+
+
Shares

युवा उद्यमशीलता प्रवर्द्धन गर्न काठमाडौंमा राष्ट्रिय युवा महोत्सव आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १७:०२

९ असार, काठमाडौं । युवा विद्यार्थीहरूमा नेतृत्व विकास, सकारात्मक मानसिकता तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा महोत्सव आयोजना गरिने भएको छ।

परिवर्तनका लागि युवा, मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) र इन डेप्थ स्टोरी (आईडीएस) को संयुक्त आयोजनामा आगामी असार १३ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा महोत्सव आयोजना गर्न लागिएको मोडल इन्स्टिच्युट अफ टेक्नोलोजीका सह–संस्थापक आरके दाहालले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, उद्योगपति डा. उपेन्द्र महतो, उद्यमी तथा ‘सार्क’ हेमराज ढकाल, हास्यकलाकार मनोज गजुरेल, पत्रकार रुपेश श्रेष्ठ, राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा तथा प्रविधि उद्यमी प्रतिमा अधिकारीलगायतको उपस्थिति रहनेछ। उनीहरूले आफ्ना जीवनका अनुभव र संघर्षका कथामार्फत नेपालमै अवसर सिर्जना गर्न सकिने विषयमा धारणा राख्नेछन् ।

कार्यक्रममा गायक कुमार सागर तथा ख्वप ब्याण्ड र पाहेलो बत्तीमुनि ब्याण्डको सांगीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।

कार्यक्रम संयोजक हिमाल विष्टले युवाहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए । परिवर्तनका लागि युवाका अध्यक्षसमेत रहेका विष्टले आफ्ना ज्ञान, सिप र क्षमताको सदुपयोग गरी स्वदेशमै सफल कार्य गर्न तथा भावी पुस्ताका लागि प्रेरणादायी उदाहरण बन्न युवाहरूलाई उत्प्रेरित गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

उनका अनुसार महोत्सवले युवाहरूमा सकारात्मक आशा जगाउने तथा नेपालभित्र रहेका सम्भावना र अवसरबारे जानकारी गराउने लक्ष्य राखेको छ। पहिलो र दोस्रो संस्करणले युवामाझ सकारात्मक प्रभाव छाड्नुका साथै उल्लेखनीय उत्साह प्राप्त गरेकाले यस वर्ष पनि महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।

विद्यालय शिक्षा (कक्षा १२) पूरा गरी उच्च शिक्षाको यात्रामा प्रवेश गर्न तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको यो कार्यक्रम पूर्ण रूपमा निःशुल्क रहेको छ। कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीहरूले अनलाइन माध्यमबाट आफ्नो नाम दर्ता गराउन सक्ने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?