Comments Add Comment

कतै खाँदाखाँद, कतै अट्याच बाथरुमसहितको क्वारेन्टाइन

११ चैत, विराटनगर । झापाको कचनकवल गाउँपालिकामा चार दिनको अन्तरमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमित सबै भारतबाट आएका थिए । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

न्यूनमत मापदण्ड पूरा नभएको क्वारेन्टाइनमा एउटै कोठामा मानिसहरु खचाखच बसेका थिए । कचनकवल गाउँपालिका मात्र होइन अन्य स्थानीय तहले बनाएका अधिकांश क्वारेन्टाइको हालत उस्तै छ । भारतबाट नेपालीहरु आउने क्रम बढेसँगै क्वारेन्टाइन व्यवस्थित नहुँदा संक्रमण फैलने जोखिम बढ्दो छ ।

‘क्वारेन्टाइनको निश्चित मापदण्ड हुन्छ, मापदण्ड पालना नगरे संक्रमण फैलने जोखिम हुन्छ ।’ जनस्वास्थ्यविद डा. नवराज सुब्बा भन्छन् ‘व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।’

एउटै कोठामा बस्दा जोखिम बढ्ने उनले बताए । ‘बेड न्यूनतम ५–६ फिटको अन्तरमा हुनुपर्छ,’ उनी भन्छन् ‘क्वारेन्टाइनमा बस्नेलाई सावधानीका उपाय सिकाउनुपर्छ ।’

विराटनगरमा एटेड बाथरुम

भारतबाट आएकाहरुलाई राख्न स्थानीय सरकारले आफ्नो क्षमता अनुसार क्वारेन्टाइन बनाएका छन् । सामुदायिक विद्यालय प्रयोग गरी बनाइएका क्वारेन्टाइन कामचलाउ मात्र छन् ।

तर विराटनगर महानगरपालिकाले अट्याच बाथरुमसहितको क्वारेन्टाइन तयार गरेको छ ।

विराटनगरको मारवाडी सेवा सदन, अतिथि सदन, काली सेवा सदन, रामजानकी सेवा सदनका कोठाहरु क्वारेन्टाइनका लागि तयार गरेको हो ।

‘हामीले क्वारेन्टाइनका लागि तयार गरेका कोठा अट्याच बाथरुमसहितका छन्’ मेयर भीम पराजुली भन्छन्, ‘हामीले २२० कोठा तयार गरेका छौं ।’

मोरङ सुनसरीको दक्षिणी क्षेत्रमा निर्माण गरिएका क्वारेन्टाइन भने कामचलाउ मात्र छन् । ‘धेरै क्वारेन्टाइन नाम मात्रका छन्’ एक प्रहरी अधिकृत भन्छन्, ‘व्यवस्थित नभएका कारण मान्छे भाग्न खोज्छन् ।’

प्रदेशमा ७ हजार बेड

प्रदेश ज्ञ मा भारतबाट आउनेलाई राख्नका लागि स्थानीय सरकारले ७ हजार ३ सय ६१ बेडको क्वारेन्टाइन तयार पारेको छ ।

प्रदेश सरकारले तयार पारेको तथ्याङ्क अनुसार आइतबारसम्म तयार भएका ३ सय ५४ स्थानका क्वारेन्टाइनमा एक हजार ४ सय ५ जना बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment