
१९ असार, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको डिभाइडरमा हुर्किसकेका स्टोनियाका रुख बिहीबार राति अज्ञात व्यक्तिले काटिदिएका छन् ।
मणिग्राम चोकदेखि उत्तर नयाँ मिलसम्म ३० वटा रुख हतियारको प्रयोग र हातले भाँचेर क्षति पुर्याइएको छ । स्टोनियाका रुखहरुमा कसले क्षति पुर्याएको हो भन्ने पहिचान हुन नसकेको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।
यसअघि गत वर्ष साउन १ गते राति तिलोत्तमा ड्राइभरटोल-नयाँमिल खण्डको ६ लेन सडकको बीचको डिभाइडरमा राखिएका पाँचवटा बुद्धका मूर्ति फोडिएका थिए । ती मूर्ति फोड्नेको अहिलेसम्म पहिचान हुन सकेको छैन । रुख काट्नेको पहिचान गरी हदैसम्मको कानुनी कारबाही गरिने नगर प्रमुख घिमिरेले बताए ।
बुटवल-बेलहिया ब्यापारिक मार्ग आयोजनाले सडकका दायाँबायाँ डिभाइडरमा चार वर्षअघि स्टोनियाका बिरुवा लगाएको थियो । प्रतिबिरुवा ३५० रुपैयाँ मूल्यका दरले रोपिएका बिरुवाको संरक्षण भने तिलोत्तमा नगरपालिकाको अग्रसरतामा स्थानीय टोल विकास संस्थाहरुले गर्दै आएका नगरपालिकाका वातावरण शाखा प्रमुख गिरिराज डुम्रेले बताए ।
स्टोनियाको रुख वातावरण र स्वास्थ्यका लागि निकै राम्रो हुने वातावरण शाखा प्रमुख डुम्रे बताउँछन् ।
रुख काट्ने व्यक्तिको पहिचानका लागि प्रहरीको सहयोगमा सिसिटिभी फुटेज हेर्ने तयारी भइरहेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।
प्रतिक्रिया 4