Comments Add Comment

शेरबहादुर देउवाका ७ टिप्पणी : लकडाउनमा सरकार आत्म प्रशंसामा रमायो !

महामारी नियन्त्रणको तयारीमा सरकार चुकेको कांग्रेसको ठहर

४ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन पूर्णतः असफल भएको बताएको छ । कांग्रेसले जेठ २ गते संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमले अहिलेको समयको सही विश्लेषण गर्न नसकेको बताएको हो ।

आइतबारदेखि प्रतिनिधिसभा बैठकमा सुरु भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले महामारीको क्षतिको पूर्वानुमान गर्न नसकेको, महामारी नियन्त्रणको तयारी नगरेको, आत्मप्रशंसामा रमाएको जस्ता आरोप लगाए ।

नीति तथा कार्यक्रममाथि लिखित टिप्पणी गर्दै उनले सरकारमाथि ७ आरोप लगाएका छन्

१. जनतामा आश जगाउन पूर्णतः असफल

सभापति देउवाले नीति तथा कार्यक्रम बरालिएको र जनतामा आशा जगाउन नसकेको टिप्पणी गरेका छन् । कोरोना महामारीको समयमा सरकारले आफू अभिभावक भएको अनुभूति गराउन नसकेको पनि उनको भनाइ छ ।

‘पहिलो सन्देश यो सरकारलाई कोभिड–१९ ले गरेको र गर्न सक्ने क्षति बारे ज्ञान नै छैन । दोस्रो, सरकारलाई जनताको दुखः प्रति कुनै वेदना छैन र जनताको पीडा बुझ्न सक्ने हृदय छैन । तेस्रो, सरकारसँग यो अप्ठ्यारो बेला भविष्यका लागि जनता आश्वस्त हुने कुनै योजना छैन’ देउवाले टिप्पणी गरे ।

सरकार एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुवर्षीय योजनाको कोराकल्पना जस्तो देखिएको देउवाले बताए ।

२. महामारी नियन्त्रणको तयारीमा चुकेको छ

सभापति देउवाले कोरोना महामारी नियन्त्रणको तयारीमा सरकार चुकेको बताएका छन् । २०७६ माग ९ गते पहिलो केस भेटिएको चार महिना पुग्दासम्म सरकारले कोरोना परीक्षण र उपचारको भरपर्दो व्यवस्था नगरेको उनले बताए ।

अहिलेसम्म २६ हजार ६ सय ९१ वटा मात्र पीसीआर परीक्षण हुनु, स्वास्थ्यकर्मीको सुरक्षा उपकरणलगायतका सामग्री पर्याप्त उपलब्ध नहुनु, विश्वसनीय परीक्षण किटको अभाव हुनु, अस्पतालमा भेन्टिलेटर लगायत अन्य उपचार सामग्रीको आपूर्ति नहुनु, मर्कामा परेकालाई राहतको व्यवस्था नहुनु र सीमाना तथा देशभित्र अलपत्र नागरिकलाई सुरक्षित तरिकाले उद्धार नगर्नुले जनतालाई सरकार हुनुको अनुभूति नभएको देउवाले बताए ।

‘म प्रश्न गर्न चाहन्छु सरकारले लकडाउनको यो अवधिमा के तयारी गर्‍यो ? परिस्थितिको गम्भीरताप्रति सरकार संवेदनशील हुन नसकेको दृष्टान्त हो तयारी विहीनता’ उनले भने । विदेशमा लाखौं नेपाली कोरोनाका कारण समस्यामा परेका र भारतीय सीमा नाकामा हजारौं नागरिक बिचल्लीमा पर्दा पनि यस विषयमा नीति कार्यक्रममा ठोस योजना नआएको देउवाले बताए ।

३. सरकार आत्मप्रशंसामा रमायो

देउवाले नीति तथा कार्यक्रममा सरकार आत्मप्रशंसामा रमाएको टिप्पणी गरेका छन् । सकारले विगत दुई वर्षमा निकै काम गरेको दाबी गरे पनि नयाँ नीति तथा कार्यक्रमले नै त्यसलाई असत्य सावित गर्ने उनले बताए ।

प्रधानमन्त्रीलाई विगत दुई वर्षका नीति कार्यक्रम पुनः एकपटक पढ्न अनुरोध गर्दै उनले देउवाले ती नीति कार्यक्रम हेरेर सरकार लज्जित बन्नुपर्ने स्थिति रहेको पनि दावी गरे ।

‘त्यो बेला एकवर्ष भित्र बनाउँछु भनेको गौतम बुद्ध एयरपोर्ट बनेको छैन । तीनवटा मुख्य राजमार्गको छेउमा बनाउँछु भनेको ७६५ केभी ट्रान्समिसनलाइन, निजगढ एयरपोर्ट निर्माण प्रतीक्षामा छन् । सातवटै प्रदेशका प्रमुख सहरमा विद्युतीय बस सेवा सञ्चालनमा ल्याइने जस्ता केही सपना पूरा नभई विना कुनै स्पष्टीकरण तुहिएका छन्’ उनले भने ।

राजनीतिक प्रचार र सुविधाका लागि जे पनि गर्छु भन्ने प्रवृत्तिले नीति तथा कार्यक्रमको विश्वसनीयता र गरिमा नै हराएको देउवाले बताए ।

४. समस्यालाई ठीकसँग हेर्न सकेको छैन

देउवाले सरकारले वर्तमान समस्यालाई ठीकसँग हेर्न नसकेको र अप्ठ्याराहरूको गाम्भीर्यता बुझ्न नसकेको टिप्पणी गरेका छन् । उनले राजस्वको यो वर्षको लक्ष्यसमेत नभेटिएको अवस्थामा पुराना योजना दोहोर्‍याउँदा महामारीसँग लड्न चाहिने खर्च कहाँबाट जुटाउने भनी प्रश्न गरे । ‘यसले निजी क्षेत्रलाई दोहन गर्ने, उनीहरुलाई बैङ्कबाट उपलब्ध हुने पुँजी सरकारले आन्तरिक ऋण उठाउने र जथाभावी वैदेशिक ऋण लिने गलत नीति तर्फ जान्छ’ देउवाले भने ।

अपराधका अनेक घटनालाई नियन्त्रण गर्न सरकार असफल हुनु र भ्रष्टाचारको एकपछि अर्को काण्ड हुनुले सरकारले भ्रष्टाचारको कुरा गर्नु जगहसाइ मात्र भएको देउवाले टिप्पणी गरे । कोरोना महामारीको बेलामा अत्यावश्यक सामग्री र औषधी समेतमा भ्रष्टाचार भएको भनि प्रश्न उठ्नु, त्यसमा छानविन हुनुको साटो प्रधानमन्त्री आफै भ्रष्टाचारजन्य घटनाको बचाउमा उत्रिने र उन्मुक्ति दिने जस्ता घटनाले सुशासन र सदाचारको विषयमा सरकार पूर्ण असफल भएको पनि उनले बताए ।

५. संघीयता कार्यान्वयनमा उदासीन

कांग्रेसले सरकार संघीयताको कार्यन्वयनमा उदासीन रहेको बताएको छ । प्रदेश सरकारहरु संविधान प्रदत्त अधिकारको उपयोग गर्न वञ्चित भएका संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने अन्तर प्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् जस्ता संयन्त्रहरु निष्क्रिय भएका देउवाले बताए ।

६. कोरोनाको प्रारम्भिक क्षति अनुमान गर्न सकेन

कांग्रेसले कोरोना महामारीका कारण कुखुरापालन, मत्स्यपालन, मह, केरा, तरकारी, फलफुल उत्पादन तथा प्रशोधन उद्योगमा परेको असरबारे सरकारले अनुमान गर्न नसकेको बताएको छ । उद्योग, रेमिटेन्स आदि क्षेत्रमा कोरोनाबाट भएको प्रारम्भिक क्षति पनि सरकारले अनुमान गर्न नसकेको देउवाले बताए ।

राहत पाउनुपर्ने उद्योगलाई प्रोत्साहित गर्ने विषय नीति तथा कार्यक्रममा नसमेटिएको र सरकारसंग निर्यात बढाउने विश्वसनीय र नयाँ योजना नभएको कांग्रेसले बताएको छ ।

कोरोनाको महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र प्रवद्र्धनका लागि नीति नआएको पनि कांग्रेसले बताएको छ । ‘केही एयरपोर्टको निर्माण र मर्मत मात्र दिगो र गुणस्तरीय पर्यटनको स्रोत होइन, सबै भन्दा बढी राहत चाहिएको पर्यटन क्षेत्रमा पुराना सामान्य किसिमका विषयको पुनरावृत्तिबाहेक कुनै नवीन सोच र योजना छैन’ कांग्रेसले भनेको छ ।

७. मितव्ययीताको पक्षमा देखिएन

कांग्रेसले सरकार अप्ठेरो बेलामा पनि मितव्ययिताको पक्षमा नदेखिएको र आफैंले गठन गरेको आयोगको मितव्ययीताको सिफारिस समेत लागु गर्न तयार नभएको बताएको छ । ‘वैदेशिक ऋण निरन्तर बढेको छ । सरकार मितव्ययी हुन र वैदेशिक ऋणको नीति पारदर्शी हुन आवश्यक छ ।’

अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीलाई यो सदनबाट पारित गर्नेबारे सरकार उदासीन भएको पनि कांग्रेसले बताएको छ । ‘नीति तथा कार्यक्रममा यसलाई समावेश गरेरै जिम्मेवारी र जवाफदेहितासाथ सरकार अग्रसर हुन सकेको देखिएन’ देउवाले भनेका छन् ।

देउवाले नीति तथा कार्यक्रमले मुलुकलाई प्रगतिको वाटोमा लैजाने सिर्जनशीलता देखाउन सकेको नसकेको बताएका छन् ।

‘पुराना कार्यक्रम दोहोर्‍याइएका छन्, राजश्वमा आउने कमीले हुने प्रभावबारे केही बोलेको छैन’ देउवाले भनेका छन् ‘अहिलेको महामारीले पार्ने बहुआयामिक प्रभावबारे नीति कार्यक्रमले बोल्न सकेको छैन र नेपाली समाजमा कोरोनाले पार्ने नकारात्मक प्रभावको अल्पकालीन र दीर्घकालीन समाधानका उचित उपायको खोजी गर्न सकेको छैन ।’
यो पनि पढ्नुहोस सरकारसँग जनताको पीडा बुझ्ने हृदय नै छैन : देउवा (पूर्णपाठ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment