Comments Add Comment

नारायणी लिफ्ट सिँचाइको नहरमा असार दोस्रो साता पानी छाडिने

८, असार, चितवन । पश्चिम चितवनमा सिँचाइको भरपर्दो स्रोत नारायणी लिफ्ट सिँचाइ आयोजनाले असार तेस्रो सातादेखि नहरमा पानी छाड्ने भएको छ । नहरमा पानी पठाउने चारवटा पम्प मर्मतका लागि बुटबल पठाइएकोमा दुईवटा मर्मत गरेर ल्याइएको छ ।

ती पम्प जडानको क्रममा रहेको नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय प्रमुख खेमबहादुर पाठकले जानकारी दिए । बाँकी दुई पम्प मर्मतको चरणमा छन् ।

नारायणी लिफ्ट सिँचाइ आयोजना अन्तर्गत खगेरी नहर पनि छ । पूर्वी चितवनको खगेरी खोलालाई रत्ननगर ९ टिकौली कपरखोरी नजिक बाँध बाँधेर लगिएको नहर असार १५ गतेबाट सञ्चालन गर्ने योजना छ ।

यो नहरले भरतपुर महानगरपालिकाभित्र पर्ने पश्चिम चितवनको गीतानगर, पटिहानी, जगतपुर, पार्वतीपुर, मंगलपुर, शारदानगर, गुञ्जनगर र शारदानगरका खेतमा सिँचाइ सुविधा पुर्‍याएको छ ।

पानी छाड्ने नहरको अधिकांश भागमा बालुवा र माटो झिकेर सफा पारिएको छ, केही भागमा सफाइ भइरहेको छ ।

लिफ्टको पानी नहरमा छोडेपछि मात्रै पश्चिम चितवनका पोखरी, इनार तथा धारामा पानी आउने गरेको स्थानीय वासिन्दा बताउँछन् । नारायणी लिफ्टकै पानीको मद्दतले पश्चिम चितवनका किसानले रोपाईं गर्दै आएका छन् ।

५२ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको नारायणी लिफ्टमा ३ वटा क्यानल छन् । ‘ए’ क्यानल पाँच सय मिटर, ‘बी’ क्यानल १९ किलोमिटर र ‘सी’ क्यानल १६.५ किलोमिटर लामो छ । नारायणी नदीबाट लिफ्टमार्फत तानिएको पानी ‘बी’ र ‘सी’ नहरबाट महानगरका विभिन्न भागका फाँटमा पुर्‍याइएको छ ।

भरतपुर महानगरपालिका– १ मा रहेको जोरकुसुम पार्क नजिक नारायणी नदीको पानी २२ मिटरमाथि लिफ्ट गरेर मुख्य नहरमा ल्याइन्छ । त्यसको पाँच सय मिटर पर पुनः दुई वटा शाखा निर्माण गरी पानी पठाइएको छ । १८ मिटर माथि लिफ्ट गरेर ‘सी’ नहरबाट र लिफ्ट नगरी ‘बी’ नहरबाट पानी पठाइन्छ ।

आयोजनाबाट भरतपुर महानगरपालिकाको वडा नं. ४ देखि ९ सम्म तथा वडा नं ११, १२, १४ र १५ गरी करिब चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुँदै आएको छ । दुईवटा चार घनमिटरको पम्प तथा एउटा दुई घनमिटरको पम्पबाट पानी तानेर नहरमा पठाउने गरिएको छ ।

‘बी’ नहरले यज्ञपुरी, नारायणपुर, तोरीखेत, पारसनगर, देवनगर र फुलवारीसम्म र ‘सी’ नहरले बसेनी, भोजाड, टिकौली जंगल छेउ हुँदै गौरीगञ्जसम्म सिँचाइ सुविधा पुर्‍याएको छ ।

नारायणी लिफ्ट प्रशाखा नम्बर ८ का अध्यक्ष धर्म कार्कीले नहरमा पानी पठाउन नहर सरसफाइ र मर्मत सम्भारको काम भइरहेको बताए ।

खगेरी सिँचाइ प्रणाली र नारायणी लिफ्ट प्रणालीले चितवनको ८ हजार ६ सय हेक्टर सिँचाइ गर्दै आएकोमा वर्षेनी यसको क्षत्रफल घट्दै गएको छ ।

नहर अतिक्रमण हुनुअघि नारायणी लिफ्टले चार हजार ७०० हेक्टर जमिन सिँचाइ गर्दै आएको थियो । अहिले तीन हजार ५०० हेक्टर जमिन सिँचाइ हुँदै आएको छ । नारायणीबाट लिफ्ट गरेको पानीलाई खगेरी सिँचाइ आयोजनाको नहरमा लगेर थप ३ हजार हेक्टरभन्दा बढी खेतमा सिँचाइ गर्न पनि सकिन्छ ।

खगेरीमा हिउँदमा खासै पानी हुदैन । नारायणी लिफ्टको सिँचाइ क्षेत्रमा नहर नपुग्ने ६ स्थानमा डिभिजन कार्यालयले डिप बोरिङको व्यवस्था गरेको छ ।

हिउँदमा नहर चलाउन नयाँ पम्प खरिद गरिँदै

बर्खाको चारमहिना मात्रै चल्ने नारायणी लिफ्टलाई हिउँदमा समेत चलाउने गरी नयाँ पम्प खरिद गर्न टेण्डर आह्वान भएको छ । अहिले भएका भर्टिकल पुराना चार पम्पलाई विस्थापन गरी पानीभित्रै राख्न मिल्ने नयाँ मोटर खरिदका लागि टेण्र आह्वान गरिएको नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय प्रमुख खेमबहादुर पाठकले बताए ।

यसका लागि प्रदेश सरकारले बहुबर्षीय ठेक्का अन्तर्गत ४० करोड रुपैयाँ प्रदान गरेको छ । चालु आर्थिक बर्षमा १५ करोड रुपैयाँ दिइएको छ । मोटर खरिदका लागि बोलपत्र असार १८ गतेसम्म बुझउने म्याद दिइएको छ । आयोजना प्रमुख पाठकले सकभर चालु वर्षमा नै ठेकेदार छनौट गरी सम्झौता गरेर काम अघि बढाइने बताए ।

उनले हिउँदमा पनि पानी नहरमा पठाउन सके त्यसले पश्चिम चितवनको कृषि उत्पादनमा ठूलो फाइदा गर्ने बताए । ‘एकातिर माटोसमेत रिचार्ज हुन्छ, अर्कोतिर तरकारी, गहुँलगायतका बालीलाई फाइदा गर्छ’ प्रमुख पाठकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment