Comments Add Comment

जर्ज फ्लोयड र शम्भु सदा

जर्ज फ्लोयडको मृत्युपश्चात्त अमेरिकामा रंगभेदविरुद्धको डढेलो दन्कियो । फ्लोयडको मृत्युमा क्षतिपूर्ति र न्यायका लागि आक्रोश थिएन । फ्लोयडसँग भएको रंगभेदी व्यवहारको समपीडाको बोध सारा कालाहरुले गरे । सीमान्तकृतसँग राज्यले गर्ने पूर्वाग्रही व्यवहारको अनुभुति सम्पूर्ण कालाहरुमा भयो ।

राज्यका संरचनाहरु यस प्रकारका बनाइएका छन् कि हामी र तिमीबीच व्यवहारमा ठूलो भिन्नता छ । आर्थिक, सामाजिक र राजनीतिक संरचनाहरुमा आग्रह छ । कानूनको प्रयोग फरक समुदायसँग फरक हिसावले हुन्छ । कालाहरुले उठाएका यी प्रश्नहरुमा केही पढेलेखेका गोरा र अन्य मूलका मानिसहरुले पनि साथ दिए ।

शम्भु सदा धनुषाको सबैला प्रहरी चौकीमा झुण्डिएको अवस्थामा जेष्ठ २८ गते फेला परे । शम्भुको केवल एक मात्र दोष थियो, उनी मधेशका मुसहर समुदायमा जन्मेका थिए । यसकारण उनको बाँच्न पाउने हक थिएन । मालिकले चाहेसम्म मात्र उनी जिउँदो रहन सक्थे ।

आर्थिक रुपले विपन्न युवा जीविकोपार्जनका लागि सवारी चालक अनुमति प्रमाणपत्रसमेत लिएका थिए । भर्खरको २२ वर्षे अल्लारे ठिटाले चलाएको ट्रयाक्टरले ४० वर्षीया सुमित्रा साहलाई झुक्किएर ठक्कर दिन्छ र उनको मृत्यु हुन्छ । शम्भु प्रहरी चौकीमा आत्मसमर्पण गर्छन् । सवारी ज्यान मुद्दामा सोह्र दिन हिरासतमा बस्छन् ।

अचानक एक रात उनको लास प्रहरी चौकीको शौचालयमा झुण्डिएको अवस्थामा फेला पर्छ । प्रश्न यो होइन कि उनी आफैं आत्महत्या गरे वा अन्य कसैले मारेर झुण्डयाइ दिए, त्यो फौज्दारी न्यायका लागि महत्वपूर्ण प्रश्न होला । तर, प्रश्न यो महत्त्वपूर्ण छ कि, उनलाई त्यो अवस्थामा पुर्याउने आर्थिक र प्रशासनिक संरचनाहरु हामीले किन बनायौं ?

एक छाक रोटीका लागि मालिक सञ्जय साहको ट्रयाक्टर चलाउँथे । बाँच्नका लागि अपनाएको जीविकोपार्जनको साधनले नै उनको ज्यान लियो । के मुसहर दलितहरुको ज्यानको कुनै महत्त्व छैन ?

उनकी कलीली श्रीमतीको जीवनमा परेको कस्तो बज्रपात ! शम्भुका छोराछोरीले आफ्ना बुवालाई जिवनभरि देख्न नपाउने भए । उनकी आमा र भाइ बहिनीहरु आर्थिक रुपले उनैमाथि आश्रित थिए । त्योभन्दा पनि महत्त्वपूर्ण प्रश्न उनी जर्ज फ्लोयड जस्तो आन्दोलनको प्रतिक हुन पाएनन, अमेरिकामाजस्तो हाम्रो समाजको संवेदनशीलतालाई छोएन । अमेरीका लगायतका युरोपयन देशहरुमा बल्याक लाइफ मेटर आन्दोलनले उँचाइ लिएका बेलामा हामीकहाँ दलित लाइफ मेटर आन्दोलनको सुरुवात किन हुन सकिरहेको छैन ? किन दलित युवाहरु अनाहकमा मारिन्छन् र समाज र राज्यको संवेदनालाई छुँदैन ।

यो पनि पढ्नुहोस हिरासतमा मृत भेटिएका शम्भुले भनेका थिए– चाँडै नछुटाए मलाई मार्छन्

शम्भु रंगभेद र जातीय आन्दोलनको प्रतीक हुन पाएनन् । सायद शम्भु अमेरिकामा जन्मिएको भए आज एउटा पोस्टमार्टम र निष्पक्ष छानवीनका लागि आमालाई जनक चौकमा वेहोस हुनु पर्दैन्थ्यो । मृत्यु पश्चात्त पनि जार्ज फ्लोयड जस्तै अमर हुन सक्थे ।

देश, परिवेश र मृत्युको कारण फरक होला, तर प्रवृत्तिमा कुनै तात्विक भिन्न्ता छैन । अमेरिकामा सूचना प्रणालीको ठुलो पहुँच छ, सारा संसारले फ्लोयडको वेदना देख्न र बुझ्न पाए । त्यहाँ मानिसहरुको संवेदना जिउँदा छन् , तिनीहरु जीवित छन् । हाम्रो समाजको संवेदनशीलता शून्यताको अवस्था छ । शम्भु सदाको जीवन हाम्रा लागि कुनै अर्थ राख्दैन ।

अमेरीका लगायतका युरोपयन देशहरुमा बल्याक लाइफ मेटर आन्दोलनले उँचाइ लिएको वेलामा हामी काँहा दलित लाइफ मेटर आन्दोलनको सुरुवात किन हुन सकिरहेको छैन ? किन दलित युवाहरु अनाहकमा मारिन्छन् र समाज र राज्यको संवेदनालाई छुँदैन । तिनका पीडासँग भावनाहरु जुटदैनन् । किनभने हाम्रा लागि मानवीय संवेदना भन्दा पनि जातीयता महत्त्व राख्दछ । यसकारण उनको हत्यारा एक व्यक्ति भन्दा पनि उनी जन्मेको ठाउँको सामाजिक संरचना हो । प्रश्न क्षतिपूर्ति र छानविनमा गएर टुंग्याइयो भने फेरि अर्को शम्भु सदाले ज्यान गुमाउनु पर्ने हुन्छ । बव मेर्लीले बडा राम्रो गीत गाएका छन्, मानसिक दासत्वबाट उन्मुक्ति सामाजिक संरचना परिर्वतनको आधार हो ।

यदि जर्ज फ्लोयड  धनुषाको सबैलामा जन्मेको भए उनी पनि शम्भु सदा झैं गुमनाम मृत्युको शिकार हुन्थे

संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाले नेपाली राज्य प्रणालीको आधारभुत संरचना रुपान्तर गर्न सकेन । शहरमा मुठ्ठीभर व्यापारी र गाउँमा जमिन्दार र उच्च वर्गका भनिनेहरु राज्य संयन्त्रलाई आफू अनुकुल प्रयोग गर्न छाडेनन् । आम जनता भन्दा पनि मुठ्ठीभरका छोटे राजाहरुबाट लोकतन्त्र निर्देशित भएपछि शम्भुजस्ता पिल्सन बाध्य भए । शक्तिको श्रोत सडक र आम मानिस हो भन्ने बुझाइ संसद, न्यायालय र राज्य संरचनामा बुझाउन सकिएन ।

यसकारण अन्यायप्रतिको मौनता हाम्रो सामाजिक संरचना र जीवनशैली बन्न पुग्यो । मौनताले शम्भु सदाको नियति भोलि हाम्रै परिवारका सदस्यको हुन्छ भन्ने कल्पना समेत गर्न छाड्यौँ । यदि जर्ज फ्लोयड धनुषाको सबैलामा जन्मेको भए उनी पनि शम्भु सदा झैं गुमनाम मृत्युको शिकार हुन्थे ।

सीमान्तकृत र अछुत भनिनेको पीडा बोल्नु त अहिले अपराध भइसकेको छ । त्यो पनि राष्ट्रविरुद्धको अपराध । सामाजिक सद्भाव खलबलाउने र अराष्ट्रिय तत्वको उपनाम तत्काल भिराइन्छ । क्षेत्राधिकार र पदीय मर्यादा उल्लंघनको आरोप त दिनचर्या नै भइसक्यो । आफ्नो ठाउँबाट पदीय दायित्वको जिम्मेवारी वहन पनि होला । तर, यो सम्पूर्ण संरचना सफाईको बिषय हो । कोही एक्लैले गरेर संभव पनि छैन । न्यायका लागि शम्भुका परिवारका सदस्य र मुसहर समुदायका मानिस जनकपुरको तातो सडकमा खाली खुट्टा नारा जुलुस लगाँउदा समाजका ठुलो तप्का मौन छन् । शम्भु सदाको मृत्यमा आम मानिसको स्वीकार्यता र मौनताले हाम्रो समाजको फेरिएको नैतिक धरातलको यथार्थ तस्वीर चित्रण गर्दछ ।

मेरा बाउबाजेले बनाएको अथवा स्वीकारेको संरचनाले आज शम्भु र जर्ज फ्लोयडलाई कतै जाति त कतै रंगको आधारमा ज्यान दिनु परेको छ । हो म क्षमाप्रार्थी छु । केही लाभांशको अंशधारी भएको हुनाले अधर्मको पनि भागी छु । आफू विभेद नगरे पनि सदियौँदेखि कायम रहेको संरचनात्मक विभेदको अंशियारको हैसियतले क्षमा माग्ने साहास देखाउन सकनु पर्दछ ।

त्यतिमात्र होइन, कायम रहेका जातीय, क्षेत्रीय, लैंगिक विभेद भत्काउने कार्यमा लाग्नु पर्दछ । भीष्म पितामह अधर्म सभामा सहभागी थिए । द्रौपदीको चिरहरणमा मौन थिए । आफ्नै मृत्युदण्ड घोषणा गरी मोक्ष प्राप्त गरे । यो पुस्ताले पनि मौनता साँधे वा हिम्मत देखाएर सामाजिक र शक्तिका संरचनाहरु परिवर्तन गराई शम्भु सदालाई न्याय दिलाउन सकेनन् भने इतिहासले मौन बस्नेहरुको पनि हिसाब राख्नेछ ।

समर शेष है, नहीं पाप का भागी केवल व्याध ।
जो तटस्थ हैं, समय लिखेगा उनके भी अपराध ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment