
काठमाडौं । कुनै गम्भीर चोट वा दुर्घटनाका कारण मानिसहरू कोमामा पुग्छन् कहिलेकाहीँ । कोमामा गइसकेपछि मानिसको सुन्ने, सोच्ने तथा सम्झिने, बोल्ने र महसुस गर्ने क्षमता नष्ट हुन्छ । कोमाको मानिसको केवल सास मात्र बाँकी हुन्छ वा केवल ऊ नाममात्रको जीवित हुन्छ।
कतिपय मानिसहरूमा त कोमाबाट ब्युँझिएपछि पनि स्मरण शक्ति गुमेको पाइन्छ। उनीहरूले आफ्ना विगतका कतिपय वा पूरै घटनाक्रमहरु बिर्सिन्छन् । तर बेलायतमा भने यसको ठ्याक्कै उल्टो अनौठो घटना भएको छ।
बेलायतका एकजना अंग्रेजीभाषी पूर्व फुटबल खेलाडीले कोमाबाट ब्युँझिएसँगै फरर्र फ्रेन्च बोल्न थालेका छन् ।
ररी कर्टिस नामका फुटबलरको सन् २०१४ मा भएको गम्भीर दुर्घटनापश्चात उनी ६ महिना कोमामा गएका थिए । कोमाबाट जाग्दा उनले आफ्नो जीवनका पछिल्ला १२ वर्षका सबै स्मरणहरू गुमाएका थिए ।
तर १२ वर्षका सबै यादहरू गुमाएका उनले सबैलाई छक्क पार्दै फरर्र फ्रेन्च भाषा बोल्न सुरु गरे । जबकि दुर्घटना अगाडि उनलाई अंग्रेजीबाहेक अन्य कुनै पनि भाषा बोल्न आउँदैन’थ्यो ।
सोसल मिडियामा जब यो मामिला सार्वजनिक भयो तब मानिसहरूले यसलाई चमत्कार भन्न थाले । कतिपयले यसलाई उनको पूर्व जन्मसँग पनि जोड्न भ्याए।
बीबीसीको रिपोर्टअनुसार कर्टिसका पुर्खाहरू१८ औँ शताब्दीमा फ्रान्सको नरमेन्डीमा बस्दथे । पछि उनका पूर्वजहरू बेलायत बसाइँ सरेका थिए । तर उनको परिवारमा अहिले कसैलाई पनि फ्रेन्च भाषा आउँदैन ।
तर कोमापछि उनलाई फरर्र कसरी फ्रेन्च भाषा फुर्यो ? भन्ने कुराचाहिँ निकै रहस्यमय रहेको छ । सायद उनले बाल्यकालमा कुनैबेला फ्रेन्च सिक्ने प्रयास गरेको र सोही बेलाको सिकाइ अहिले फर्किएको हुन सक्ने अनुमान गरिएको छ।
–एजेन्सी
प्रतिक्रिया 4