
२८ वैशाख, काठमाडौं । प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका चार जना चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।
काठमाडौँंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि चार जनालाई हिरासतमा राख्न अनुमति दिएका हुन् ।
मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा शुक्रबार उनीहरुले प्रहरीलाई कुटपिट गरेका थिए । पैसा सकिएर नेपालमा बस्न नसक्ने स्थिति भएका बताउँदै उनीहरुले स्वदेश फिर्तीको माग गरेका थिए ।
कोभिड–१९ नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेका वेला ४७ जना चिनियाँ नागरिक जम्मा भएपछि प्रहरीले भिडलाई तितरवितर पार्न खोजेको थियो ।
तर, उनीहरुले महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेत र अर्की एक जना महिला प्रहरीलाई कुटपिट गरेर घाइते बनाएका थिए ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले चिनियाँ नागरिकलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धान थालिएको अनलाइनखबरलाई बताए । उनका अनुसार कुटपिटमा प्रत्यक्ष संलग्न बाहेक अन्य साधारण तारेखमा छुटेका छन् ।
प्रतिक्रिया 4