Comments Add Comment

कचनकवल गाउँपालिका अध्यक्ष भन्छन् – व्यवहारिक समस्या हेर्दा गाउँमा कोरोना फैलिने डर भयो

८ जेठ, काठमाडौं । झापामा बिहीबार ८ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि जिल्लामा २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो । तीमध्ये दुई जना दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका थिए, जो निको भएर घर फर्किसकेका छन् ।

बाँकी ३३ जना संक्रमित झापाका कचनकवल गाउँपालिकाका हुन् । उनीहरू सबै भारतका विभिन्न जिल्लाबाट आएका मजदुर हुन् । गाउँपालिकाका अध्यक्ष अञ्जार आलम भन्छन्, ‘भारतमा काम रोकिएपछि खानै पाइएन भन्दै गाडीमा कोचिएर सीमासम्म आइपुगेपछि हामी पनि व्यवहारिक समस्यामा पर्‍यौं ।’

सीमामा भेटिएका छिर्नेबित्तिकै जनप्रतिनिधि र प्रहरीले क्वारेन्टाइनमा राख्ने गरेका थिए । जसका कारण अहिले कचनकवलको समुदायमा त संक्रमण फैलिएको छैन । तर, क्वारेन्टाइनमा पनि पूर्ण रुपमा सामाजिक दुरी कायम नहुँदा जोखिम बढ्दो छ ।

‘हामीले दुरी कायम गरेर सुत्ने गरी व्यवस्थापन गरेका छौं’, आलम भन्छन्, ‘तर, खाना खान र ब्रस गर्न जाने बेला सबै हुर्रिएर जान्छन् । सामाजिक दुरी व्यक्ति आफैँले पनि पालना गर्नुपर्ने हो, हामीले बाहिरबाट कति भन्नु ?’

उनै अध्यक्ष आलमले झापाका कोरोना संक्रमितबारे अनलाइनखबरसँग गरेको कुराकानी यहाँ प्रस्तत गरेका छौंः–

कचनकवल गाउँपालिकामा ४६ किलोमिटर खुला सीमाना छ। कोरोनाको महामारीपछि चार सय मिटरको दुरीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली बसेको छ । सुरक्षाकर्मीको २४ सै घन्टा ड्युटी हुने गरेको छ ।

रोटेसनका आधारमा खटिएको टोलीलाई राति काम गर्न लाइटको पनि व्यवस्था गरेका छौं । हाम्रो गाउँपालिकाबाट मजदुरीका लागि भारतको विभिन्न ठाउँमा जाने चलन छ । कोही पञ्जाब गएर धान काट्छन्, कोही बम्बई र दिल्लीका रेस्टुरेन्ट र अन्य मजदुरीका क्षेत्रमा काम गर्छन् ।

भारतका मजदुरले कामबाट निकालिदिएपछि उनीहरू समस्यामा परेछन् । अधिकांश काम गर्ने ठाउँ बन्द छन् । त्यहाँ बसिरहँदा खानै समस्या हुने भएपछि जेजे भेटिन्छ, त्यसमा चढेर सीमासम्म आएछन् । कोही गाडीमा कोचिएर आएका छन् । कोही पैदलै हिँडेका छन् । कोही भारतले रेल सेवा सुरु गरेपछि चढेर आएका छन् ।

खासमा उहाँहरूलाई भारतले नै राख्नुपर्ने हो । तर, त्यहाँबाट सुरक्षाकर्मी आफैँले पनि पठाइदिँदा रहेछन् । त्यति गर्दा पनि हामीलाई जानकारी गराइदिए हुन्थ्यो । पारि किसनगञ्ज छिरेपछि मात्र हामीलाई एकैचोटी खबर गर्दा समस्या हुन्छ ।

सीमामा आइसकेपछि मात्र आमाबुबाहरूले आत्तिँदै फोन गर्छन् । हामी त बारम्बार छोराछोरीलाई अब नबोलाउनुस् भनेर माइकिङ गर्छौं । जो जहाँ छौं, त्यही सुरक्षित बस्नुपर्छ भन्छौं । तर, उहाँहरूको भनाइ पनि छोराछोरी भोकै छ भन्ने हुन्छ । उहाँहरूको कुरा सुनेपछि हामीलाई पनि के गर्ने भन्ने हुन्छ । एकदमै व्यवहारिक समस्या देखिएको छ ।

त्यसैले सीमामा आइपुगेको व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने गरी प्रवेश दिन थाल्यौं । सीमामा ज्वरो नाप्ने व्यवस्था गरेका थियौं । तर, अधिकांश संक्रमितलाई ज्वरो रहेनछ । फेरि सीमामा दैनिक ४० देखि ५० जना आउने भएकाले प्रहरीलाई पनि नजिक जान गाह्रो भयो । खटिने सबै प्रहरीलाई पनि जोखिम छ ।

सीमामा १६० बढी सुरक्षाकर्मी छन्, सबैलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) दिन सकेका छैनौं । हामीले दुई ठाउँबाट मात्र छिर्न दिएकाले पनि संख्या धेरै छ । यद्यपि, हाल संख्या घट्दो क्रममा छ ।

अहिलेसम्म हाम्रो गाउँपालिकामा २५ जना कोरोना संक्रमित भेटिएका छन् । भर्खरै ८ जना पनि थपिए । अब सीमामा थप कडाइ र सतर्कता अपनाउँछौं । हाल लक्ष्मीप्रसाद देवकोटा माविमा ६५, महेन्द्ररत्न माविमा ९५, जानकी माविमा ४० जना र पथरिया माविमा २३ जना व्यक्ति क्वारेन्टाइनमा छन् । सुरुमा हामीले ३५ जना र दोस्रो पटक ६५ जनाको परीक्षण गराएका थियौं । सबैको रिपोर्ट अझै आइसकेको छैन ।

पहिले दुबई, कतारबाट फर्किएकालाई पनि क्वारेन्टाइनमा राखेका थियौं । तर, उहाँहरूमा संक्रमण देखिएन । भारतबाट आउनेमा भने संक्रमण देखिएको छ । यसले गाउँमा पनि त्रास बढाएको छ । गाउँमा संक्रमण नफैलियोस् भनेर सचेत छौं । त्यसैले क्वारेन्टाइनमा उहाँलाई राखेका छौं ।

यसको व्यवस्थापनका लागि वडाध्यक्षको नेतृत्वमा समिति पनि बनाएका छौं । तर, क्वारेन्टाइनमा पनि उहाँहरू जति संयमित हुनुपर्ने हो, त्यति हुनु भएको छैन । हामीले सामाजिक दूरी कायम गरेर सुत्ने ठाउँ बेग्लाबेग्लै बनाएका छौं । तर, दात माझ्ने, खाना खाने समयमा उहाँहरू एकैपटक हुर्रिएर जानुहुन्छ । यसले समस्या सिर्जना गरेको छ । यद्यपि, व्यवस्थित गर्ने प्रयास गरिरहेका छौं ।

हामीले बाहिरबाट माइकिङ गरिरहने भित्र उहाँहरूले पालना नगरिदिने हो भने यसको अर्थै रहँदैन । उहाँहरू आफैँ पनि अब सचेत बन्नुपर्छ । अहिलेको जटिल परिस्थितिलाई हेरेर हामीले सबैलाई संक्रमितको नजरबाट हेरेका छौं र सोहीअनुसार सतर्कता अपनाएका छौं ।

यो पनि पढ्नुहोस झापामा कसरी थपिए एकै दिन २३ संक्रमित ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment