
२६ वैशाख, काठमाडौं । संघीय संसदका ५४ जना सांसद कोरोना परीक्षणका लागि स्वाब संकलनमा छुटेका छन् ।
संसद सचिवालयले नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बिहीबार र शुक्रबार स्वाब संकलनको व्यवस्था मिलाएको थियो । जसमा । जसमा २७५ सांसद सहभागी भए भने ५४ जना छुटे ।
संघीय संसदको प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् । जसमध्ये प्रतिनिधिसभाका ४ सांसद विजयकुमार गच्छदार, रेशम चौधरी, मोहम्मद अस्ताब आलम र हरिनारायण रौनियार निलम्बित छन् ।
राष्ट्रियसभाका ५९ मध्ये राष्ट्रपतिले नियुक्त गर्ने एक पदक खाली छ ।
छुटेका सांसदहरु हाल काठमाडौं उपत्यकामा नरहेका र उनीहरुले अब आफैं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गई कोरोना परीक्षण गर्नुपर्नेछ ।
‘काठमाडौं नरहनुभएका छुट्नुभएको छ । उहाँहरुले टेकु गएर परीक्षण गराएर रिपोर्ट लिएपछि मात्रै संसद बैठकमा सहभागिता जनाउन सक्नुहुनेछ’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने ।
प्रतिनिधिसभा तर्फ बिहीबार १७९ र शुक्रबार ५३ गरी २३२ जनाको स्वाब संकलन भएको छ । राष्ट्रियसभा तर्फ बिहीबार ३३ र शुक्रबार १० गरी ४३ जनाको स्वाब संकलन गरिएको छ ।
६९२ जनाको स्वाब संकलन
सांसद, कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मीको समेत स्वाब संकलन गरिएको छ । कुल ६९२ जनाको स्वाब संकलन भएको सचिवालयले जनाएको छ । संकलित स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।
सबैको रिपोर्ट दिउँसो ३ बजेसम्म आउने गरी व्यवस्था मिलाउन आग्रह गरिएको संसद सचिवालयले जनाएको छ । मध्यान्ह ४ बजे संघीय संसदको दुबै सदनको बैठक हुँदैछ ।
बैठक कक्षमा प्रवेश गर्नेहरुले अनिवार्य रुपमा आफूलाई कोरोना संक्रमण नभएको रिपोर्ट देखाउनुपर्ने हुन्छ । अन्यथा प्रवेश दिइने छैन ।
प्रतिक्रिया 4