Comments Add Comment

विनोद चौधरीले भने-दुहुनो गाई बिरामी छ, उपचार गर्न सरकार नडराओस्

२९ वैशाख, काठमाडौ । अर्बपति उद्योगी तथा सांसद विनोद चौधरीले कोरोनाका कारण निजी क्षेत्रसहित समग्र अर्थतन्त्र बिरामी भएको बताएका छन् । उनले सांकेतिक रुपमा निजी क्षेत्रलाई गोठको दुहुनो गाईको रुपमा व्याख्या गरे ।

सांसदमा बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिँदै भने,’अहिले गोठको लैनो गाई बिरामी छ । उपचार भएन भने भोलि बिहान-बेलुका दूध दुहुन पाइँदैन,’ उनले भने,’यसको उपचार गर्न खर्च लाग्छ भनेर डराउन हुँदैन, नत्र त्यो मर्छ । ‘

उनले सरकारले समस्यमा परेकालाई नसघाए आर्थिक समस्या झनै बिकराल हुने बताए । राष्ट्रिय ढुकुटीमा योगदान पुर्‍याउनेलाई लक्षित गरी अब कुल गार्हस्थ उत्पादन (जीडीपी)को पाँच देखि १० प्रतिशतसम्मको राहतको प्याकेज ल्याउनुपर्ने बताए ।

चौधरीले यो साझा समस्या भएकाले निजी क्षेत्रलाई जति निमोठेपनि हुन्छ भन्ने मानसकिताले नहुने बताए । यस्तै निजी क्षेत्रले पनि सबै काम सरकारले गर्छ भन्ने सोच्न नहुने उनको भनाइ छ ।

‘अर्थतन्त्रलाई खराब अवस्थाबाट जोगाउन विभिन्न देशहरूले प्रभावकारी कदमहरू चालेका छन्,’ उनले भने,’बंगलादेशले ८ अर्ब डलर, युएईले २७ अर्ब डलर, दक्षिण कोरियाले १० अर्ब डलर, इन्डोनेसियाले ८ अर्ब डलरको आर्थिक प्याकेज कार्यान्यवनमा ल्याइसकेको छ । अमेरिका, चीन, भारत र जापानजस्ता देशले जीडीपीको १० प्रतिशतसम्म आर्थिक प्याकेजमार्फत् आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउँदै छन् ।’

यो समस्या कहिलेसम्म लम्बिन्छ भन्ने कुरा पनि थाहा नभएको भन्दै उनले अब अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउन प्रयत्न गर्नुपर्ने पनि बताए ।

नेपालमा पर्यटन, औद्योगिक उत्पादन, रेमिट्यान्स निकै खराब अवस्थामा पुगिसकेको भन्दै चौधरीले निर्माण, थोक तथा खुद्रा व्यापार, कृषि क्षेत्रसँगै बैंकिङ क्षेत्र पनि प्रतिकुल अवस्थामा पुगेको उल्लेख गरे ।

‘जलविद्युत, सिमेन्टजस्ता वृहत् लगानीका परियोजना निर्माणमा ढिलाइ हुँदैछ । निर्माण सामग्रीको उपलब्धता प्राय: शून्य भएकाले मुलुकले ठूलो र दूरगामी मूल्य चुकाउनुपर्ने अवस्था प्रष्ट देखिएको छ,’ उनले भने ।

साना तथा मझौला उद्योगको लागि राहतको प्याकेज ल्याउँदा राष्ट्रिय अर्थतन्त्रको वृद्धि हुने भन्दै चौधरीले सरकारले निजी क्षेत्रलाई भरथेग गर्नको लागि राहतको प्याकेज नमागिएको बताए ।

चौधरीले १-२ प्रतिशत ब्याज सहुलियत दिँदैमा कुनै अर्थ नहुने भन्दै समस्या समाधान हुनेगरी उद्योग र व्यवसायमा तरलताको प्रवाह यसरी गर्नुपर्ने औंल्याए । बेलायतले निजी क्षेत्रका उद्योग र व्यवसायमा काम गर्ने कर्मचारीको ८० प्रतिशत सरकारले व्यहोर्ने निर्णय गरेको भन्दै चौधरीले नेपालले पनि त्यस्ता विषयमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

वर्षेनी पाँच लाख नयाँ मानिसहरू श्रम बजारमा आइरहेको र वैदेशिक रोजगारी गुमाएर फर्किनेहरू पनि बढ्ने भन्दै उद्योगपति चौधरीले रोजगारीको समस्या बिकराल हुन नदिन कृषि क्षेत्रमा नयाँ प्रयोग गर्नुपर्ने बताए ।

‘भारत र चीनसँगको खुल्ला आयातसँग प्रतिस्पर्धा गर्न सक्नेगरी काम गर्नुपर्छ,’ उनले भने । सांसद चौधरीले सरकारले अलोकप्रिय भएर पनि अर्थतन्त्रमा दूरमागी प्रभाव पार्ने निर्णयहरू लिनुपर्ने उनको भनाइ छ ।

‘खर्च पुनरावलोकन आयोगले १६ वटा मन्त्रालय र ३२ विभागबाट कामहरू गर्न सकिन्छ । यसबाट चार खर्ब बचत हुने हुन्छ भनिएको छ,’ उनले भने, सरकारी कोषको बोझ भएका सार्वजनिक संस्थालाई विघटन वा निजीकरण गर्नुपर्छ ।’

सामाजिक सुरक्षा कोषमा रहेको अर्बौं रकम त्यसलाई श्रमिकको हितमा प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment