Comments Add Comment

कोरोना र लकडाउन : घर फर्कि‌ंदा ज्यान गुमाएका भारतीय मजदुरहरू

फाइल तस्वीर

८ जेठ, काठमाडौंं । जब भारतले २४ मार्चमा लकडाउन घोषणा गर्‍यो, दैनिक ज्यालादारीमा काम गर्ने हजारौं मजदुरहरू रोजगारीविहीन बन्न पुगे । उनीहरूको आम्दानीको बाटो नै बन्द भयो ।

जुन सहरलाई बनाउन र चलाउन उनीहरूले मद्दत गर्दै आएका थिए, त्यही सहरमा उनीहरू बेवारिसे भए । जुन रेल र बसले उनीहरूलाई घर लैजान्थ्यो, त्यो पनि बन्द भयो । त्यसैले भोकमरीको चिन्ताले के महिला, के पुरुष, के बालबालिका आफ्नै गाउँ फर्किन चाहे ।

कोही साइकलमा दशौं किलोमिटर यात्रा गर्न तयार भए त केहीले पानी ट्यांकर र दूध बोक्ने गाडीको साहारा खोजे । तर, धेरै मानिसका लागि भने पैदलयात्रा एकमात्र विकल्प थियो ।

केही मजदुर दुई/चार सय किलोमिटरको यात्रा तय गरेर घर पुगे । तर, धेरैले घर पुग्न हजारभन्दा बढी किलोमिटरको यात्रा गर्नुपर्‍यो । त्यसमाथि उनीहरू एक्लै थिएनन्, बालबालिका, गर्भवती र विभिन्न सामानहरू राखिएको झोला पनि साथमा थिए ।

यहाँ घर फर्किंदै गर्दा बाटोमा नै ज्यान गुमाएका केही मजदुरको कथा उल्लेख गरिएको छ –

सञ्जु यादव र उनकी छोरी नन्दिनी

रञ्जन यादव, उनकी श्रीमती सञ्जु र उनीहरूका दुई सन्तान ।

१० वर्षअघि सञ्जु यादव र उनका श्रीमान राजन आफ्ना दुई छोराछोरी नितिन र नन्दिनीसहित उज्वल भविष्यको खोजीमा भारतको मुम्बई आएका थिए । यो सहरमा आफ्ना छोराछोरीले उज्वल भविष्य बनाउन सकौं भन्ने उनीहरूको कामना थियो ।

सञ्जुलाई गाउँमा बस्न मन नपरेको भने होइन । तर, मुम्बईमा सबैका लागि राम्रो अवसर मिल्छ भन्ने विश्वास थियो । वास्तवमा राजनलाई सञ्जुले नै मुम्बई आउन प्रेरित गरेकी थिइन् । ‘म पहिला आठ घण्टा एक कारखानामा काम गर्थेँ । सञ्जुले नै मलाई अझै धेरै काम गर्न प्रेरित गरेकी थिइन् । त्यसैले हामीले एउटा गाढा किन्यौं बेलुका चार बजेदेखि राति १० बजेसम्म स्न्याक्स बेच्न थाल्यौँ’, राजन भन्छन्, ‘उनले मलाई ठूला सपना देख्न प्रेरित गर्थिन् । उनी जागिरभन्दा आफ्नै व्यवसाय गर्नुपर्छ भन्थिन् । जागिरमा निश्चित तलब हुन्छ तर व्यवसायमा बढाउने मौका हुन्छ भन्थिन् ।’

दुई वर्षअघि राजनले आफ्नो बचत र बैङ्कको ऋणमा एक टुक–टुक टेक्पो किने । यो किनेपछि उनीहरूको परिवारको आम्दानी बढ्यो । तर, त्यसको केही समयपछि कोरोना भाइरसको महामारी सुरु भयो ।

लकडाउनपछि सहर छाड्दै गरेका मजदुर

मार्च १९ मा उनीहरूले कोरोना भाइरस (कोभिड–१९) को विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा अन्तर्वार्ता हेरेका थिए । त्यसको एक साता पनि नबित्दै मुलुकमा तीन साताको लागि लकडाउनको घोषणा गरियो । त्यसपछि उनीहरूले आफ्नो बचतको रकमबाट मार्च र अप्रिलको कोठाभाडा, ऋण, किरानाको शुल्क बुझाए ।

उनीहरूलाई मेको सुरुवातमा लकडाउन खुल्छ भन्ने आशा थियो, तर लम्बियो । उनीहरूको सबै विकल्प र पैसा पनि सकियो । त्यसपछि उनीहरू उत्तर प्रदेशस्थित जाउनपुर जिल्लामा रहेको आफ्नो गाउँ फर्किने भए । उनीहरूले मजदुर ओसार्न प्रयोग गरिएको विशेष रेलको टिकट काट्न प्रयास गरे । तर, उनीहरूले टिकट पाउन सकेनन् । त्यसपछि उनीहरू आफ्नो टुकटुक टेक्पोमा एक हजार पाँच सय किलोमिटरको यात्रा गर्ने निर्णयमा पुगे । त्यसपछि उनीहरू मे ९ मा मुम्बईबाट निस्किए ।

राजन बिहान पाँचदेखि ११ बजेसम्म टुकटुक चलाउँथे । त्यसपछि दिनभरि आराम गरेर बेलुका ६ बजेदेखि राति ११ बजेसम्म पुनः टुकटुक चलाउँथे । राजनका अनुसार उनीहरूले खानाका लागि केही ड्राइफुडको व्यवस्था गरेका थिए र जहाँ पुगिन्छ, त्यही फुटपाथमा सुत्थे ।

मे १२ मा उनीहरू गाउँबाट दुई सय किलोमिटर नजिक पुगे । तर, त्यही पछाडिबाट आएको ट्रकले टुकटुकलाई ठक्कर दियो । घटनास्थलमा नै सञ्जु र नन्दिनीको मृत्यु भयो । राजन र नितिन भने सामान्य घाइते भए । ‘एकैछिनमा यो सबै घटना भयो’ राजन भन्छन्, ‘हामी गाउँभन्दा निकै नजिक थियौं । हामी निकै उत्साहित पनि थियौं । तर, अब मसँग शून्यताबाहेक केही बचेको छैन ।’

राजन अहिले समयमा नै रेलको टिकट पाएको भए, टुकटुकमा यात्रा सुरु नगरेको भए, म गरिब नभएको भए… जस्ता कुरा सम्झेर आफ्नो परिवार गुमाएकोमा पछुतो मान्छन् ।

लालुराम यादव

लकडाउनपछि सहर छाड्दै गरेका मजदुर

लालुराम यादव आफ्ना भाइ (काकाको छोरा) अजयकुमारसँग सधैं आइतबार भेट्थे र एक दशकअघि छाडेको गाउँको याद गर्ने गर्थे । आफ्ना ६ सन्तान र परिवारको उज्वल भविष्यका लागि उनी पनि मुम्बई आएका थिए । ५५ वर्षीय लालुरामले १० वर्षसम्म सेक्युरिटी गार्डको रुपमा काम गरे । सातामा ६ दिन दैनिक १२ घण्टा काम गर्थे ।

तर, उनले कमाई लकडाउन सुरु भएसँगै निकै सानो रकम बन्न पुग्यो । लकडाउन सुरु भएको केही समयमै उनी र उनको भाइको बचत सकियो । लालुरामले आफ्नो परिवारलाई फोन गरे र घरमा नै सुरक्षित बस्न आग्रह गरे । उनले आफूहरू आउँदै गरेको सुनाए । उनीहरूले लहरीबाट जाने प्रयास पनि गरेका थिए । तर, धेरै पैसा मागेपछि आँट गरेनन् । त्यसपछि अरू मजदुहरू जस्तै उनीहरूले सिन साना झोलाहरूमा आफ्नो सामान प्याक गरेर चारजना साथीहरूसँगै पैदल यात्रा सुरु गरे ।

सुरुको दुई दिनमा उनीहरूले चारसय किलोमिटरको यात्रा तय गरे । तर, उनीहरूले सोचेभन्दा यो यात्रा निकै कठिन थियो । अजयकुमार भन्छन्, ‘यात्रामा निकै गर्मी थियो र हामी छिटै नै थाक्थ्यौं । हामीले लगाएको छालाको जुत्ताले हिँड्न अझै गाह्रो भइरहेको थियो ।’

उनीहरूसँग अर्को विकल्प पनि थिएन । एक साँझ लालुरामलाई श्वासप्रश्वासमा समस्या देखियो । उनीहरू भर्खर मध्यप्रदेश प्रवेश गरेका थिए । उनीहरूलाई अझै लामो यात्रा गर्नु थियो । यस्तोमा उनीहरूले केही समय आराम गर्ने निर्णय गरे । तर, लालुराम कहिल्यै पनि उठेनन् । उनलाई नजिकैको अस्पताल लगिएको थियो तर, अत्याधिक थकानका कारण हृदयाघात भएर उनको मृत्यु भएको चिकित्सकहरूले बताए ।

लकडाउनपछि घर फर्किंदै गरेका मजदुरहरू

उनीहरूलाई नयाँ समस्या आयो, शवलाई के गर्ने । एम्बुलेन्सलाई उनीहरू भएको स्थानमा आइपुग्न पाँचदेखि आठ घण्टा लाग्थ्यो । उनीहरूको समूहमा १५ हजार रुपैयाँ थियो । यो रकम कुनै लहरीबाट जान आवश्यक रकममध्ये आधा हो । यस्तोमा एक चालक बाँकी रकमपछि दिने शर्तमा उनीहरूलाई पुर्‍याइदिन तयार भए । तर, लालुरामले आफ्नो सन्तानसँग केही समय बिताउने रहर पूरा गर्न सकेनन् ।

अजयकुमार भन्छन्, ‘हामीलाई कसैले पनि सहयोग गरेनन् । मेरो दाजु मर्दैन’थे तर यो भोक र लामो यात्राको एक छनोट थियो ।’ गरिब मानिसले धेरै खराबमध्येको एउटा विकल्प छनोट गर्नु पर्छ । त्यसरी छनोट गरेको बाटो आफ्ना दाजुको हकमा गलत सावित भएको उनले सुनाए ।

साघीर अन्सारी

साघीर अन्सारी

सघीर र साहिब अन्सारी राम्रा सिकर्मी थिए । दिल्लीको कपडा कारखानामा उनीहरूका लागि कामको कुनै अभाव थिएन । तर, लकडाउन सुरु भएको केही दिनमा नै उनीहरूको रोजगारी गुम्यो । अवस्था केही सातामा साम्य होला भन्ने सोचेर उनीहरूले आफ्नो सानो कोठामै बस्ने निधो गरे । आफूसँग भएको पैसा सकिएपछि गाउँमा रहेका परिवारसँग सापटी मागे । तर, लकडाउन झन् लम्बियो । अब भने उनीहरूको धैर्यको सीमा टुट्यो । उनीहरू घरबाट थप रकम मगाउने सक्ने अवस्थामा पनि थिएनन् । किनकि परिवारले उनीहरूबाट सहयोगको अपेक्षा गरिरहेका थिए ।

उनीहरू लामो समयसम्म सरकारले वितरण गर्ने खानाको लागि लाइनमा बस्थे । तर, यो उनीहरूका लागि पर्याप्त हुँदैन’थ्यो । आधा पेट खाएर सुत्थेँ । त्यसैले उनीहरूले बिहारको मोतीहारीस्थित आफ्नो घर फर्किने निर्णय गरे । जुन दिल्लीभन्दा १२ सय किलोमिटर टाढा छ ।

अन्सारी दाजुभाइ र उनका साथीहरूले पुरानो साइकल किनेर घर फर्किने निर्णय गरे । उनीहरू आठ जना थिए तर साइकल भने छ ओटा मात्र थियो । यस्तोमा पालैपाले साइकल चलाउने निर्णय गरे र मे ५ मा दिल्लीबाट आफ्नो यात्रा सुरु गरे । यो गर्मीमा प्रत्येक १० किलोमिटरको यात्रामा टोलीका सबै सदस्य थाक्थे ।

लकडाउनपछि घर फर्किंदै गरेका मजदुरहरू

‘घुँडा दुख्थ्यो तर हामी पाइडल चलाइराख्थ्यौँ । हामीले राम्रोसँग खाना पनि खान पाएका थिएनौँ । त्यसैले पाइडल चलाउन पनि निकै गाह्रो भइरहेको थियो’ उनीहरू भन्छन् । पाँच दिनपछि उनीहरू लखनउ पुगे । उनीहरूले राम्रोसँग खाना खान नपाएको दुई दिन भएको थियो ।

त्यसैले उनीहरू सडकको बीचमा राखिएको डिभाइडरमा बसेर खाना खान थाले । किनकि लकडाउनका कारण निकै कम मात्र सवारी गुडेका थिए । तर, त्यतिकैमा एउटा अनियन्त्रित कार आयो र साघीर बसेको डिभाइडरमा हान्यो । उनलाई तत्काल अस्पताल लगियो । त्यसको केही घण्टामा उनको मृत्यु भयो । शाहिब भन्छन्, ‘मलाई थाहा थिएन, उसकी पत्नी र दुई छोराछोरीलाई मैले के जवाफ दिउँला ?’ उनी एक एम्बुलेन्समा आफ्नो भाइको शव लिएर घर पुगे । तर, उनले अन्त्येष्टिमा पनि सहभागी हुन पाएनन् । किनकि लामो यात्राबाट आएकाले उनलाई क्वारेन्टाइनमा राखियो ।

‘मलाई थाहा छैन कि उसको मृत्युको दोषी को हो । कोरोना भाइरस, भोकमरी वा गरिबी । मैले एउटा कुराचाहिँ राम्रोसँग बुझेँ— अब म आफ्नो गाउँ छाडेर कतै जान्नँ । म केही कम पैसा कमाउँला तर कम्तीमा म सुरक्षित रहनेछु’ शाहिब भन्छन् ।

बलराम र नरेश सिंह

नरेश सिंह उनकी श्रीमती र बालबच्चाका साथ ।

१७ वर्षीय जयकृष्ण कुमारलाई आफ्ना बाबु बलरामलाई घर आउन प्रेरित गरेकोमा पछुतो महसुस भइरहेको छ ।

लकडाउन सुरु भएसँगै गुजरातमा काम गर्ने बलरामलाई उनका छोराले घर आउन प्रेरित गरेका थिए । बलराम र उनका साथी नरेश सिंह मोबाइल फोन टावरहरूमा मर्मतको काम गर्थे । उनीहरू दुवै आफ्ना छोराको उज्वल भविष्यको सपना बुनिरहेका थिए । बलराम जयकृष्ण कलेज गएको हेर्न चाहन्थे भने नरेश आफ्ना छोरालाई सरकारी अधिकारी बनाउन चाहन्थे ।

त्यसैले उनीहरू बिहार पुगेका थिए । उनीहरू एक लहरीबाट आफ्नो घर फर्किरहेका थिए । बाटोमा राजस्थानको दौसामा चालकले आफ्नो नियन्त्रण गुमाउन पुगे र लहरी गएर एउटा रुखमा ठोक्कियो । नरेश र बलरामको दुर्घटनामा मृत्यु भयो ।

‘यो दुर्घटनाले मेरो बुबाका साथै मेरा सपनाहरू र पढाइलाई मबाट धेरै टाढा पुर्‍यायो । मलाई सहरमा गएर काम गर्ने सोच ठिक लागेको छैन । तर, मसँग अब के विकल्प बाँकी छ र ?’ पढाइ छाडेर काम गर्ने योजना बनाएका जयकृष्ण भन्छन्, ‘मेरा बुबा मलाई गरिबीको चक्रबाट बाहिर ल्याउन चाहन्थे । थाहा छैन उनीविना यो काम मैले कसरी गर्न सक्छु ।’

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment