+
+
Shares

नेकपामा माउसुली फुत्कियो, पुच्छर हल्लिँदैछ !

अरुण बराल अरुण बराल
२०७७ वैशाख २३ गते १४:३५

माउसुली (भित्ती) को पुच्छर चुँडिएर भुइँमा खस्यो भने केहीबेर जोडले हल्लिन थाल्छ । माउसुली फुत्किएर टाढा पुगिसकेको हुन्छ । छिनेको पुच्छरचाहिँ जिउँदैछु जस्तो गरी फिरफिर-फिरफिर गर्छ ।

अहिले सत्तारुढ नेकपाभित्रको परिदृश्य यस्तै प्रतीत हुन्छ। माउसुली फुत्किएर सुरक्षित ठाउँमा पुगिसक्यो, पुच्छरचाहिँ हल्लिन छाडेको छैन ।

सन्दर्भ हो– प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मालोचना र सांसद महेश बस्नेतहरूको गतिविधि। यो विषय हेर्दा सामान्य लाग्छ तर त्यस्तो सामान्य होइन ।

प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा आत्मालोचना गरिसकेपछि अब परिघटनाका सहउत्पादकहरू सर्वेन्द्र खनाल, महेश बस्नेत र कृष्ण (किसान) श्रेष्ठले आत्मालोचना गर्नुपर्छ कि पर्दैन ? समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई ‘उद्धार गर्न’ मधेस झर्ने पूर्वआईजीपी र सांसदद्वयको कार्य उचित नै थियो त ? इतिहासले यो प्रश्न सधैं सोधिरहनेछ ।

अर्काको पार्टी फुटाउन मतियार बनेर भौतिक सहयोग गर्नु अनैतिक कार्य हो । कसैको राजीखुशीमै गरिएको हो भन्दैमा अनैतिक कामले समाजमा मान्यता पाउन सक्दैन

सांसद यादवलाई सर्वेन्द्र, महेश र किसानले अपहरण गरेका हुन् या होइनन् ? यो प्रश्नलाई छाडिदियौं । उनीहरूले दाबी गरेझैं यादवलाई लकडाउनका बेला उद्धार गरेरै काठमाडौं ल्याइएको मान्ने हो भने पनि सर्वेन्द्र–महेश गठबन्धनले राम्रो र गतिलो काम गयो भनेर लोकले मानेको छैन । लोकको डर छ भने सामाजिक सञ्जालका प्रतिक्रिया पूर्वआइजीपी र सांसदद्वयले पक्कै पनि हेरेकै हुनुपर्छ ।

सरकारले समाजवादी पार्टी फुटाउन जुन अध्यादेश ल्याएको थियो, त्यो सच्याइसकेको छ । यसको अर्थ अध्यादेश ल्याइनु गल्ती भएको सरकारले स्वीकारोक्ति हो । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आत्मालोचना नै गरिसकेका छन् । र, त्यही दिनदेखि नेकपाभित्रको विवाद साम्य हुने दिशातिर अघि बढिसकेको छ ।

जब अध्यादेश ल्याउनु नै गल्ती थियो र अर्काको पार्टी फुटाउन खोज्नु गल्ती थियो भनेर प्रधानमन्त्रीले आत्मालोचना गरिसके, अब सांसद यादवलाई मधेसबाट काठमाडौं ल्याउन सघाउनु पनि गल्ती नै थियो भन्ने पुष्टि गर्न अर्को कुनै तथ्यको आवश्यकता पर्दैन ।

सरकारले जनतालाई ‘घरमै बसौं’ भनिरहेका बेला सत्ताधारी सांसदहरुले पूर्वआईजीपीको सहयोगमा यादवलाई राजीखुशीले नै काठमाडौं ल्याउनु पनि गल्ती नै थियो । प्रधानमन्त्रीले नै यसमा गल्ती स्वीकारिसकेपछि अब पूर्वआइजीपी र सांसदद्वयले गल्ती गरेका थिएनन् भन्ने ठाउँ नै रहेन ।

सांसद सुरेन्द्र यादवलाई लकडाउनका बेला मधेसबाट रातारात काठमाडौं ल्याइएको घटनाले पूर्वआईजीपी सर्वेन्द्र खनालको संगत को-कोसँग रहेछ भन्ने उजागर गरिदिएको छ । उनी आईजीपी हुँदा कोबाट परिचाललित भएछन् भन्ने प्रश्न पनि उठेको छ ।

कम उमेरमै आइजीपी बनेर ख्याती कमाएका खनालले यो घटनापछि आफ्ना धेरै शुभेच्छुकहरुको विश्वास गुमाएका छन् । अब यो विश्वास मानवअधिकार आयोग वा कुनै निकायमा उजुर–बाजुर गरेर फर्कन सक्दैन । यो कानूनी विषय नभएर नैतिकतासँग जोडिएको विषय भएकाले कानूनी उपचार खोजेर गुमेको इज्जत फर्कन्न । यसको नैतिक उपचार खोज्नुपर्छ ।

युवा संघका पूर्वअध्यक्ष एवं नेकपाका बहालवाला सांसद महेश बस्नेतको विगत सर्वेन्द्र खनालको जस्तो सहज र सेलीब्रेटी प्रकारको होइन । उनलाई डनसँग नजिक रहेको आरोपले सताउने गरेको थियो । त्यो आरोपबाट बस्नेतले आफूलाई विस्तारै सुधार्दै र राजनीतिकरण गर्दै ल्याएका थिए । बाहिर जे–जस्तो आरोप लागे पनि उनी राजनीतिक सुझबुझ भएकै युवा मानिन्थे ।

भक्तपुरका रैथाने महेश कलिलै उमेरमा गाउँपालिका अध्यक्ष हुँदै राजनीतिमा आएका हुन् । कम उमेरमै मन्त्रीसमेत बन्ने भाग्य अजमाएका उनी नेकपाभित्र क्षमता र सम्भावनै नभएका नेता होइनन् । तर, यो घटनाले बस्नेतलाई ठूलो राजनीतिक क्षति पुगेको छ ।

सांसद बस्नेतले अब यो राजनीतिक क्षतीलाई कानूनी उपचारबाट परिपूरण गर्ने सम्भावना छैन । राजनीतिकरुपले नै बस्नेतले यसको परिपूरण गर्नुपर्ने हुन्छ । अरु कसैका कारणले होइन, आफ्नै कारणले फसेको हुँ भन्ने सांसद बस्नेतले आत्मसात गर्नुपर्छ ।

अर्का सांसद कृष्णकुमार (किसान) श्रेष्ठ तनहुँमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएर सांसद बनेका अर्का भाग्यमानी हुन् । ज्यान र गतिविधि दुबै हेर्दा उनलाई खान नपुग्ने र गलत धन्दातिर लाग्नुपर्ने केही थिएन । दाम र नाम दुबै थियो । आफ्नो पार्टी अधिक बहुमतमै थियो, अरु पार्टीका किथ्रा टिपेर हिँड्नुपर्ने कुनै राष्ट्रिय आवश्यकता पनि थिएन । तर, श्रेष्ठले नदुखेको टाउकोमा डोरी लगाएर आफ्नो इज्जत रसातलमा पुर्‍याए ।

श्रेष्ठले आफ्नो गुमेको इज्जत बचाउन अब कुतर्कको बैशाखी काम लाग्दैन । उनले पनि आत्मालोचना नै गर्नुपर्छ प्रधानमन्त्री केपी ओलीले जस्तै । आफूले गतिलो काम गरेको हुँ भन्दै वकिली तर्क गर्न छाडेर आफ्ना मतदातासमक्ष गएर श्रेष्ठले आइन्दा यस्तो गल्ती गदिनँ भनी माफी माग्नुको विकल्प देखिँदैन । उनले आफ्नो राजनीतिक भविश्यलाई अलि परसम्म हेर्ने हो भने संसदमै उभिएर माफी मागे भने राम्रो हुने देखिन्छ ।

राजनीति र कानूनको भेद

राजनीतिमा तर्कहरु दुई किसिमका हुन्छन्– एउटा कानूनी, अर्को राजनैतिक (नैतिक) । कानूनी हिसाबले तर्क गर्दा बस्नेत, खनाल र श्रेष्ठले सुरेन्द्र यादवलाई अपहरण नगरेको, राजीखुशीमै काठमाडौं ल्याएको सिद्ध हुन सक्ला । तर, यो सिद्धिले उनीहरुमाथि उठेको राजनैतिक/नैतिक प्रश्न हल हुँदैन ।

एकछिनलाई मानौं, समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले सहयोग मागेपछि महेश बस्नेत, सर्वेन्द्र खनाल र किसान श्रेष्ठ महोत्तरीमा गाडी लिएर सांसद यादवको उद्धारका लागि गएका हुन् । यहाँ राजनीतिक प्रश्न उठ्छ, उमाशंकरसँग नेकपा सांसदको साँठगाँठको राज के हो ?

उमाशंकर तिनै व्यक्ति हुन्, जसले धनुषामा नेकपाका पुराना नेता रामचन्द्र झालाई चुनाव हराएका थिए । झाले ओली गुटको मिलेमतोमा आफूमाथि अन्तरघात भएको आरोप लगाउँदै आएका छन् । अहिले महेश बस्नेत र किसान श्रेष्ठका लागि आफ्नै पार्टीका पुराना योद्धा रामचन्द्र झा साथी भएनन् । कांग्रेस पृष्ठभूमिबाट समाजवादी पार्टीमा लागेका अरगरियाचाहिँ कसरी यति घनिष्ट मित्र बन्न पुगे ? के रामचन्द्र झाले ओली समूहमाथि लगाउँदै आएको अन्तरघातको आरोप साँचो हो ?

कोरोना महामारी र लकडाउनका कसैले सामान्य आग्रह गर्दैमा कोही पनि सज्जन व्यक्ति यति लामो यात्रामा गाडी लिएर निस्कँदैन । यसबाट अररियासँगको महेश बस्नेतको उठबस सामान्य सांसदहरुवीचको मित्रता मात्रै नभएर अपवित्र गठबन्धन नै हो भनेर शंका गर्ने ठाउँ देखिन्छ । तर, यसको जवाफ कुनै कानूनी उपचार वा वकिली तर्कबाट पूर्ण हुँदैन । यो राजनैतिक/नैतिक प्रश्न हो ।

उदेकलाग्दो के छ भने ‘हाँसको बथानमा बकुल्लो’ भनेजस्तो सांसदहरुको बथानमा पूर्वआइजीपी खनाल कसरी मिसिए ? सर्वेन्द्र खनाललाई के नपुग्दो थियो र सत्ताका खेलाडीहरुको संगतमा यसरी हात धोएर लाग्नुपर्‍यो ? दुनियाँ आश्चर्यचकित भएको छ । अझ अहिले पनि खनाल उनीहरुकै पछिपछि दौडिएको देख्दा दुनियाँ लजवन्ती झारजस्तै लजाएको छ ।

भनिन्छ, मानिसलाई कसैले एकचोटि मूर्ख बनाउन सक्छ । तर, पटक–पटक होइन ।

अर्काको पार्टी फुटाउन खोज्नु, त्यसमा मतियार बनेर नैतिक/भौतिक सहयोग गर्नु, मान्छे ओसारेर होटलमा राख्न सघाउनुजस्तो कार्य आपत्तिजनक, अनैतिक हो । राजनीतिक संस्कारविपरीत कार्य हो । कसैको राजीखुशीमै गरिएको हो भन्दैमा अनैतिक कामले समाजमा मान्यता पाउन सक्दैन ।

राजनीतिक/नैतिक समाधान

थप जटिल नबनाउने हो भने अब यो प्रकरणको समाधान सजिलै छ । यसका लागि अदालत जानै पर्दैन । कुनै पनि निकायमा उजुर–बाजुर गर्न दौडनु पनि पर्दैन । कुनै निकायबाट खनाल–बस्नेतकै पक्षमा फैसला आए पनि जनताको फैसला त्यो भन्दा ठूलो हुन्छ ।

अब तीनैजनाले, वा एक्लाएक्लै पत्रकार सम्मेलन गरेर वा प्रेस विज्ञप्ति जारी गरेर हामीले कमजोरी गर्‍यौं, जनतासँग आत्मालोचना गर्छौं भन्न सक्नुपर्छ ।

अझ उच्च राजनीतिक संस्कार देखाउने हो भने संसद अधिवेशन सुरु नहुँदै डा. सुरेन्द्र यादव, बाबुराम भट्टराई लगायत समाजवादी पाटीृका नेताहरुलाई समेत सँगै राखेर सांसद बस्नेत र श्रेष्ठले पत्रकार सम्मेलन गर्नु राम्रो हुन्छ ।

यादवलाई अपहरण गरिएको थिएन, तर पार्टी फोर्ने कार्यमा यसरी साथ दिनु गल्ती भयो भनेर दुबै सांसदले भन्ने हो भने यो प्रकरणबाट पुगेको राजनीतिक/नैतिक क्षतिको परिपूरण हुन थाल्नेछ र यो प्रश्न इतिहासले दोहोर्‍याएर सोध्ने छैन ।

गैरराजनीतिक व्यक्तित्व सर्वेन्द्र खनालमाथि त झनै सत्तारुढ नेताहरुको साँठगाँठले थप प्रश्न उब्जाएको छ । प्रहरी संगठनभित्रको उनको निश्पक्षतामाथि नै प्रश्न उठेको छ । उनको स्वच्छ छवि धूमिल बनेको छ । सिंगै प्रहरी संगठनको नूर गिरेको छ । यस्तोबेलामा उनी अझै महेश बस्नेतहरुकै सल्लाह अनुसार चल्छन् या लोकको स्पन्दन सुन्छन् ? खनालले पनि प्रहरीप्रति जनताको विश्वास क्षय हुन नदिनका लागि सार्वजनिकरुमा आत्मालोचना गर्नुको अर्को विकल्प देखिँदैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै आत्मालोचना गरिसकेका छन् । अब पुच्छरमात्रै कति दिन हल्लिएला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?