Comments Add Comment

महामारीमा राजनीति गर्दा संकटमा ब्राजिलियनको जीवन

३१ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट दक्षिणी गोलार्धमा सबैभन्दा प्रभावित बनेको मुलुक ब्राजिल हो । अहिलेसम्म एक लाख ७७ हजारभन्दा बढी संक्रमित देखिइसकेका छन्, जसमध्ये अहिलेसम्म १२ हजार चार सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।

मंगलबार सार्वजनिक गरिएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी आठ सय ८१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

तर, ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो महामारीलाई बेवास्ता गर्दै आइरहेका छन् । कोरोना भाइरस सामान्य फ्लु भएको तर यसलाई अनावश्यक रुपमा ठूलो बनाइएको उनको दाबी छ ।

सरकारी अधिकारीहरू भने कोरोना महामारीको जोखिम कायम रहेको बताउने गरेका छन् । विभिन्न राज्य र स्थानीय तहले आफ्ना नागरिकहरूलाई घरमै बस्ने निर्देशन दिएका छन् । तर, राष्ट्रपति बोल्सोनारोले त्यसको पनि आलोचना गर्दै आएका छन् ।

कोरोना भाइरस नियन्त्रणका विषयमा कुरा नमिल्दा उनले स्वास्थ्यमन्त्रीलाई हटाएका थिए । त्यसलगतै ब्राजिल दक्षिण अमेरिकामा कोरोना भाइरसको नयाँ केन्द्रबिन्दु बन्न पुग्यो ।

विशेषज्ञहरूले पर्याप्त परीक्षण नभएकाले संक्रमित अझै बढी हुन सक्ने चेतावनी दिएका छन् ।

हार्वर्ड युनिभर्सिटीका प्राध्यापक सिड्ने चालहोउब यस्तो राजनीतिक विभाजनमा महामारीले ठूलो रुप लिन सक्ने बताउँछन् । उनी १९औं शताब्दीको अन्तिममा फैलिएको हैजाको महामारीलाई उदाहरण दिन्छन् । त्यतिबेला जर्मनीको ह्यामवर्गमा राजनीतिक विभाजनको कारण १० हजार मानिसको मृत्यु भएको थियो ।

राष्ट्रपति एकातिर, जनता अर्कोतिर

बोल्सोनारोका समर्थकले पछिल्लो केही सातायता लकडाउनविरुद्ध प्रदर्शन समेत गर्दै आएका छन् । यस्तोमा केही प्रदर्शनमा राष्ट्रपति आफैँ पनि सहभागी भएका छन् । मास्क नलगाउने तथा सडकमा मानिसहरूसँग हात मिलाउँदै भड्किलो अभिव्यक्ति दिने गरेका छन् ।

पछिल्लो समय आन्दोलन हिंसात्मक बन्न थालेको छ र आन्दोलनकारीहरू पत्रकार र नर्सहरूविरुद्ध खनिएका छन् ।

ब्राजिलका ६७ प्रतिशत नागरिक भने कोरोना भाइरस नियन्त्रणका लागि घरमै बस्ने मापदण्ड आवश्यक रहेको मान्ने गरेको डेटाफोल्हा इन्स्टिच्युटले गरेको सर्वेक्षणले देखाएको छ ।

तर, ब्राजिलको बहस बरालिएको छ । महामारी नियन्त्रण मात्र होइन, केही राज्यले लगाएको लकडाउनको निर्णयलाई लिएर प्रजातन्त्र र अधिनायकवादको बहस पनि भइरहेको छ । यसले ब्राजिलका जनताको स्वास्थ्यमा ठूलो संकट आउन सक्ने आशंका बढेको छ ।

राजनीतिक विभाजनकै कारण लकडाउन पालना हुन सकेको छैन । त्यसमाथि राष्ट्रपति स्वयंले ब्युटीपार्लर, जिमलाई पनि आवश्यक सेवा भन्दै खोल्न निर्देशन दिएका छन् ।

१० राज्यले राष्ट्रपतिले दिएको निर्देशन नमान्ने बताएका छन् भने बोल्सोनारोल आफ्नो निर्देशन नमान्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । यस्तो राजनीतिक विभाजनले ब्राजिलमा कोरोनाको महामारीले ठूलो रुप लिनसक्ने त्रास बढेको छ ।

स्रोत : एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment