११ जेठ, काठमाडौं । स्पेनको बार्सिलोना फुटबल क्लब विश्वमै चर्चित छ । यसको घरेलु मैदान नोउक्याम्पमा गएर खेल्नु धेरै खेलाडीको सपना हुन्छ । अहिले विश्वभर महामारीको रुपमा रहेको कोभिड- १९ ले गर्दा खेलकुद गतिविधि प्रभावित भइरहँदा स्पेनको ला लिगा स्थगित छ ।
कोरोना महामारीका कारण क्लबहरुको अवस्था पनि कमजोर छ । क्लबको आर्थिक अवस्थाको कारण अहिले टिमको पहिलो रोजाइका धेरै खेलाडीहरु आउने समरमा बिक्रीमा रहने स्पेनिस अनलाइन मार्काले जनाएको छ ।
अहिले नै कुन खेलाडीको भविष्य कस्तो हुने भन्नबारे यकीन भएको छैन तर क्लबका खेलाडीहरुले दिएको प्रतिक्रियाले यसबारेमा चर्चा बढेको छ ।
पछिल्लो पटक क्लेमेन्ट लेङलेटले पनि यसबारे बोलेका छन् । ‘फुटबलरको रुपमा भविष्य कस्तो हुन्छ कसैलाई थाहा छैन तर मलाई आशा छ म अर्को सिजन बार्सिलोनामा हुनेछु’ फ्रेन्च खेलाडी लेङलेटले आरएमसीसंग भनेका छन् ।
उनले यस सिजन बार्सिलोनाका लागि २९ खेल खेलेका छन् । तर यदि समरमा उपयुक्त अफर आए उनी पनि क्लब छाड्न सक्नेछन् ।
मार्काका अनुसार अहिले क्लबका कप्तान लिओनल मेसीसहित गोलकिपर मार्क टेर स्टेगन, डिफेण्डर जेरार्ड पिके अनि एन्टोइन ग्रिजमन, फ्रेन्की डे जोङ र अन्स फाती मात्र अर्को सिजन बार्सिलोनामा रहने छन् ।
बार्सिलोनाले ल्याउन चाहेका खेलाडीहरु लाउटारो मार्टिनेज र मिरालेम पिजानिकलाई खरिद गर्नका लागि क्लबका जुनसुकै खेलाडी पनि ट्रान्सफर लिस्टमा रहन सक्ने मार्काले जनाएको छ ।
पछिल्लो समय मिडपिल्डर इभान राकिटिकले पनि आफू पनि क्लबमा रहन चाहेको बताएका थिए ।
सिनियर खेलाडीहरु राटिकिकसंग अर्टुरो भिडाल अनि जुनियर खेलाडी जिन क्लेर टोडिबो, ओसमान डेम्बेले, माउसा वेग र जुनियर फिर्पोलगायत खेलाडीहरु बिक्रीको लागि रहेको जनाइएको छ ।
हाल जर्मन क्लब साल्काबाट लोनमा खेलिरहेका तोडिबोले अर्को सिजन आफू साल्कामै रहन सक्ने बताएका थिए ।
उता अर्टुरो भिदालले भने आफू बार्सिलोनामा सेटल भएको र खुशी रहेको बताएका थिए ।
अब बार्सिलोनाका कुन खेलाडीको भविष्य के हुने भन्ने आउने दिनमै थाहा हुनेछ ।
प्रतिक्रिया 4