Comments Add Comment

तनहुँमा क्वारेन्टिनमा बसेका व्यक्तिले गरे आत्महत्या

१० असार, काठमाडौं । तनहुँमा क्वारेन्टिनमा बसेका एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् ।

घिरिङ गाउँपालिका–३ सुन्धारास्थित चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका अन्दाजी ४९ वर्षीय पुरुषले मंगलबार राति झुन्डिएर आत्महत्या गरेका हुन् ।

गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद रिमालका अनुसार आफू बस्दै आएको क्वारेन्टिनको कोठाको पँखामा ट्रयाकसुट च्यातेर झुन्डिएको अवस्थामा उनलाई फेला परेको हो । उनले भने, ‘राति करिब ८ बजेको समयमा खानाका लागि बोलाउने जाने क्रममा उनी बसेको कोठा भित्रबाट लक गरेको रहेछ । झ्याल खोलेर हेर्दा उनी पँखामा झुन्डिएको अवस्थामा क्वारेन्टिनमा बसेकाहरुले देखेपछि हामीलाई खबर भयो । उनले आफैंले लगाएको ट्रयाकसुट च्यातेर पंखामा झुन्डिएका रहेछन् ।’

राति नै प्रहरीलाई खबर गरिएको भएपनि अहिले घटना स्थलमा उनको मुचुल्का तयार पार्ने काम भइरहेको रिमालले बताए ।

रिमालका अनुसार उनी वडा नम्बर ३ मा रहेको क्वारेन्टिनमा असार ६ गते आएर बसेका थिए । यसअघि वडा नम्बर ५ स्थित सरस्वती माविको क्वारेन्टिनमा उनी एक रात बसेका थिए ।

रिमालले भने, ‘भारतको पुनेबाट आएर उनी सरस्वती माविको क्वारेन्टिनमा असार ४ गते बसेका थिए । एक दिन त्यहाँ बसेपछि उनी असार ५ गते राति सो क्वारेन्टिनबाट भागेका थिए । उनलाई गाउँ नजिकैको जंगलबाट खोजेर ६ गते चन्द्र ज्योति माविको क्वारेन्टिनमा ल्याएर राखेका हौं ।’

तनहुँका डीएसपी युवराज तिमिल्सिनाका अनुसार क्वारेन्टिनमा बसेका एक अधवैंसेले झुन्डिएर आत्महत्या गरेका हुन् । डीएसपी तिमिल्सिनाले भने, ‘आफ्नै ट्रयाकसुट च्यातेर झुन्डिएको अवस्थामा उनी फेला परेका छन् । घटना स्थल पुगेर अहिले मुचुल्का तयार पार्ने काम भइरहेको छ । सुरक्षाको मापदण्ड अपनाएर शवलाई जिल्ला अस्पताल तनहुँ ल्याउने तयारी भइरहेको छ । पीसीआर परीक्षणका लागि मृतकको स्वाब पनि संकलन गरिने र रिपोर्ट आएपछि मात्रै शवलाई परिवारका जिम्मा लगाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment