Comments Add Comment

के इरानमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको हो ?

Photo Credit : GETTY IMAGES

२९ जेठ, काठमाडौं । पछिल्लो केही सातायता इरानमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण उल्लेख्य मात्रामा बढिरहेको छ । यस्तोमा इरानमा यो महामारीको दोस्रो लहर सुरु भएको हो ? भन्ने आशंका पनि बढिरहेको छ ।

इरानले अप्रिलको मध्यदेखि मुलुकमा लगाएको लकडाउन खुकुलो गर्ने निर्णय गरेको थियो । बिस्तारै नयाँ संक्रमितको संख्यामा कमी आएसँगै इरानले यस्तो निर्णय गरेको थियो । तर त्यसको केही समयपछि इरानमा पुनः संक्रमण बढ्न थाल्यो । त्यसैले इरानले लकडाउन छिटो खोल्नुको मूल्य अहिले चुकाइरहेको हो ? भन्ने प्रश्न उब्जिएको छ ।

कस्तो छ संक्रमणको अवस्था

जुन महिनाको पहिलो सातामा नयाँ संक्रमितको संख्या दैनिक तीन हजारको हाराहारीमा देखिएको छ । अघिल्लो साताको तुलनामा नयाँ संक्रमित औसतमा ५० प्रतिशतले बढेका छन् ।

जुन ४ मा नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च तीन हजार ५७४ पुगेको थियो । त्यसपछि भने बिस्तारै यो संख्यामा कमी आएको छ । यसअघि एकैदिनमा भेटिएका सबैभन्दा धेरै नयाँ संक्रमितको संख्या तीन हजार १८६ थियो । त्यतिबेला इरानमा सुरुवाती चरणको महामारी फैलिएको थियो । इरान चीनपछि सबैभन्दा प्रभावित बनेको मुलुक बन्न पुगेको थियो ।

यो समयमा इरानले समयमा नै मस्जिद र प्रमुख धार्मिक स्थल बन्द नगरेका कारण यो अवस्थाको सामना गर्नुपरेको भन्दै आलोचना भएको थियो । अप्रिलमा इरानमा नयाँ संक्रमितको संख्या घटेर एक हजारभन्दा कम भयो । त्यससँगै इरानले लकडाउन खुकुलो पार्न थाल्यो ।

लकडाउन खुकुलो बनाउने क्रममा इरानले विभिन्न चरणमा यसलाई खुल्ला गरेको छ । जुन निम्नानुसार छ ।

अप्रिल २० : सपिङ मल र बजार तथा दुई प्रान्तबीचको भ्रमण खुलाउने निर्णय

अप्रिल २२ : सार्वजनिक पार्क र मनोरञ्जनका क्षेत्रहरू खुल्ला गर्ने निर्णय

मे १२ : सबै मस्जिद खुल्न सक्ने सरकारको घोषणा

मे २५ : सिया समुदायको धार्मिक स्थलहरू खुला

मे २६ : रेस्टुरेन्ट, क्याफे, म्युजियम र ऐतिहासिक क्षेत्र खुला

यससँगै इरानका सहरको यातायात, बैङ्क तथा कार्यालयहरूमा मानिसहरूको भिडभाड उल्लेख्य मात्रामा बढ्यो । सुरुमा यो महामारी कोम र राजधानी सहर तेहरानमा मात्र देखिएको थियो । तर अहिले भने इरानको धेरै भागमा यो महामारी फैलिएको छ । विशेषगरी दक्षिण पश्चिममा रहेको इराकसँग सीमा जोडिएको तेलको धनी प्रान्त खुजेस्तानमा पनि यो महामारी फैलिएको छ ।

इरानमा संक्रमण किन फैलिरहेको छ ?

इरानमा लकडाउन खुकुलो पारिएसँगै सामाजिक अन्र्तक्रिया पनि बढेको छ । यद्यपि, अधिकारीहरूले भने पछिल्लो समय इरानमा बढी देखिएको संक्रमणको कारण धेरै परीक्षण हुनु रहेको बताउँछन् । राष्ट्रपति हसन रौहानीले अहिले परीक्षण नै धेरै भएकाले धेरै संक्रमण देखिनु स्वाभाविक रहेको बताएका छन् ।

इरानको स्वास्थ्य मन्त्रालयका प्रमुख संक्रामक रोग विशेषज्ञ मोहम्मद मेह्दी गोउया अहिले सरकारले लक्षण नदेखिएका संक्रमितको पनि पहिचान गर्न थालेकाले संक्रमितको संख्या बढेको बताए ।

अहिले इरानले प्रत्येक ७९ जना मानिसमध्ये एक जनाको परीक्षण गरिरहेको छ । जबकि दुई महिनाअघि उसले प्रत्येक ३८० जनामा एकजनाको परीक्षण गर्ने गरेको थियो । तर परीक्षणको अनुपातमा हेर्ने हो भने पनि अप्रिलमा उल्लेख्य मात्रामा घटेको संक्रमण मे महिनाको मध्य र अन्त्यमा भने बढेको देखिन्छ ।

मे २९ मा ११ प्रतिशतभन्दा कम मानिसमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो । तर जुन ६ मा भने यो संख्या बढेर १४ प्रतिशतमा पुगेको छ ।

स्वास्थ्य अधिकारीहरू दैनिक मृत्यु हुनेको संख्या पनि अप्रिलको मध्ययता एक सयभन्दा कम रहनु पनि एक महत्वपूर्ण विषय रहेको बताउँछन् । गत महिना इरानमा कोरोना भाइरसको कारण एकैदिनमा मृत्यु हुनेको संख्या ३० देखि ९० को बीचमा छ ।

यद्यपि, संक्रमित संख्या बढेको असर मृतको संख्यामा देखिन केही साता लाग्न सक्छ । त्यसका साथै इरानको संसद्को अनुसन्धान केन्द्रको प्रतिवेदनले कोरोना भाइरसबाट मृत्यु हुनेको वास्तविक संख्या आधिकारिक संख्याभन्दा दोब्बर हुन सक्ने देखाएको थियो । इरानले सार्वजनिक गरेको तथ्यांकमा अस्पतालमा मृत्यु हुनेको संख्या मात्र गणना गरिएको थियो ।

भौतिक दुरीको अवस्था के छ ?

इरानका स्वास्थ्यमन्त्री सइद नामकीले मानिसहरूले भौतिक दुरीको नियमको बेवास्ता गरिरहेको बताएका छन् । मानिसहरूले यो रोगलाई पूर्णरुपमा बेवास्ता गरेको उनको भनाइ छ । उनले भने, ‘मानिसहरूले स्वास्थ्य नियमलाई मान्दैनन् भने हामी सबैभन्दा नराम्रो अवस्थाको लागि तयार रहनुपर्छ ।’

स्वास्थ्य मन्त्रालयको गतसाता सार्वजनिक भएको सर्वेक्षणका अनुसार ४० प्रतिशत मानिसले भौतिक दुरीको नियम पालना गर्ने गरेका छन् । महामारीको सुरुवातमा यो संख्या ९० प्रतिशत थियो । त्यस्तै, ३२ प्रतिशतले सेल्फ आइसोलेसनको नियम पालना गरेको पाइएको थियो । यो संख्या सुरुमा ८६ प्रतिशत थियो ।

सरकारसँग के विकल्प छ ?

राष्ट्रपति रौहानीले महामारीको अवस्था झन् खराब हुँदै गए लकडाउन पुनः जारी गर्न सकिने चेतावनी दिएका छन् । यद्यपि, इरानको नेतृत्व भने महामारीको दोस्रो लहरको विषयमा कुरा गर्न चाहँदैनन् । त्यसो त अमेरिकाले लगाएको प्रतिबन्ध, भ्रष्टाचार र अव्यवस्थाको चुनौतीको सामना गरिरहेको मुलुकले निरन्तरको लकडाउन सामना गर्न नसक्ने धेरैको भनाइ छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment