Comments Add Comment

हिमालयन टर्मिनलले सुख्खा बन्दरगाहमा कन्टेनर पल्टी गर्न लगायो रोक

२० जेठ, वीरगञ्ज । लकडाउनका कारण वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राईपोर्ट)मा कन्टेनर थुप्रिएको छ । एक हजार ५ सय ५० कन्टेनर राख्न सक्ने क्षमताको ड्राईपोर्टमा त्यसको दोब्बर कन्टेनर छन् ।

कन्टेनरको व्यवस्थापनमा समस्या हुन थालेको भन्दै हिमालयन टर्मिनलले बन्दरगाहभित्र कन्टेनर पल्टी गर्न रोक लगाएको छ । बन्दरगाह सञ्चालक टर्मिनलले सूचना निकालेर एक साताका लागि यस्तो रोक लगाएको हो । लकडाउनका कारण समयमै कन्टेनरहरु पास हुन नसक्दा यार्डमा धेरै कन्टेनरहरु थुप्रिएका छन् । पर्याप्त खाली ठाउँ नभएकोले एक साताका लागि कन्टेनर पल्टी गर्ने काम स्थगित गरिएको टर्मीनलले जेठ १८ गते जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि केही आयातकर्ताले बन्दरगाहभित्रै गाडी लगेर कन्टेनरबाट मालसमान निकालेर ट्रकमा लोड गरेर लैजाने गर्दथे । टर्मिनलको यस्तो निर्णयपछि त्यसमा रोक लागेको छ । बन्दरगाहमा कन्टेनरको संख्या बढेर व्यवस्थापनमा कठिनाइ भएकोले बन्दरगाहभित्रै अनलोड गरेर मालसामान गाडीमा हाल्न रोकिएको टर्मिनलका अधिकारीहरु बताउँछन् ।

त्यसका लागि बन्दरगाहमा पर्याप्त ठाउँ नभएको तर्क उनीहरुको छ । तर आयातकर्ता, उद्योगी व्यवसायीहरु भने बन्दरगाह सञ्चालक कम्पनीको निर्णयबाट असन्तुष्ट छन् । उनीहरु दुःख दिनकै लागि टर्मीनलले त्यस्तो निर्णय गरेको दाबी गर्छन् । ४ हजार कन्टेनर यार्डमा हुँदा यस्तो निर्णय नगरेको टर्मीनलले अहिले कन्टेनर संख्या घट्दा यस्तो व्यवहार गर्नु गलत भएको तर्क उनीहरुको छ ।

सुक्खा बन्दरगाहमा कन्टेनर ह्याण्डलिङ गर्ने ठेक्का पाएको हिमालयन टर्मिनलको व्यवहारका कारण नेपाली उद्योगी व्यवासयीहरु सधैं समस्यामा पर्दै आएको व्यवसायीहरु बताउँछन् ।
तेश्रो मुलुकसँगको व्यापारका लागि रेलसेवा मार्फत कलकत्ता, हल्दिया, विशाखापटनम जस्ता बन्दरगाहसँग जोडिएका कारण वीरगञ्जको सुक्खा बन्दरगाह समान ढुवानीका निर्विकल्प थलो हो ।

तर टर्निमनल कम्पनीले अनेक बाहानाबाजी गरेर आयातकर्ता, उद्योगी व्यवसायी, भन्सार एजेन्टालाई दुःख दिने गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपाल बताउँछन् । बन्दरगाहको व्यवस्थापन सही नभएको, रेललाई अनलोड गर्नमा प्राथमिकता दिने तर समान लोड गर्न वास्ता नगर्ने गरेको, आयातकर्ता, उद्योगी व्यवसायीसँग परामर्श नगरी मनलाग्दी निर्णय लिने गरेको उनको भनाइ छ ।

‘कन्टेनर नै उद्योगसम्म लैजान भनिएको छ, काठमाडौं लगायत अन्य भागमा लैजानुपर्ने सामान कन्टेनरमा जानै सक्दैन, एक साता रोक्दा कन्टेनरको डिटेन्सन र ड्यामरेज तिर्नुपर्ने हुन्छ,’ उनले भने, ‘भित्र थप्ने तर बाहिर ननिकालिदिने गरेकोले नै समस्या थपिएको हो, यसको मारमा व्यापारी र नेपाली उपभोक्ता परेका छन् ।’

पटक-पटक हिमालयन टर्मिनलको कार्यशैली ठिक नभएको विषयमा कुरा उठाएपनि सरोकारवाला निकायले समाधानका लागि चासो नदेखाएको उनी बताउँछन् । राजपालले भने,  ‘टर्मिनलमा देखिएका समस्याहरुको उठान गर्छौ, तर समस्याको स्थायी र दीर्घकालिन समाधान गर्न सरोकारवाला निकायले चासो देखाउँदैनन् ।’

आयतकर्ता, उद्योगीले दैनिक १ सय ५० देखि २ सयसम्म कन्टेनर समान लिएर गइरहेका छन् । बन्दरगाहमा थुप्रिएका कन्टेनरकाे संख्या ४ हजारबाट २ हजार ५ सयमा झरेको छ । तर बन्दरगाहमा ३० हजार मेट्रिक टन फलाम र ७ हजार ५ सय मेट्रिकटन बोराबन्द मालसामान छ । २३ ओटा रेल बाटौमै रहेकोले १ हप्ताभित्र २ हजार २ सय कन्टेनर थपिने बन्दरगाह सञ्चालक कम्पनीले बताएको छ ।

कप्पनीका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरी पर्याप्त ठाउँ नभएकोले पल्टी सुविधा दिन नसकिने बताउँछन् ।

‘१५ सय चानचुन कन्टेनर क्षमताको पोर्ट छ, खाली र भरी गरेर ३८ सय चार हजार कन्टेनर हामीकहाँ छ । पल्टी गर्ने ठाउँमा कसरी काम गर्ने ?’ उनले भने ‘कन्टेनर पल्टी गर्दा अरु काम गर्न नसक्ने अवस्था आउँछ, ५० कन्टेनर खोलेर ५० वटा गाडी यार्डमा राखेर पल्टी गराउँदा बाँकी सबै काम रोकिन्छ । त्यसैले उत्तम उपाय भनेको पार्टीले आफ्नो कन्टेनर टेलरमा राखेर लैजान्छन्, आफ्नो उद्योगमा लगेर खाली गर्छन् ।’

‘कन्टेनर ट्राफिक, जहाँबाट एक्सपोर्ट भयो त्यहाँदेखि उद्योगसम्म जाने हुन्छ तर यहाँ पोर्टमा कन्टेनर खाली गरेर ट्रकमा समान लैजाने गरिन्छ । यसो गर्दा २५ कन्टेनर राख्न सक्ने ठाउँमा एक कन्टेनर राख्नुपर्छ,’ उनले भने, ‘पोर्टमा दबाव कम नभएसम्म कन्टेन पल्टी सुविधा दिन सकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment