Comments Add Comment

जबज कठस्थ पार्दैमा मदन भण्डारीप्रति सच्चा श्रद्धाञ्जली हुँदैन

आज असार १४ गते जननेता मदन भण्डारीको ६८ औं जन्मजयन्ती दिवस हो । आजको दिनमा हामीले मदन भण्डारीलाई सम्झिँदा उहाँले कम्युनिष्ट आन्दोलनमा दिनुभएको योगदानको कदर पनि उत्तिकै गर्नुपर्छ । मदन भण्डारी जननेता र नविन विचारकको रुपमा नेपाली कम्युनिष्ट आन्दोलनमा स्थापित हुनुहुन्थ्यो ।

नेपाली कम्युनिष्ट आन्दोलन र बिचारको विकासमा उहाँको बिशिष्ट योगदान रहेको छ । नेपाली मौलिकतामा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्नुपर्नेमा मदन भण्डारीको जोड थियो । मदन भण्डारीले जनताको बहुदलीय जनवादको राजनैतिक कार्यक्रम र सिद्धान्त प्रतिपादन गर्नुभयो । शान्तिपूर्ण संसदीय प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको लोकतान्त्रीकरणमा यो कार्यक्रम र सिद्धान्तको विशेष भूमिका रहेको छ ।

जनताको बहुदलीय जनवादका बिशेषताहरुमा संबिधानको सर्वोच्चता, बहुदलीय प्रतिस्पर्धा, बहुलवादी खुल्ला समाज, कानुन सम्मत शासन प्रशासन, बहुमतको सरकार र अल्पमतको बिपक्ष, मानवअधिकार, प्रजातान्त्रिक मौलिक अधिकार, शान्तिको संबैधानिक प्रत्याभुत जस्ता कुराहरु पर्छन् ।

जनताको बहुदलीय जनवाद नेपालमा आफ्नै मौलिकतामा जनवादी क्रान्ति गर्ने एक कार्यक्रम थियो । मदन भण्डारीले जबजमा साधनलाई होइन, लक्ष्यमा जोड दिन आग्रह गर्नुभएको छ ।

मार्क्सवादी दर्शनअनुसार विचार पदार्थको प्रतिविम्व बाहेक अरु केही होइन । पदार्थ गतिशील हुन्छ । गतिशील पदार्थ स्थान (दिक) काल बाहेक अरु ढङ्गले चल्न सक्दैन । स्थान बिशेष र काल बिशेषमा पदार्थको रुप र गतिमा अन्तरहरु आउँछन् । ती अन्तरहरुको प्रतिबिम्ब विचारमा प्रकट हुन्छन् वा हुनुपर्छ । मार्क्सवाद र मदन भण्डारीको विचारलाई सच्चा मनले ग्रहण गर्नुपर्छ । जबजको विचारमा पनि आज नेपाली समाजको परिबेश र अवस्था अनुसारको वैचारिक रुपान्तरण जरुरी छ ।

मदन भण्डारी सिद्धान्त जीवनका लागि हो, जीवन सिद्धान्तको लागि होइन भन्नुहुन्थ्यो । लेनिनले भने झै मार्क्सवाद बनिबनाउ सिद्धान्त होइन, न त यो कुनै जडसुत्र नै हो । यो सजीव मार्गदर्शक सिद्धान्त हो ।

मार्क्सवादलाई कठस्थ पारेर मात्र क्रान्ति वा परिवर्तन हुदैन । त्यसैगरी जबजलाई पनि जडसुत्रको रुपमा बुझ्नु हँुदैन । जबजलाई कठस्थ पारेर मात्र हँदैन । जबजलाई आफ्नो अनुकुलतामा परिभाषित गर्ने चलन छ । मनोगतरुपमा आफूलाई लागेको कुरा जवजको सिद्धान्तका रुपमा परिभाषित गर्नु किमार्थ सही छैन । आज मदन भण्डारीबाट दीक्षित कार्यकर्ताले जीवनका लागि सिद्धान्त बनाउनु पर्छ । श्रमजीवी वर्गको हितका लागि विचारको बिकास गर्नुपर्छ ।

शान्तिपूर्ण जनआन्दोलन र संसदीय संघर्षको बाटोबाट अगाडि बढेको नेकपा (एमाले) र महान् जनयुद्धको बाटोबाट अघि बढेको नेकपा (माओवादी केन्द्र) बीच संवादका अनेकौं सिलसिलाबाट २०६२/६३ को जनक्रान्तिको आधार निर्माण भएको थियो ।

यिनै दुई पार्टीको पहलकदमी र वैचारिक नेतृत्वमा सम्पन्न २०६२/६३ को जनक्रान्तिबाट राजतन्त्र अन्त्य भएको छ । महान् जनयुद्ध र २०६२/६३ को जनक्रान्तिले गणतन्त्र, संघीयता, समाबेशी समानुपातिक लोकतन्त्र र धर्मनिरपेक्षता ल्यायो । जवजले मात्र नेपाली क्रान्ति सम्पन्न भयो भएन । आ–आफ्ना विशेषताका सीमाको बाबजुद यिनै दुई कम्युनिष्ट पार्टीले लिएको सिद्धान्त र हिँडेको बाटोले आजको परिवर्तन ल्याएको हो ।

यी बाटोहरुको योगदान के कति रहे जनतालाई मूल्यांकन गर्न दिऊ । समष्टीमा यी बाटोहरुको योगमा नै आजको परिवर्तन आएको हो । जबज पूर्ण थिएन । माओवाद पूर्ण थिएन । एक्काइशौ शताब्दीको जनवाद पूर्ण थिएन । आधुनिक नेपालको इतिहासमा नै उच्च बलिदान व्योहोरेको जनयुद्ध पनि अपूर्ण नै साबित भयो । यही समिक्षाको जगमा द्वय अध्यक्षले एकताको सुत्र पत्ता लगाउनुभयो । नेकपा बनेको छ । कार्यकारी अध्यक्ष प्रचण्डले धेरैचोटि दोहो¥यााउनुभएको छ । यदि मदन भण्डारीको अवसान नभएको भए छलफल तय भएको थियो पार्टी एकताको । त्यो एकता आज आएर भएको छ । यो एकतालाई अक्षुण राख्न जरुरी छ ।

समाजवाद आफै आउँदैन । समाजवाद ल्याउन सचेतन पहल चाहिन्छ । समाजवादको बाटोको लम्बाई सोचेभन्दा लामो होला या छोटो त्यो अहिल्यै फैसला गर्न जरुरी छैन । आजको राजनैतिक प्रणाली र उत्पादन सम्बन्धलाई समाजवादी दृष्टि राखी मार्ग निर्देशन गर्नुपर्छ । मदन भण्डारीले बिकास गरेको जनताको बहुदलीय जनवादको कार्यक्रम र सिद्धान्तलाई आजको परिवेशको सापेक्षतामा बिकास गर्नुपर्छ । जबजको सकारात्मक पक्ष र एशजको सकरात्मक पक्षलाई ग्रहण गर्नुपर्छ । आजको परिवेश र समयअनुुुसार बिचारको बिकास गर्नुपर्छ । हामीले नयाँ बैचारिक संश्लेषण गर्न सकेमा मात्र मदन भण्डारी प्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

(लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका कार्यालय सदस्य हुन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment