Comments Add Comment

विद्यालयमा भर्चुअल कक्षा, एक अभिभावकको अनुभव

कोरोनाको महामारी नहुँदो हो त यतिखेर विद्यालयका विद्यार्थीहरु नयाँ उमंगका साथ नयाँ कक्षामा रमाउन सुरु गरिसकेका हुुने थिए । कोरोनाको कहरसँगै अपवादका रुपमा केही देशमा बाहेक संसारका सबै शैक्षिक संस्था बन्द छन् । नेपाल पनि यही अवस्थाबाट गुजि्ररहेको छ ।

लकडाउनसँगै बालबालिकाहरु बन्द कोठाभित्रै रमाउन बाध्य भएका छन् । कति बालबालिकाहरु मानसिकरुपमा विचलित भएका छन् । अहिलेको अवस्थामा नेपाल सरकारले शैक्षिक संस्थाहरु अन्तिम चरणमा मात्र खोल्न पाउने जानकारी दिइसकेको छ ।

काठमाडौंलगायत अन्य ठूला सहरहरुमा विभिन्न शैक्षिक संस्थाहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेको खबर विभिन्न पत्रपत्रिका तथा मिडियामा आइरहेको छ ।

विभिन्न शिक्षा विज्ञ तथा सरकारी उपल्लो अधिकारीहरुले अनलाइन कक्षा सञ्चालन नेपालमा प्रभावकारी हुँदैन भनी कक्षा सञ्चालन नगर्न सुुझाइरहेका बेलामा मलाई यसको सकारात्मक पक्षबारे आफ्नो अनुभव राख्न मन लागेको छ । यसबाट अभिभावक, विद्यार्थी तथा विद्यालयहरुलाई प्रोत्साहन हुन्छ कि भन्ने धारणा छ । साथै यसबारे पूर्वाधार विकास गर्नुपर्छ भन्ने बहस तथा यससम्बन्धी कार्य सुरु गर्ने सोच विकास गर्नका लागि म मत राख्न चाहान्छु ।

म, यही बैशाखबाट कक्षा चार सुरु गर्नुपर्ने विद्यार्थीको अभिभावक हुँ । मेरो बच्चालाई घरमा बस्दा-बस्दा एकोहोरोपनले गाँजिरहेको थियो । मानसिकरुपमा विचलित भइरहेको पाएको थिएँ । साथी, विद्यालय, शिक्षक, शिक्षिकाको यादले सताइरहेको पाएको थिएँ ।

हाम्रो शिक्षा प्रणालीले बच्चाहरुलाई विद्यालय नगएसम्म तथा शिक्षकले नपढाएसम्म पढ्ने बानी नै नरहने अवस्था छ । अहिलेको शिक्षा प्रणलीमा अभिभावक सहयोगी मात्र बन्न सकेका छन् । प्रयास गर्दागर्दै पनि घरेलु शिक्षक बन्न सकेका छैनन् ।

मेरो बच्चाको अनलाइन कक्षा सञ्चालन हुन्छ भन्दा मलाई पनि यसको प्रभावकारिता तथा विद्यार्थीको सिकाइका बारेमा प्रश्न उठेको थियो । बच्चाले पनि सुरु-सुरुमा झञ्झट महसुस गरेको थियो । तर, अहिले तीनहप्ताको दौरानमा बच्चा यस प्रणालीमा अभ्यस्त भइसकेको छ ।

यसले सिकाइसँगै अन्य कुरामा पनि सहयोग गरेको छ । कम्प्यूटर चलाउने सीप, समयको परिपालना, अनुहार साथाीहरुलाई देखाउनु पर्छ भनेर नियमित कपाल कोर्ने तथा व्यक्तिगत सरसफाइ गर्ने, गृहकार्य समयमा गर्ने बानी तथा व्यस्तताले बच्चालाई कोरोना तथा लकडाउन बाहेक फरक कुरा सोच्न थालेको छ । यसले बच्चाको मानसिक स्वस्थता राख्न मद्दत पुगेको छ । आफ्नो नयाँ शिक्षक तथा शिक्षिकासँग साक्षात्कार गर्न पाएका छन् भने आफ्ना साथीहरुको अनुहार देखेर खुसी हुन पाएका छन्, जसले भावनात्मक सम्बन्धको विकास गरेको छ ।

लकडाउनपछि खाली टेलिभिजन तथा मोवाइलको लत बसेको बच्चाको अनलाइन कक्षा सञ्चालनपछि पढ्ने बानी बसेको छ साथै अन्य किताबहरु हेर्न थालेको छ । मैले अनलाइन कक्षालाई यस समयमा वौद्धिक विकाससँगै बच्चाको एक्लोपन हटाउन थेरापीको रुपमा लिएकी छु ।

शिक्षकहरुले धैरै मानसिक दबाब नदिई पढाउने शैलीले पनि विद्यार्थीलाई अनलाइन कक्षाप्रति आकर्षित गरिरहेको छ ।
काठमाडौंलगायत ठूला सहरका बालबालिका लकडाउनले धेरै प्रभावित छन् । किनकि धेरैजसो बालबालिका २/३ आनामा बनेको बन्द घरतथा बन्द कोठामा सबै समय व्यतीत गर्नुपर्ने अवस्थामा छन् । त्यसैले मोवाइल तथा इन्टरनेट पहुँच भएको ठाउँमा यस्ता अनलाइन कक्षाले बच्चाको बौद्धिक विकास तथा मानसिक स्वास्थ्यलाई सहयोग पुग्ने देखिन्छ ।

यसमा कुरा आउला इन्टरनेट पहुँच नहुने तथा गर्न नसक्ने अवस्थामा के गर्ने त ? तर, हाम्रो ६२ प्रतिशत नागरिकसँग स्मार्ट फोन रहेको आँकडा छ । मोवाइलमा फेसबुक तथा टिकटकलाई मोबाइल डाटा प्रयोग गर्न सक्ने अभिभावक तथा शिक्षक शिक्षिकाले उत्पादक कार्यमा लगाउने हो भने नतिजा राम्रो नै निस्किन्छ ।

साथै अहिले इन्टरनेट तथा मोवाइल सेवा प्रदायकहरुले प्रदान गरिरहेको इन्टरनेटको विभिन्न प्याकेजले पनि इन्टरनेटको पहुँचलाई सरल बनाएको छ ।

अस्ति कक्षा चल्दै गर्दा बिजुली गएर इन्टरनेट अवरुद्घ हुँदा मैले २० रुपैयाँमा नेपाल टेलिकमको एकघण्टाको अनलिमिटेड डाटा प्याकेज लिएर कक्षा लिन लगाएँ । यो प्रभावकारी विकल्प सावित थियो ।

त्यसैले विद्यालयहरुले यसरी सस्तोमा अनलाइन कक्षा सञ्चालन गर्दा विद्यार्थीहरुलाई मद्दत नै पुग्ने देखिन्छ ।

अझै कक्षामा कोरोनासम्बन्धी सचेतनासमेत गर्न सकिएमा विद्यार्थीहरुले अझै त्यसको पालना राम्रोसँग गर्न सक्छन् । कक्षा छोटो लिने तथा गृहकार्यमा बढी समय संलग्न गराउने विधिले विद्यार्थीहरुलाई अझै प्रोत्साहन हुनेछ ।

सहरमा रहेर आर्थिकरुपमा सवल नभएका कारण इन्टरनेटको पहुँच तथा प्रविधिमा अभ्यस्त हुन नसकेको समुदायलाई सरकार तथा सेवाप्रदायकको सहयोगमा पहुँच तथा प्रविधि पुर्‍याउन सकिन्छ । साथै सम्बन्धित विद्यालयले यसका लागि पहल गर्नुपर्ने देखिन्छ ।

ग्रामीण क्षेत्रमा दुर शिक्षा विधि, जस्तै- रेडियो, टेलिभिजनमार्फत शिक्षा पुर्‍याउन उपयुक्त हुन्छ । अहिले कति टेलिभिजन तथा रेडियोले यस्ता दुर-शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएका छन् त्यसमा सम्बन्धित विद्यालय तथा विद्यार्थी जोड्ने कार्य मात्र बाँकी रहेको छ ।

यसै सन्दर्भमा मैले अमेरिकामा रहेकी एक अफन्त बच्चाको कुरा पनि राख्न चाहान्छु ।

उनी अहिले १३ वर्षकी भइन् । कक्षा ६ मा पढ्दैछिन् । उनले अहिले मात्र हैन, धेरै पहिलादेखि बाबुआमालाई पनि थाहा नदिई अनलाइन कक्षा लिइरहेकी रहिछिन् । त्यसैले सम्भव भएका विद्यालयहरुले यो विधि जोड्न सकेमा घरमै बसेर पढ्न चाहने विद्यार्थी समुहलाई पनि सहयोग हुने देखिन्छ । विद्यालयहरुले कालोपाटी, सेतोपाटीसँगै ई-पाटीको विकास गर्दै लानुपर्ने देखिन्छ ।

महिनौंसम्म विद्यालय बन्द भई विद्यार्थीको पढाइलाई निरन्तरता दिन सकिएन भने देशको आर्थिक तथा सामाजिक विकासमा लामो समयसम्म धक्का पुग्न सक्छ ।

यही यथार्थलाई मध्यनजर गर्दैर् यसबारे अझै बहस गरी सम्भव भएको ठाउँमा अनलाइन कक्षा तथा सम्भव नभएको ठाउँमा अन्य शिक्षण विधिलाई निरन्तरता दिएको खण्डमा यस महामारीको अवस्थामा देश विकासको एक अंगलाई अगाडि बढाउन सकिन्छ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment