Comments Add Comment

सामान्य विवादमा बाटो छेकेर साथीको हत्या

तीन युवक पक्राउ

२० जेठ, विराटनगर । सुनसरीको इटहरीमा सामान्य विवादमा एक युवकको हत्या भएको छ । इटहरी उपमहानगरपालिका– २० तरहराका २८ वर्षका रादन राईको हत्यामा संलग्नको आरोपमा उनका तीनजना साथी पक्राउ परेका छन् ।

सामान्य विवादमा मध्यराति बाटो छेकेर राईको हत्या भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । हत्या आरोपमा पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका– ५ जहदा घर भइ तरहरा बस्दै आएका प्रज्वल तामाङ, तरहराकै अभिषेक पौडेल र अभिषेक केसी रहेका छन् ।

पक्राउ परेका तामाङ र पौडेल कक्षा १२ मा अध्ययनरत छन् । गिरी कक्षा ११ मा अध्ययन थिए । राईमाथि आइतबार राति तरहराको एकता चोकमा छुरा प्रहार भएको थियो । पेट र छातीमा छुरा लागेका राईको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार मृत्यु भएको थियो ।

राईको मृत्युपछि फरार भएका तीनजनालाई इटहरीको खनारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीले बताए । पक्राउ परेकाहरु माथि कर्तब्य ज्यान अभियोगमा अनुसन्धान सुरु गरेको उनले बताए ।

साथीको घरमा विवाद, बाटो छेकेर छुरा प्रहार

आइतबार घटनामा संलग्नहरुले मदिरा सेवन गरेका थिए । राति ९ः२० बजे बजे खिले भन्ने अमित घिमिरेको घरमा मृतक राई र प्रज्वल तामाङबीच सामान्य विवाद भएको थियो ।

प्रहरीका अनुसार विवादको कारण भने ठूलो थिएन । उनीहरुबीच जिस्कने क्रममा विवाद भएको प्रहरीले बताएको छ ।

सामान्य विवादपछि ९ः४० मा खिलेको घरबाट राई आफ्नो घरतर्फ आउँदै थिए । तर एकता मार्गमा जागिरमान राईको घरको दक्षिण पश्चिम बाटोमा तामाङसहित अभिषेक केसी र अभिषेक पौडेलले बाटो छेके ।

राईसँग भएको विवादमा रिसमा प्रज्वल तामाङले छुरा प्रहार गरेका प्रहरीको भनाइ छ । सामान्य विवादपछि उनी साथीसँग सल्लाह गरी छुरा लिएर आएका थिए ।

कुटपिट र छुरा प्रहारबाट गम्भीर घाइते भएका राईलाई लक्ष्मण गुरुङ, खिले भन्ने अमित घिमिरे र अनिल दाहालसमेतले उद्धार गरी नजिकैको नितान्त पोलिक्लिनिकमा लगे । पोलिक्लिनिकबाट थप उपचारको लागि धरान लगे । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको थियो ।

परिवारसहित बेलायतमा बस्दै आएका राई लकडाउनका कारण फर्कन पाएका थिएनन् । ३ महिनाअघि छुट्टीमा आफ्नो घर नेपाल आएका उनको लकडाउनका कारण हवाइ टिकट रद्द भएको थियो । उनी हवाई सेवा खुलेलगत्तै बेलायत फर्कने तयारीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment