Comments Add Comment

दुई छोरा मिलेर बाबुको हत्या, बुहारीबाट खुल्यो पोल

८ जेठ, विराटनगर । घरायसी विवादमा दुई छोरा मिलेर बाबुको हत्या गरेको खुलेको छ । विराटनगर महानगरपालिका–१४ झटियाहीका ६९ वर्षका सीताराम चौहानलाई उनकै जेठा छोरा रोहित चौहान र माइला नागेन्द्र चौहानले कोदालोले हिर्काएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

मोरङ जिल्ला प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार शनिबार राति साढे ८ बजे मदिरा खाएर घर पुगेका छोराहरुले हिर्काएर सीतारामको हत्या गरेका हुन् ।

कसरी खुल्यो हत्याको कारण ?

बुधबार सीतारामकी माइली बुहारी जैनव खातुन श्रीमान नागेन्द्रलाई लिएर ससुरा हराएको भन्दै खोजी गरिदिन इलाका प्रहरी कार्यालय रानी पुगिन् ।

उनले आफ्ना श्रीमानले बुबालाई मारिदिएँ भनेको र घरमा खाटमुनि खाल्डो खनेको जस्तो देखेको प्रहरीलाई बताएकी थिइन् ।

त्यसपछि सीतारामको घर पुगेको प्रहरीले खाल्डो उत्खनन गर्दा शव फेला पारेको थियो । शव भेटिएको २४ घण्टा नबित्दै सीतारामका दुबै छोरालाई पक्राउ गरेको एसपी अधिकारीले जानकारी दिए ।

दुबै जनाले पैसाको विषयमा विवाद हुँदा मदिराको नशामा हत्या गरेको स्वीकार गरेका प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सीताराम चौहानका तीनमध्ये कान्छा छोरा सम्पर्कमा छैनन् । जेठा र माइला छोरा मजदुरी गर्दै आएका थिए । विवाहित माइला छोरा छुट्टिएर बसेका छन् भने जेठा छोरा रोहित बाबुसँगै बस्दै आएका छन् ।

शनिबार नागेन्द्र र रोहितले काम गरेको ठाउँबाट पैसा पाएका थिए । कामबाट पाएको पैसाले उनीहरुले मादक पदार्थ सेवन गरे र केही कपडा किने ।

त्यसपछि दुबै दाजुभाइ मूलघरमा गए । घरमा सीतारामले छोराहरुसँग पैसा मागेपछि विवाद सुरु भएको थियो । विवादका क्रममा सीतारामले जेठो छोरा रोहितलाई खाटबाट लडाइदिएका थिए ।

खाटबाट लडाएको रिसमा रोहितले टाउकोमा कोदालो प्रहार गरेको प्रहरीले बताएको छ । रोहित पछि नागेन्द्रले पनि कोदालो प्रहार गरेका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको दाबी छ ।

राति करिब ८ बजे हत्या पछि जेठा छोरा घरको बरण्डामा सुते भने माइला छोरा आफ्नो डेरामा गएका थिए । आइतबार बिहान पुन दाजुभाई भेला भएर शव गाडेका थिए ।

शव गाडेपछि दाजुभाइले फेरि सँगै बसेर मदिरा खाएको अधिकारीले बताए । ‘योजनावद्ध रुपमा भएको हत्या होइन’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘मदिराको नसामा आवेगमा हत्या भएको देखिन्छ ।’

मदिरा सेवन पछि डेरा पुगेका नागेन्द्रले श्रीमतीलाई आफूले बुबाको हत्या गरेको बताएका थिए । प्रहरी उपरीक्षक अधिकारीका अनुसार सीताराम माइला छोराकोमा नियमित पैसा माग्न आउँथे । तर चार दिन नआएपछि माइली बुहारीले फोन गरेकी थिइन् ।

फोन अफ देखिएपछि घर पुगेर हेर्दा भुइँ खोस्रिएको र केही कपडामा रगत देखिएपछि श्रीमानलाई लिएर प्रहरी कार्यालय पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment