Comments Add Comment

कोरोनाबाट जोगिन संसदको पूर्वतयारी

२५ वैशाख, काठमाडौं । शुक्रबारबाट संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) सुरु हुँदै छ । यस वर्षको बजेट अधिवेशनमा अघिल्ला वर्षको भन्दा नितान्त फरक दृष्य छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सांसदहरुको आसनदेखि स्वास्थ्य परीक्षणका कारण सांसद, कर्मचारी, पत्रकार सबैलाई फरक अनुभव छ । जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरुलाई कोरोना संक्रमण भए–नभएको एकिन गरेर मात्र संसद भवनमा प्रवेश गर्न पाउने छन् ।

बिहीबार नै प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको स्वाबको नमूना संकलन गरिएको छ । सांसदहरुको नमूना लिइसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारहरुको पनि स्वास्थ्य परीक्षण गर्ने योजना छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले हाउसमा सबै जिल्लाबाट आएका सांसदहरु हुने भएकाले सबैको स्वाब परीक्षण आवश्यक रहेको बताए ।

शुक्रबार अपराह्न चार बजे प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने छ, तर आज संकलन गरिएको स्वाबको रिपोर्ट कहिले आउँछ भन्ने खुलिसकेको छैन ।

यद्यपि संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने एकै दिनमा सबैको टेष्ट गरिसक्ने बताउँछन् ।

प्रधानमन्त्रीको आसन छुट्टै

बैठक कक्षमा सामाजिक दुरी कायम गरेर बस्ने ब्यवस्था मिलाइएको छ । प्रधानमन्त्रीलाई अलग्गै राखिने छ ।

हालै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै उनको आसन नजिकका कुर्सी खाली राख्ने व्यवस्था मिलाइएको हो । सरकारको बेन्चको पहिलो र दोस्रो लाइन खालि हुनेछन् ।

संसद भवनभित्र रहेको प्रधानमन्त्रीको कार्यकक्षमा प्रधानमन्त्री रहेको बेला ६ जनाभन्दा धेरै व्यक्ति भित्र पस्न पाउने छैनन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहसहितको टोलीको सुझावको आधारमा सो व्यवस्था गरिएको हो ।

सांसदहरुलाई दुई–दुई कुर्सी छाडेर राखिनेछ । सांसदहरुलाई छलफलमा भाग लिँदा ड्यासमा जानुपर्ने बाध्यता हट्ने छ । शून्य समयमा र विशेष समयमा जस्तै सांसदहरुले आफू बसेकै ठाउँमा रहेर बोल्नेछन् ।

बालकोनीमा पनि सांसद

बैठक कक्षका हरेक कुर्सीहरुलाई सफा गरेर डिसइन्फेक्टेड गरिएको छ । अधिवेशन सुरु हुनुअघि नयाँ बानेश्‍वरस्थित अन्तराष्ट्रिय सम्‍मेलन केन्द्रलाई सजाइएको छ । बैठक कक्षहरु चिरिच्याट्ट बनाइएका छन् ।

सरकारको नीति तथा कार्यक्रम पेश गर्ने बेला र बजेट भाषणको बेला राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक बस्छ । संयुक्त बैठक बस्दा सांसदहरु बालकोनीमा पनि हुने छन् । अघिल्ला वर्षहरुमा बालकोनीमा कूटनीतिज्ञहरु र अन्य आगन्तुकहरुलाई राखिन्थ्यो ।

संसद भवन छिर्नेहरुलाई सर्जिकल मास्कको प्रयोग अनिवार्य गरिएको छ । संसद भवन प्रवेश गर्ने वित्तिकै सबैले अनिवार्य रुपमा साबुनपानीले हात धुनुपर्ने हुन्छ भने शरीरको तापक्रम पनि जाँचिने छ ।

संसद सचिवालयका अनुसार एक सय डिग्रीभन्दा बढी तापक्रम देखिएकाहरु बैठक कक्षमा प्रवेश पाउने छैनन् । कोरोना संक्रमणको आशंका भएकालाई संसद भवनमै रहेको आइसोलेसन वार्डमा राखिनेछ र नजिकको अस्पतालमा पठाइनेछ ।

संसद भवनभित्र सांसदहरुले बोल्दासमेत ख्याल गर्नु पर्नेछ । एक जना सांसदले बोलिसकेपछि माइकलाई स्यानिटाइज गरेर मात्रै अर्को सांसदले समात्नुपर्ने हुन्छ । सभाहलका हरेक टेबुलमा स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment