Comments Add Comment

गुगलमा हेरेर औषधि खानु उचित होला ?

अहिले लकडाउनको कारण घरबाहिर निस्कने वा औषधि उपचारका लागि बाहिर जाने अवस्था अनुकूल छैन । आपतकालीन अवस्था एवं अत्यावश्यक कामबाहेक घर बाहिर जानु भनेको आफैँलाई जोखिममा पार्नु सरह हो । यस्तो अवस्थामा असहज हुने भनेको सानोतिनो दुःख-बिमारमा हो ।

ज्वरो आयो, खोकी लाग्यो, पखला चल्यो, टाउको दुख्यो भने के गर्ने ? अहिले धेरै सहज छ । इन्टरनेटको सुविधा भएकाहरूले गुगलमा आफ्ना जिज्ञासाहरू सहजै मेटाउन सक्छन् । अतः रोगको लक्षण पहिचान गर्ने र औषधि खाने कुरामा गुगलको भर पर्ने जमात अरू बढी छ ।

आफूलाई के भएको हो ? सोही लक्षणअनुसार आफ्नो समस्या पहिल्याउने । अतः त्यसको औषधि के हुन सक्छ भनेर गुगलमा खोज्ने प्रवृत्ति बढेको छ । तर, यसरी गुगलको भरपर्नु कति उचित हुन्छ ?

रोग पहिचानमा गल्ती

टाउको दुख्नु, खोकी लाग्नुलगायतका समस्या थुप्रै रोगका लक्षण हुन सक्छ । त्यसैले, एउटा लक्षणलाई मात्र ध्यानमा राखेर औषधिको सेवन गर्नु स्वास्थ्यका लागि घातक हुन सक्छ । कुनै पनि औषधिको सेवन गर्नुपूर्व त्यसको सतही लक्षण हेर्नुभन्दा त्यसको सही पहिचान गर्न सक्नुपर्छ । त्यसको लागि चिकित्सकसँग परामर्श गर्नु नै उचित हुन्छ। अहिले फोन सम्पर्कबाट पनि चिकित्सकसँग परामर्श लिन सकिन्छ ।

औषधिको दुस्प्रभाव

धेरै प्रयोग हुने औषधि हो, पेनकिलर । टाउको दुख्दा होस् वा पेट । हाम्रो समाजमा पेनकिलरको प्रयोग अत्याधिक मात्रामा हुने गर्छ । यसले पेट सुनिन सक्छ, जसले गर्दा पेटमा अल्सर हुने, पेटभित्र आन्तरिक रक्तस्राव हुनेगर्छ ।  त्यति मात्र हैन, अत्यधिक मात्रामा पेनकिलरको प्रयोगले उच्च रक्तचापको खतरा चार गुणा बढाउने गर्छ ।

त्यस्तै, गर्भावस्थामा महिलाहरुले औषधि खानुअघि विशेष सजगता अपनाउन जरुरी छ । चिकित्सकको सल्लाहविना कुनै पनि औषधिको सेवनले पेटमा रहेको शिशुलाई असर पार्न सक्छ । यो जन्मजात रोगको कारण बन्न सक्छ । त्यसबाहेक, यस्ता पेनकिलरले मृगौलामा समेत असर पार्न सक्ने हुदाँ कुनै पनि पेनकिलर सेवन गर्नुअघि चिकित्सकको सल्लाह अनिवार्य छ ।

औषधि प्रभावहीन

चिकित्सकका अनुसार कुनै पनि आवश्यक्ताविना एन्टिबायोटिक्सको प्रयोग घातक हुन सक्छ ।  यसले शरीरमा विशेष प्रकारको रोग प्रतिरोधी क्षमता बढाउँछ । जसले गर्दा गम्भीर समस्याका बेला उक्त औषधिले सही तरिकाले काम गर्न सक्दैन र त्यस्ता औषधि प्रभावहीन हुने गर्छ । मनपरी ढंगले एन्टिबायोटिकको प्रयोगले शरीरमा प्रतिरोधी क्षमता आउनुले ज्यानै जाने सम्मको खतरा बढ्छ ।

मात्रा कम-बढी हुनु

कुनैपनि औषधि सेवन गर्दा त्यसको मात्रा ख्याल गर्नुपर्छ । खासगरी बिरामीको उमेर, तौल आदि वा रोगको अवस्थाअनुसार औषधिको मात्रा निर्धारण गरिन्छ । तर, आफूले जथाभावी खरिद गर्ने र मनोमानी ढंगले औषधि प्रयोग गर्दा त्यसको मात्रा मिल्दैन । यसले शरीरका अन्य अङ्गहरूमा नराम्रो असर पर्न सक्छ ।

गलत तरिकाले औषधिको सेवन

एउटै औषधि पनि विभिन्न रोगका लागि विभिन्न प्रकारले लिने गरिन्छ । त्यसैले, यस्ता औषधि प्रयोग गर्नुपूर्व यी औषधि कुनकुन प्रयोजनका लागि उपयोग गरिँदैछ भनेर जान्नु निकै आवश्यक छ । किनकि कुनै पनि औषधिको सही तरिकाले उपयोग गर्न नसकेको खण्डमा त्यसको असर कम हुन सक्छ  वा त्यसले स्वास्थ्यमा हानी पुर्‍याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment