Comments Add Comment

सप्तरीको उत्तरी भेगमा हात्ती आतंक

५ जेठ, सप्तरी। लकडाउनका कारण हातमुख जोर्न समस्यामा परेका सप्तरीका स्थानीयको घर हात्तीले भत्काइदिएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन वटा हात्तीको समूहले गएराति अग्निसाइर कृष्ण सवरण गाउँपालिका–६, मोहनपुरका मोतीलाल विश्वकर्माको घर भत्काएको छ ।

हात्तीले घर भत्काइ अन्नसमेत खाइदिएपछि गरिब एवं वृद्ध विश्वकर्माको बिजोग भएको स्थानीय बाबुराम बस्नेतले बताए ।

रूपनी गाउँपालिका–६ मा हात्तीको समूहले बिहीबार राति दीपककुमार तामाङको घर भत्काएको छ । घर तोडफोड गरी खाद्यान्नलगायतका सामग्री नष्ट गरेपछि तामाङ परिवारको दैनिकी कष्टकर बनेको छ । मध्यरातमा आएको हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाएको दीपककी श्रीमती हीराले बताइन् ।

घर छाडेर भागेपछि हात्तीले चामल, मकै, पिठो, कोदो, सोलार, टिनको बाकस र घरसहित गरी रु दुई लाख बराबरको क्षति गरेको पीडितले बताए । लकडाउनले रोजगारी खोसिएका बेला हात्तीले घर भत्काइ खाद्यान्नसमेत खाइदिएपछि छाक टार्न समस्या भएको पीडितहरु बताउँछन् ।

सप्तरीको उत्तरी भेगको बस्तीमा दैनिक मध्यरात भएपछि हात्तीको समूह गाउँ प्रवेश गरी घर भत्काउन थालेकाले आतंक बढेको छ । आरक्षबाट आएको तीनवटा हात्तीको समूहले वैशाखको अन्त्यमा शम्भुनाथ नगरपालिका–२ भलुवाहीकी ३८ वर्षीया जानुका मगरको ज्यान लिएको थियो । अग्निसाइर कृष्ण सवरण गाउँपालिका–५ मोहनपुरमा पुष्पराज बञ्जारा र अम्बिका राईको घर भत्काएको थियो ।

वैशाखकै तेस्रो साता सोही गाउँपालिका–२ मा प्रवेश गरेको हात्तीको समूहले वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरी धान, गहुँ, चामललगायतका खाद्यान्न खाएको थियो ।

दिनभरि नजिकैको जङ्गलमा बस्ने हात्ती रात परेपछि गाउँ प्रवेश गरेर दैनिकजसो घर तोडफोड र मानिसमाथि आक्रमण गर्दै आएको छ । हात्तीले घर पनि भत्काएको र खाने सामग्रीसमेत नष्ट गरिदिएकाले एकैसाथ पेट भर्ने र ओत लाग्ने समस्या भएको गुनासो स्थानीयले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment