Comments Add Comment

अमेरिकामा बढ्दो क्रममा कोरोना संक्रमण, एकैदिन भेटिए ५५ हजार संक्रमित

१९ असार, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्यामा निरन्तरको वृद्धि देखिएको छ । रोयटर्सका अनुसार बिहीबार अमेरिकामा कोरोना भाइरसका ५५ हजार नयाँ संक्रमित फेला परेका हुन् । अमेरिकामा एकैदिन भेटिएका संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।

बिहीबार अमेरिकामा कोरोना भाइरसका ५५ हजार २७४ नयाँ संक्रमित थपिएका हुन् । यो संख्या कुनै पनि मुलुकमा एकैदिन थपिएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । यसअघि ब्राजिलमा एकैदिन सबैभन्दा धेरै ५४ हजार ७७१ नयाँ संक्रमित फेला परेका थिए ।

दुई साताअघिसम्म अमेरिकामा दैनिक २२ हजारको आसपासमा कोरोना भाइरसका संक्रमित फेला परिरहेका थिए । तर, पछिल्लो सात दिनमा यो संख्या बढेर ४० हजारभन्दा धेरै भइसकेको छ । पछिल्लो तीन दिनयता अमेरिकामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्याले कीर्तिमान बनाइरहेको छ ।

बिहीबार अमेरिकाको फ्लोरिडा राज्यमा मात्र कोरोना भाइरसका १० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो समय बढ्दो क्रममा रहेको कोरोना भाइरसको संक्रमणले अमेरिकाको चिन्ता बढाएको छ ।

यसै साताको सुरुमा अमेरिकाका महामारी रोग विशेषज्ञ एन्थोनी फाउचीले अमेरिकामा दैनिक एक लाख कोरोना भाइरसका संक्रमित फेला पर्न सक्ने चेतावनी दिएका थिए ।
अमेरिकामा पछिल्लो समय कोरोना भाइरसको परीक्षण बढाइएसँगै संक्रमितको संख्या पनि बढेको छ । साथै अस्पतालमा भर्ना हुने मानिसको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment