Comments Add Comment

जनताबाट रकम उठाएर नारायणी अस्पतालमा पीसीआर मेसिन

५ असार, वीरगञ्ज । आम नागरिकबाट सहयोग रकम उठाएर वीरगञ्ज महानगरपालिकाले किनेको पीसीआर मेसिन नारायणी अस्पताललाई हस्तान्तरण गरिएको छ ।

कोरोना कोष स्थापना गरेर वीरगञ्ज महानगरपालिकाले नगरबासीलाई पीसीआर मेसिन खरिदमा आर्थिक सहयोग आव्हान गरेको थियो, जसमा १ करोड ७२ लाख ६७ हजार ४ सय ७३ रुपैयाँ संकलन भएको थियो । त्यसमध्येबाट भ्याटसहित ६३ लाख ८३ हजार ३७७ रुपैयाँको पीसीआर मेसिन खरिद गरेर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

वीरगञ्जका विजय कुमार सरावगी र नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायेल पीसीआर मेसिन सञ्चालन तथा व्यवस्थापनबारे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार भीटीएम किट लगायत आवश्यक सामाग्री संघ र प्रदेश सरकारसँग माग गर्ने र नपुगेमा महानगरसँग समन्वय गर्ने उल्लेख छ । मेसिनमा कुनै खराबी आए महानगरले मर्मत गर्नेछ । साथै कोरोना महामारी सकिएपछि मेसिन लगायतका उपकरण महानगरलाई फिर्ता गर्नुपर्नेछ ।

नारायणीमा अहिले भएको मेसिनले एक पटकमा ३४ वटा नमुना परीक्षण गर्छ । नयाँ मेसिनमा  ७० वटासम्म नमुना टेष्ट गर्न सकिनेछ । यसले परिक्षण बढ्नेछ । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट उपाध्याय भन्छन्, ‘महानगरले दिएको मेसिन डबल क्पासिटीको छ । अब प्रदेश २ कै स्वाब परीक्षण गर्न सफल हुनेछौं ।’

संघ सरकारले अभिभाकत्व निर्वाह गरेन : मुख्य मन्त्री राउत

कार्यक्रमका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड-१९ महामारीमा संघ सरकारले अभिभावकत्व लिन नसेकेको बताए । अरुभन्दा प्रदेश २ कोरोनाबाट बढी प्रभावित भएको भन्दै उनले भने, ‘महामारी नियन्त्रणमा संघ सरकारले अभिभाकत्व लिनुपर्ने हो, त्यो हुन सकेको छैन ।’

‘क्वारेन्टिन व्यवस्थापन गर्ने स्थानीय तहलाई संघ सरकारले कति पैसा दिएको छ ? हामीले जिल्ला विपद व्यवस्थापन समितिलाई ५० लाख दियौं, सशस्त्र र नेपाल प्रहरीको डिआईजी बस्ने कार्यालयलाई २०/२० लाख पठायौं । नारायणी अस्पतालमा पीसीआर ल्याब बनाउन ५० लाख र संक्रमितलाई खाना र नास्ता खुवाउन २५ लाख दिएका हौं । राहत वितरण तथा अन्य स्वास्थ्य सामाग्री खरिदमा लाखौं खर्च गरेका छौं ।’

प्रदेश सरकारले पीसीआर मेसिन किनेर जनकपुर र राजविराजमा ल्याब सञ्चालनमा ल्याएको भन्दै उनले वीरगञ्जलाई थप एउटा मेसिन दिने तयारी भइरहेको बताए । प्रदेश सरकारले भीटीएम १ हजार, आरडीटी किट १ हजार, पीपीई सेट ५०, गाउन १०० सेट, मास्क एक हजार थान नारायणी अप्ताललाई दिएको छ ।

वीरगञ्जका मेयर सरावगीले हरेक घरका एक जनाको परीक्षण गर्ने नीति लिइएको बताए । ‘३०० देखि ५०० रुपैयाँको लागतमा परीक्षण गर्न सक्छौं भन्ने छ । यसरी पर्सा मात्र होइन, आसपासका जिल्ला र प्रदेश नं २ लाई कोरोनामुक्त बनाउन सकिन्छ’ उनले भने ।

कोभिड अस्पताल सञ्चालनका लागि आर्थिक र भौतिक व्यवस्थापनको जिम्मा महानगरलाई मात्र दिएको भन्दै असन्तुष्टि जनाए । ‘कोभिड अस्पताल सञ्चालनको जिम्मा केन्द्र सरकारको थियो, महानगरलाई खर्च व्यवस्थापन गर्न भनिएको छ’ उनले भने ‘कोभिड अस्पतालमा वीरगञ्ज महानगरका मानिसलाई मात्रै राख्ने कि पुरै जिल्लाका जनतालाई ?’

बारा र रौतहटका संक्रमितहरुलाई ल्याउँदा मानवीय हिसाबले पनि रोक्न नसकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment