै बुद्धिमानी देखिन्छ।

कुरा गरौं पर्यटन व्यवसायमा परेको असरका बारेमा । जगजाहेर छ कि कोरोनाले विश्वको सम्पूर्ण आर्थिक क्षेत्रलाई असर गरिरहेको छ । यसले पर्यटन क्षेत्रलाई पनि अछुतो राखेको छैन । नेपालको पर्यटन पनि यही अवस्थाबाट गुज्रिरहेको छ।

यस व्यवसायमा खर्बौं रुपैयाँ लगानी भएको छ । अबको कमसेकम दुई वर्ष यो व्यवसायलाई टिकाउन सकिएन भने नेपालका पर्यटन व्यवसायी र वित्तीय क्षेत्रलाई आर्थिक असर त पर्छ नै योभन्दा ठूलो समस्या देशमा बेरोजगारी बढ्छ ।

जुन राज्यका लागि समेत दुर्भाग्य हुन सक्छ । दुई वर्षपछिको पर्यटन व्यवसायले जुन गति लिनुपर्ने हो कम्तीमा पनि सो गति लिनको लागि ५ वर्षभन्दा बढी समय लाग्न सक्छ ।

विगत वर्षका तथ्यांकलाई हेर्ने हो भने लगभग १०.५ लाख अन्तर्राष्ट्रिय पर्यटकहरू नेपाल भित्रिएका देखिन्छन् । उनीहरूको बसाइँ लगभग १२.५ दिन र उनीहरूको औसत दैनिक खर्च ४४ डलर थियो । विगत वर्षमा एक अमेरिकी डलर बराबर एक सय १० रुपैयाँ मान्ने हो भने सरदर ६३.५ अर्बको कारोबार भएको देखिन्छ ।

त्यस्तै, नेपालबाट पनि ११ लाख नेपालीहरू विदेश गएको देखिन्छ जसमा चार लाख जति वैदेशिक रोजगारका लागि, ५० हजार अध्ययनका लागि, लगभग ३० हजार जति सेमिनार वा गोष्ठी र बाँकी लगभग छ लाख पर्यटनको हिसाबले विदेश गएको देखिन्छ । जसमध्ये ६ लाख नेपाली पर्यटकहरूले विदेशमा गरेको खर्च ५६ अर्बभन्दा बढी रहेको थियो ।

राज्यको हिसाबले हेर्ने हो भने नेपालीले विदेशमा गरेको खर्चभन्दा विदेशीले नेपालमा गरेको खर्च ७.५ अर्ब मात्रै बढी रहेको देखिन्छ । कोरोनाको महामारीका कारण अबको केही समय नेपालीहरूले विदेशमा गर्ने खर्च भने जोगिने देखिन्छ।

प्रमुख मुद्दा भनेको नेपालको पर्यटनलाई अहिलेको अवस्थामा टिकाएर राखी अबको दुई वर्ष पछाडिको अन्तर्राष्ट्रिय पर्यटनलाई कसरी तयारी अवस्थामा राख्ने भन्ने हो । राज्यले पर्यटन क्षेत्रलाई दिने भनेको आर्थिक राहत प्याकेज पनि सम्पूर्ण पर्यटन व्यवसायीले नपाई पहुँचवालाले मात्रै पाउने सम्भावना रहेको छ ।

जसले गर्दा नेपालका पर्यटन व्यवसायीलाई टिकाएर राख्नको लागि अन्य विकल्पहरू बारेमा समेत सोच्नुपर्ने अवस्था छ । केही उपायहरू हुन सक्छन् जसले नेपालको पर्यटन व्यवसायलाई अहिलेको अवस्थामा समेत पहिलेभन्दा समुन्नत बनाउन सक्छ ।

१. नेपालमा लगभग ५ लाख सरकारी कर्मचारी छन् । ती सम्पूर्णलाई आन्तरिक पर्यटन प्रवर्द्धन शीर्षकमा वार्षिक अतिरिक्त एक महिनाको तलब छुट्टै उपलब्ध गराउने र कर्मचारीले सो रकम पर्यटन भ्रमणमा अनिवार्यरुपमा खर्च गर्नुपर्ने प्रावधान राख्ने । भ्रमण गरेको प्रमाण नदिएमा यो सुविधा नपाउने ।

यसो गरेमा सरकारी कर्मचारीहरूमा कामगर्ने हौसला पनि बढ्ने र प्रत्यक्ष रुपमा पर्यटन क्षेत्रमा राज्यबाट सरदर एक कर्मचारीलाई लगभग २० हजार हिसाबले पनि १० अर्बभन्दा बढी रकम खर्च हुन जान्छ । जुन पर्यटन क्षेत्रको लागि ठूलो राहत हुन जान्छ।

२. विगतको तथ्यांक हेर्ने हो भने नेपालमा निजी व्यापार, व्यवसाय, उद्योग र सोको रोजगारीबाट आम्दानी गर्नेको संख्या सरकारी कर्मचारीबाहेक लगभग ६५ लाखको हाराहारी देखिन्छ । राज्यले नीति नै बनाएर निजी क्षेत्रले आफ्ना सम्पूर्ण कर्मचारीलाई वर्षको अतिरिक्त २० दिनको तलब आन्तरिक पर्यटन भ्रमण र सोको प्रवर्द्धनको लागि उपलब्ध गराउने नियम बनाउने ।

यस कार्यक्रममा कम्तीमा ५० प्रतिशतलाई मात्र सहभागी गराउन सकियो भने मात्र पनि एक कर्मचारीको १० हजारको हिसाबले ३० अर्बभन्दा बढीको खर्च हुन जान्छ । परिवारसहित जाँदा सो रकम दुई गुणाले बढेर ६० अर्बभन्दा बढी खर्च हुने सम्भावना हुन्छ । यसले पर्यटन क्षेत्र र यससँग जोडिएका अन्य व्यापार व्यवसायमा समेत ठूलो सहयोग पुगेर आर्थिक कारोबार बृहत् हिसाबले बढ्छ ।

३. विदेश भ्रमणमा गएर लाखौं खर्च गर्ने ६ लाख नेपाली पर्यटकलाई नेपालमै लक्जरी टुरिजमका विविध प्याकेजहरू जस्तैः फेमेली प्याकेज, बिजनेस प्याकेज, धार्मिक पर्यटन आदि प्याकेज बनाई नेपालमै भ्रमण गराउन सकिन्छ । जसमा विदेश गएर लाखौं खर्चगर्ने २० प्रतिशतलाई मात्रै आकर्षित गर्न सकियो भने पनि १० अर्बभन्दा बढी कारोबार हुने देखिन्छ । यस लक्जरी प्याकेजमा उनीहरूलाई हेलिकप्टरबाटै गन्तव्यमा पुर्‍याउने, त्यहाँ ३–४ दिन घुम्ने रमाउने र फेरि हेलिकप्टरबाटै ल्याउने जस्ता आकर्षक सुविधाहरू दिन सकिन्छ ।

यसरी ठप्पप्रायः अवस्थामा रहेको आन्तरिक पर्यटक प्रवर्द्धनका लागि राज्य, पर्यटन व्यवसायी र निजी संघसंस्थाले संयुक्त प्रयास गर्ने हो भने पर्यटन क्षेत्रमा परेको प्रभाव स्वतः समाधान भई ८० अर्बभन्दा बढीको कारोबार हुन जान्छ । यसले पर्यटन क्षेत्रमा रोजगारीको वातावरण सिर्जना गर्ने, पर्यटन व्यवसायीहरूलाई सहयोग हुने र पर्यटकीय गन्तव्यको अन्य स्थानीय व्यापारव्यवसाय पनि बढ्न जान्छ । यसले सरकारलाई ठूलो आर्थिक भार पनि पार्दैन साथै सबैभन्दा ठूलो कुरा दुईवर्ष पछिको समयमा विदेशी पर्यटकहरूको लागि बलियो जग खडा हुन जान्छ ।

त्यसकारण सम्पूर्ण पर्यटन व्यवसायीहरूले यो विषयमा सम्बन्धित निकायहरूमा समन्वय एवं दबाब सिर्जना गरेर भएपनि यस्ता प्रकारका आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने नियमहरूलाई यथाशीघ्र लागु गराउनुपर्ने देखिन्छ । (लेखक वास्तुविज्ञ हुन् ।)           

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment