५ असार, काठमाडौं । टासी घले तेस्रो पटक मानार्थ अध्यक्ष बनेर अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रिएका छन् । गत मंगलबार नियुक्त भएका घलेले शुक्रबार एन्फा मानार्थ अध्यक्षको पदभार ग्रहण गरेका छन् ।
घलेलाई शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, महासचिव इन्द्रमान तुलाधरलगायत अन्य पदाधिकारीले स्वागत गरे ।
मंगलबार बसेको वर्तमान एन्फा कार्यसमितिको आपतकालीन बैठकले घलेलाई दोस्रो पटक मानार्थ अध्यक्षमा मनोनयन गरेको थियो । १७ महिनाअघि एन्फा केन्द्रीय समितिले नै घलेलाई उक्त पदबाट बर्खास्त गरेको थियो ।
त्यसअघि उनी नरेन्द्र श्रेष्ठ एन्फाको अध्यक्ष हुँदा पहिलो पटक मानार्थ अध्यक्ष पदमा थिए । समग्रमा घले तेस्रो पटक एन्फाको ‘सेरेमोनियल’ पदमा नियुक्त भएका हुन् ।
यस पटक घलेको नियुक्ति भन्दा पनि मानार्थ अध्यक्षमा फर्काएको बुझ्न सकिन्छ । एन्फा आफैँले बर्खास्त गरेर घलेलाई पुन: सोही पदमा फर्काएको हो ।
२०७५ साल जेठ २२ गते भएको निर्वाचनमा घलेले कर्माछिरिङ शेर्पाको टिमलाई सघाएपछि उनले मानार्थ अध्यक्ष पदमै दोस्रो पटक नियुक्ति पाएका थिए ।
तर नयाँ कार्यसमितिसंग वाचा अनुसारको काम हुन नसकेको र विवाद बढ्दै जान थालेपछि एन्फा कार्यसमितिको २०७५ माघ ३ गते बसेको बैठकले घलेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
घलेले मानार्थ अध्यक्ष भएपछि अन्तर्राष्ट्रिय विभाग वा युवा परियोजना हेर्न पाउनुपर्ने अडान राखेका थिए । तर एन्फाले अन्तर्राष्ट्रिय विभागमा नवीन पाँडेलाई नियुक्त गरेपछि घले असन्तुष्ट बनेका थिए ।
त्यसपछि शेर्पा नेतृत्वको विरोध गर्दै आएको चार असन्तुष्ट जिल्ला फुटबल संघसंग मिलेर निर्वाचनमा आर्थिक लेनदेन भएको अडियो सार्वजनिक गर्दा घले पनि त्यसमा सहभागी भएका थिए ।
मानार्थ अध्यक्ष नै विवादित विषयमा संलग्न भएपछि एन्फाले उनलाई कारवाही गर्दै पदबाट हटाएको थियो ।
बर्खास्तीमा परेपछि घलेले पाटन उच्च अदालत, राष्ट्रिय खेलकुद परिषद (राखेप) हुँदै सर्वोच्च अदालतमा पनि उजुरी दर्ता गराएका थिए । पछि सर्वोच्चले राखेपलाई नै यो विवाद मिलाउन आदेश दिएपछि राखेप सदस्य सचिव रमेशकुमार सिलवालले घलेलको पुन: एन्फा फर्कने बाटो तय गराएका थिए ।
नेपाल गल्फ संघका अध्यक्ष समेत रहेका घले नेपाल ओलम्पिक कमिटिको कार्यसमिति सदस्य समेत हुन् ।
यसैबीच एन्फाले शुक्रवार सामाजिक उत्तरदायित्य समितिको सदस्यमा रविन महर्जनलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया 4