+
+
Shares

नेपालमा अम्पुन चक्रवातको ‘अप्रत्यक्ष’ असर

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते ८:०८

६ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अम्पुन’को नेपालमा अप्रत्यक्ष प्रभाव परेको मौसमविद्ले बताएका छन्।

स्थानीय वायु र अम्पुनको अप्रत्यक्ष प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बदली भएको छ । काठमाडौंका केही स्थानमा मंगलबार बिहान हल्का वर्षा पनि भएको छ ।

‘अम्पुन’ चक्रवातको वेग बढ्दै गएको छ । त्यसैले मौसमविद्हरूले त्यसलाई ‘सुपर साइक्लोन’ भनेका छन् । हाल यो भारतको ओडिसा हुँदै उत्तरतर्फ सर्दै गएको छ ।

अम्पुन चक्रवातका कारण मंगलबारबाट विस्तारै पानी पर्न सुरु हुने र यसको प्रभाव दुई–तीन दिनसम्म नेपालमा देखिने मौसम विज्ञान विभागको अनुमान छ

यसको प्रभावले मंगलबारबाट नेपालको पूर्वी भूभाग प्रभावित हुनेछ । पूर्वी नेपालका जिल्लामा हुरी, बतास र चट्याङससहित वर्षा हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । त्यसको प्रभाव मध्य नेपालका केही जिल्लामा पनि पर्ने तर पश्चिम नेपालमा असर नगर्ने मौसमविद् मानन्धरको भनाइ छ ।

त्यसबाट काठमाडौं उपत्यकामा पनि अप्रत्यक्ष प्रभाव नै रहने र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ। नेपालमा अम्पुनको अप्रत्यक्ष प्रभाव देखिसकेको छ ।

अप्रत्यक्ष प्रभावबारे थप प्रष्ट्याउँदै मौसमविद् मन्जु बासीले अनलाइनखबरसँग भनिन्, ‘नेपालमा सिधै साइक्लोन आएको होइन, त्यसको बाहिरी घेरामा जुन बादल हुन्छ, त्यो बादल आएको हो ।’

धेरैजसो बंगालको खाडीमा बन्ने चक्रवातले नेपालमा खासै असर पार्दैन । यदि असर परिहाल्यो भने पनि पूर्वी नेपालमा मात्र पार्ने मौसमविद् मानन्धर बताउँछिन् । अम्पुन चक्रवातका कारण मंगलबारबाट विस्तारै पानी पर्न सुरु हुने र यसको प्रभाव दुई-तीन दिनसम्म नेपालमा देखिने मौसम विज्ञान विभागको अनुमान छ ।

चक्रवातले जमिनमा छोइसकेपछि काम गर्न छोड्छ । जबसम्म अम्पुनले जमिन छुँदैन, तबसम्म वर्षाको सम्भावना हुने मौसमविद्हरू बताउँछन् ।

अम्पुनले भारत र बंगलादेशमा बढी क्षति पुर्‍याउने अनुमान गरिएको छ । कोरोना भाइरसविरुद्ध लडिरहेको बेला शक्तिशाली चक्रवातको आपत् आइलागेको सरकारका अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?