+
+
Shares

ल्याबले नमुना नपठाऊ भन्यो, आरडीटी गरेर घर पठाइयो

विज्ञ भन्छन्– घातक हुनसक्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते २१:०६

१० जेठ, काठमाडौं । भारतबाट घर फर्किएका केहीलाई क्वारेन्टाइनमा राखेको ८/१० दिन भयो त, कसैको १० दिन कट्यो । ५० वटा स्कुलमा करिब १६ सय मानिस क्वारेन्टाइनमा छन् । हरेक दिन ७०/८० जना थपिएका पनि छन् ।

यो भारतसँग सीमा जोडिएको कपिलवस्तुको महाराजगञ्ज गाउँपालिकाको अवस्था हो ।

स्थानीय जनप्रतिनिधि चाहन्छन् कि क्वारेन्टाइनमा राखेको ८/१० दिनमा कोभिड–१९ परीक्षण गर्न पाइयोस् ताकि नेगेटिभ भएकालाई घर पठाउन पाए क्वारेन्टाइन स्थलमा ठाउँ खाली हुँदै जान्थ्यो । तर पीसीआर टेष्ट कहाँ सजिलो छ र ?

‘केन्द्रीय र प्रदेशको प्रयोगशालामा कुराकानी गर्दा पनि अहिले नमुना नपठाउनुस् भनियो’ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राधेश्याम कलवारले अनलाइनखबरसँग भने, ‘त्यसैले र्‍यापिड डाइग्नोस्टिक किट (आरडीटी) गर्‍यौं ।’ उनकाअनुसार शुक्रबार, शनिबार र आइतबार गरेर ७०० जनाको आरडीटी टेष्ट गरेको छ । त्यसमा कुल ९६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

नेगेटिभ आएका करिव ५०० घर गए । आडीटी पोजेटिभ आएकाहरुको भोलि सोमबार पीसीआर विधिबाट परीक्षण गर्न थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको छ । उनकाअनुसार अझै झण्डै १६ सय मानिस क्वारेन्टाइनमा छन् र उनीहरु सबैको पीसीआर विधिबाट परीक्षण गर्न निकै चुनौतीपूर्ण बनेको छ ।

गाउँपालिकामा एउटा पनि डाक्टर र नर्स छैनन् । गाउँपालिकाले तत्कालका लागि दुई जना डाक्टरलाई करारमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर एक जना मात्र भेटिए । तर पालिकामा कोरोना संक्रमित भेटिएपछि उनले पनि पारिवारिक कारण देखाएर जागिर छाडेका छन् । स्वास्थ्य शाखा प्रमुख कलवार भन्छन्, ‘कम्तीमा केन्द्रबाट चिकित्सकसहित एउटा टोली आइदिए हुन्थ्यो ।’

ल्याबमा धेरै फ्लो बढ्यो : डा. गिरी

भैरहवास्थित प्रादेशिक प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले आरडीटी गरेर पनि पठाउने गरेको स्वीकार गरे । नयाँ केस भेटिने क्रम बढेसँगै प्रयोगशालामा चाप बढेको र मापदण्डअनुसार १४ दिन पुगेकाहरुको आरडीटी गर्ने गरेको उनले बताए ।

‘यदि हामी रुपन्देही, कपिलवस्तु, बाँकेका क्वारेन्टाइनमा नछिरेको भए हामी नेगेटिभ भन्दै बस्थ्यौं । यति धेरै केस पीसीआर क्वारेन्टाइनमा गएकाले आएको हो’ उनले भने, ‘हामीसँग परीक्षण गर्ने क्षमता नै नभएको होइन, ह्वात्तै चाप बढेको छ ।’

डा. गिरीले अघि भने, ‘नयाँ संक्रमित निरन्तर भेटिरहेका छन् । उनीहरुको कट्याक ट्रेसिङ गरेर सम्पर्कमा आएकाहरुको परीक्षण गर्नैपर्‍यो । क्वारेन्टाइनमा बस्नेहरु पनि बढेका छन् र पालिकाहरु आफैंले भीटीएम किनेर पनि थ्रोट स्वाब संकलन गरेका छन् ।’

डा. गिरीले जनशक्ति र किट लगायत थपेर प्रयोगशालाको क्षमता अझ बढाउनुपर्ने बताए । ‘जसरी स्वाबको फ्लो बढेको छ, त्यसअनुसार क्षमता बढाउनुपर्छ । तर काम हुँदै नभएको भने होइन’ उनले अनलाइनखबरसँग भनेका छन् ।

विज्ञ भन्छन् : आडीटीको भर पर्नु घातक

तर जनस्वास्थ्य विज्ञहरु भने आरडीटी टेष्ट गरेर घर पठाउनु घातक हुने बताउँछन् ।

संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘पीसीआर नै छैन, देशले पीसीआर टेष्ट नै गराउन सक्दैन भने बेग्लै हो । नभई यतिधेरै संक्रमित भेटिएको छ । एक्टिभ केसहरुमा आरडीटीको नेगेटिभ आयो भनेर पीसीआर नगरी घर पठाउन मिल्दैन ।’

पीसीआर नगर्ने हो भने सरकार ‘हामीले सकेनौं’ भनेर हात उठाउनुपर्ने र, क्वारेन्टाइनको सट्टा मानिसलाई १४ दिन पूर्ण रुपमा होम क्वारेन्टाइनमा राख्न सक्नुपर्ने उनको राय छ । यद्यपि होम क्वारेन्टाइन पूर्ण रुपमा पालना गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?