Comments Add Comment

सलह नियन्त्रणमा भारत र पाकिस्तानको अनुभव : राति ११ बजेदेखि बिहान ७ बजेको समय उपयुक्त

भारतमा ड्रोन उडाइँदै, पाकिस्तानमा कुखुरालाई खुवाइँदै

१५ असार, काठमाडौं । कोरोनापछि अर्को संकट छिमेकी देश भारतबाट नेपाल छिरेको छ- सलह । आउँदैन भन्दाभन्दै नेपालमा आयो । ‘ढिलो आयो, कडा आयो’ भनेजस्तो सलहले एकैपटक देशव्यापी रूपमा आतंक सिर्जना गरेको छ ।

अहिले नेपालमा देखिएको सलह सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको थियो । त्यहाँबाट साउदी अरब, इरान हुँदै गत डिसेम्बरमा सलह दक्षिण एसियाली राष्ट्र पाकिस्तान आइपुग्यो। त्यसपछि पाकिस्तानमा ठूलो क्षति पुर्‍याउँदै भारत छिर्‍यो।

बिस्तारै जाडो कम भएपछि पुनः वंश वृद्धि गर्दै सलह भारत छिरेर विशाल झुण्डहरूमा बसिरहेको छ । अहिले भारतमा एक दर्जनभन्दा बढी सलहको हुल राजस्थान, उत्तर प्रदेश, मध्यप्रदेश र हरियाणाका विभिन्न क्षेत्रमा विचरण गरिरहेका छन् । अघिल्लो रात हरियाणाबाट उत्तर प्रदेशतर्फ सलहहरू लम्किरहेको बीबीसीले जनाएको छ । समाचारअनुसार गुरुग्राम, फरिदावाद र दिल्लीका केही ठाउँहरूमा पनि सलहले दुःख दिएको रिपोर्टहरू आएका छन् ।

भारतमा भन्दा पहिले पाकिस्तानमा सलहले हंगामा गरेको थियो । तर पाकिस्तानले यसलाई अहिले धेरै हदसम्म नियन्त्रणमा लिइसकेको छ । सलहलाई नियन्त्रणमा लिन पाकिस्तानले प्रयोग गरेको सूत्र नेपालका लागि पनि उपयोगी हुन सक्छ । खासगरी, सलहलाई कुखुराको आहाराका रुपमा प्रयोग गर्ने विधि त्यहाँ धेरै प्रभावकारी देखिएको थियो ।

सबैभन्दा पहिले पाकिस्तानको पञ्जाब प्रान्तबाट यो प्रयोग सुरु गरिएको थियो । कृषकहरूलाई सलह संकलन गरेर कुखुरालाई खुवाउन सरकारले प्रेरित गर्‍यो । साथै किसानले सलह संकलन गरेर ल्याएमा सरकारले खरिद पनि गर्ने रणनीति अख्तियार गरियो । अहिले नेपालमा दुईवटा प्रदेशले यही नक्कल गरेका हुन् ।

पञ्जाव प्रयोग प्रभावकारी देखिएपछि प्रधानमन्त्री इमरान खानले यो विधि देशव्यापी रूपमा लागु गर्न चाहे । पाकिस्तानको खाद्य मन्त्रालयका अधिकृत मेहम्मद खुर्सिद र बायोटेक्नोलोजिस्ट जोहर अलिले यसका लागि एक कार्यक्रम तर्जुमा गरे । उनीहरूले पञ्जाबकै ओकरा जिल्लालाई पहिलो छनोटमा राखे, जहाँ कृषकहरूले आफ्नो बालिनालीमा कुनै विषादीको प्रयोग गरेका थिएनन्।

‘सुरुमा सलह समात्न हामी आफैँले सिक्नुपर्ने थियो र त्यसपछि स्थानीयलाई सिकाउनुपर्ने थियो । सलहलाई जालीले कुनै काम गर्दैन,’ खुर्सिदले एएफपीसँग भनेका छन् । खुर्सिदका अनुसार रातिको समयमा सलहका झुण्ड रुख वा बोटबिरुवामा चढेका हुन्छन् । बिहान घाम नउदाउँदासम्म स्थिर भएर बस्छन् । त्यसबेला तिनीहरूलाई समात्न सजिलो हुन्छ ।

सरकारले प्रतिकिलो २० रुपैयाँ पुरस्कार दिने भनेपछि स्थानीयहरु रातभर सलह संकलनमा जुटेका थिए । सलहले आफ्नो सबै उब्जनी नष्ट गरेपछि निराश बनेका एक कृषकले एकपटकको आउटिङमा संकलित सलहबाट १६ सय रुपैयाँ आम्दानी गरेको बताइन् । यसले गर्दा आफ्नो गुजारा सहज बनेको अनुभव उनले सुनाइन् ।

त्यसो त सुरुमा सलह संकलन गरेर बेच्ने कुरा गर्दा कृषकहरू त्यति उत्साहित थिएनन् । तर बिस्तारै उनीहरू यसमा आकर्षित हुँदै गए । पछि सरकारले नै अब भयो भन्ने स्थिति आयो । मानिसहरूले २० औं टन सलह संकलन गरेपछि सरकारले यसका लागि छुट्याएको बजेट नै सकिएको थियो । अन्ततः सरकारले सो कार्यक्रम स्थगित गर्‍यो।

गत फेब्रुअरीमा पाइलट प्रोग्रामका रुपमा पञ्जाबमा लागू गरेको सो कार्यक्रम अहिले अन्य स्थानहरुमा पनि विस्तार गरिएको छ । किसानहरुबाट संकलन गरिएका सलहलाई जनावरको आहारा उत्पादन गर्ने कम्पनी हाइ टेक फिड्सले खरिद बिक्री गरिरहेको छ । कम्पनीका अनुसार कुखुराहरूको खानेकुरामा अहिले सलहले १० प्रतिशत हिस्सा ओगटेको छ ।

‘सलह खुवाउँदा कुखुराहरूमा कुनै नकारात्मक असर देखिएको छैन,’ कम्पनीका महाप्रवन्धक मेहम्मद खथरले भने ।

यो त भयो एउटा रोचक तरिका । तर यही विधिबाट मात्रै सम्पूर्ण समाधान भने सम्भव छैन । पाकिस्तानको कृषि क्षेत्रलाई सलहले तहसनहस बनाइदिएको छ । अन्नबालीदेखि फलफूलसम्ममा यसले क्षति पुर्‍याएको थियो । कोरोनाको महामारीका बेला किसानका उब्जनीहरू सलहले नष्ट पारेपछि आउँदा दिनहरूमा ठूलै खाद्य संकटको खतरा उत्पन्न हुन सक्ने विज्ञहरूले औंल्याएका छन् । पाकिस्तानले उच्च परिमाणमा विदेश निर्यात गर्दै आएको गहुँ र कटनको उत्पादन पनि सलहले ध्वस्त पारेपछि राष्ट्रिय आयमा पनि सुख्खा लाग्ने स्थिति छ ।

पाकिस्तानको सरकारले सलहसँग लड्का लागि राष्ट्रव्यापी संकटकाल समेत लगाएको थियो र अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको याचना गरेको थियो । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार पाकिस्तानमा सलहले कुल ५ अर्ब अमेरिकी डलरको नोक्सानी गरेको छ भने २५ प्रतिशत उब्जनी नष्ट भएका छन् । आगामी दिनमा खाद्यान्नको अभाव र उच्च मूल्यवृद्धिको खतरा पनि संगठनले औंल्याएको छ ।

भारत के गर्दैछ ?

अब कुरा गरौं भारतको । भारत सरकारले स्थापना गरेको सलह चेतावनी संस्थानका उपनिर्देशक केएल गुर्जरका अनुसार अहिले एक दर्जनभन्दा बढी सलहको फौज दैनिक डेढ सय किलोमिटरसम्मको यात्रा गरिरहेका छन् । आम रूपमा एउटा फौजमा कम्तीमा पनि एक करोड सलहहरू हुन्छन् जुन एकपटकमा दुईदेखि तीन किलोमिटरको क्षेत्रसम्म फैलिएर उड्छन् ।

बीबीसीसँगको कुराकानीमा गुर्जले भने, ‘अहिले राजस्थान, उत्तर प्रदेश, मध्यप्रदेशका केही हिस्सा र हरियाणाका केही क्षेत्रमा सलहले दु:ख दिइरहेका छन् । सबैभन्दा बढी आतंक राजस्थानमा छ । अब उत्तर प्रदेशका केही क्षेत्रमा पनि यसले प्रवेश गरिसकेको छ ।’

गुर्जरका अनुसार सलहको दल एक किलोमिटरदेखि तीन किलोमिटरसम्म फैलिएका छन् ।

उनी भन्छन्, ‘हामी नियन्त्रणमा ल्याउने कोसिस गरिरहेका छौं, तर अत्यधिक तापक्रमले गर्दा यिनीहरू बढी चञ्चल छन् । अधिकांश दलमा अपरिपक्व कलिला सलह छन् । हामी जब स्प्रे गर्छौं, यिनीहरू तुरुन्त उडिहाल्छन् । त्यसैले अहिलेसम्म हामीले ५० प्रतिशतसम्म मात्रै सलह नियन्त्रण गर्न सकेका छौं ।’

अहिले पश्चिमी वायुका कारण सलहको दल पूर्वतर्फ बढिरहेको अधिकारीहरूले बताएका छन् । यूपीको आगरा र बलंदशहरतर्फ यिनीहरू बढिरहेका छन् । तर पश्चिमी यूपीका अन्य जिल्लाहरूमा नजाने अनुमान गरिएको छ ।

बढी तापक्रम र हावाको बेग सलहहरूका लागि अनुकूल हुने विज्ञहरू बताउँछन् । त्यही भएर भारतले सलह नियन्त्रण गर्न दु:ख झेलिरहेको छ ।

डा. गुर्जर भन्छन्, ‘यदि तापक्रम अलि कम भएमा सलहको फौजको ‘मोटाबोलिक एक्टिभिटी’ अलि कम हुन्छ । त्यस अवस्थामा नियन्त्रणमा लिन सहज हुन्छ । अहिले पश्चिमी वायुको सहारा पनि यिनीहरूले पाइरहेका छन् । हावाको बेगले गर्दा यिनीहरू सजिलैसँग अगाडि बढ्छन् । त्यही भएर हाम्रो सामु ठूलो चुनौती छ ।’

भारतका केही क्षेत्रमा सलहको दलले फुल पनि पारिरहेका छन् । सरकारले यस्ता क्षेत्रहरूको खोजी र पहिचान गरिरहेको छ । केन्द्र सरकारले यसका लागि साठी वटा टिम बनाएको छ । यसैगरी राज्य सरकारहरूले पनि फरक-फरक टिम बनाएर सलहको फौज नियन्त्रणमा लिन प्रयासरत छन् ।

भारतमा सलह नियन्त्रणका लागि ड्रोनको प्रयोग पनि भइरहेको छ । ड्रोनको सहयोगबाट विषादी छर्किने कार्य प्रभावकारी बनिरहेको अधिकारीहरू बताउँछन् । एक अधिकारीले भने, ‘मान्छेले छर्किन अप्ठ्यारो हुने ठाउँहरूमा हामीले ड्रोनको प्रयोग गरिरहेका छौं । यसले राम्रो नतिजा पनि प्राप्त भइरहेको छ ।’

भारतमा धेरै ठाउँहरूमा धान रोपाइँ सकिएको छ भने कति ठाउँहरूमा सुरु हुन लागेको छ । यी क्षेत्रहरूमा भने धेरै खतरा नभएको अधिकारीहरूले बताएका छन् ।

उत्तर प्रदेशका कृषि विभागका निर्देशक सोराज सिंहका अनुसार सलहको दलको हमलालाई हेरेर प्रदेशका सबै जिल्लामा नोडल अधिकारी नियुक्त गर्न निर्देशन दिइएको छ । यसैगरी आपतकालीन व्यवस्थासम्बन्धी कानुनअनुसार सलह रोकथामको लागि सरकारी कोषको प्रयोग गर्न पनि जिल्ला अधिकारीहरूलाई अनुमति दिइएको छ ।

सरकारले किसानहरूलाई सलह भगाउनका लागि हल्लाखल्ला गर्ने, ढोल बजाउने, टिन र अन्य भाँडाकुँडा ठटाउनेलगायतका सुझावहरू दिएको सिंहले बताए । सबै प्रभावित जिल्लामा राति ११ बजेदेखि बिहान सात बजेसम्म सलह नियन्त्रणका क्रियाकलाप गर्न भनिएको छ । ‘सलहहरू दिनभरि उड्छन् र रातभरि विश्राम गर्छन् । त्यसैले उनीहरूले विश्राम गरिरहेको समयमा विषादी छर्कन आदेश दिएका छौं,’ सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment